जाजरकोट — नलगाड नगरपालिका–३, कैनाबजारका चार अभिभावकले चन्दा संकलन गरेर सूर्योदय माध्यमिक विद्यालयको जग्गा खरिद गरिदिएका छन् । कैनाबजारका औंसी घर्ती, मिश्रीबहादुर पुन, मनबहादुर विष्ट र गोरखबहादुर पुनले ६ लाख रुपैयाँ चन्दा उठाएर विद्यालयका लागि १० आना जग्गा किनिदिएका हुन् ।
उनीहरूले डेढ लाख रुपैयाँका दरले रकम उठाई विद्यालयको नाममा जग्गा किनेका हुन् । विद्यालयमा भवन निर्माणका लागि जग्गा नहुँदा व्यक्तिगत रूपमा रकम उठाएर जग्गा किनिदिएको अभिभावक घर्तीले बताइन् । उनी विद्यालय व्यवस्थापन समितिकी सदस्यसमेत हुन् । विद्यालयको खेलमैदान पनि साँघुरो छ ।
त्यही खेलमैदानमा शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त अनुदानले चारकोठे भवन बन्न लागेको छ । खेलमैदानलाई थप साँघुरो बन्न नदिन विद्यालयको आसपासको जग्गा खरिद गरिदिएको उनको भनाइ छ ।
विद्यालय निम्न माध्यमिकदेखि मावि तहसम्म चन्दाको भरमा सञ्चालन भइरहेको छ । ‘विद्यालयमा आर्थिक समस्या हुँदा अभिभावकले जग्गा किन्नैपर्ने अवस्था आएको हो,’ घर्तीले भनिन्, ‘ठाउँ नहुँदा खेलमैदानमा बन्न लागेको भवन भत्काएर नयाँ किनेको जग्गामा बनाउन थालिएको छ ।’
खेलमैदानको क्षेत्रफल २४ मिटर लम्बाइ र १८ मिटर चौडाइ मात्र भएको उनको भनाइ छ । उनका अनुसार चार जनाले सुन, भैंसी, खसीलगायत सामग्री बिक्री गरेर जग्गा खरिदको रकम जुटाएका हुन् ।
१० कक्षासम्म पढाइ हुने विद्यालयमा पूर्वाधार अभाव रहेको प्रधानाध्यापक बहादुर पन्तले बताए । ‘१० वटा कोठा मात्र भएको विद्यालयमा थप चार कोठाको भवन बनाउन जग्गाको खाँचो थियो,’ प्रधानाध्यापक पन्तले भने, ‘अभिभावकले जग्गा किनिदिएर विद्यालयको समस्या समाधान गरी ठूलो गुन लगाउनुभएको छ ।’
राराखबर । २०७५, १० मंसिर सोमबार