राहदानी थन्क्याएर घोडा व्यवसाय

मुगु : छायानाथ रारा नगरपालिकाका युवा राहदानी थन्क्याएर घोडा व्यवसायमा लागेका छन्। झ्यारी र मुर्मा गाउँका युवा रारा आउने पर्यटकलाई घोडा सफारी गराउँछन्। रोजगारीका लागि विदेश जान राहदानी बनाए पनि घोडा व्यवसायबाट स्वदेशमै राम्रो आम्दानी हुन थालेको झ्यारी गाउँका १९ वर्षीय हरि रावलले बताए।

उनले विदेश जान लाग्ने खर्चबाट दुईवटा घोडा किने। छायानाथ रारा नगरपालिका–८ सल्लेरीदेखि रारा ताल किनार मिली चौर, हुटुसम्म पर्यटकलाई घोडामा सवार गराउन थाले। यस व्यवसायबाट उनको मासिक ४० हजार रुपैयाँसम्म बचत हुने गरेको छ। गाउँका अन्य ९ जनाले विदेश जान राहदानी बनाएका थिए। रारामा पर्यटकको संख्या बढ्न थालेपछि उनीहरू पनि यही पेसामा संलग्न छन्।

झ्यारीकै १५ वर्षीय डिजन रावल पर्यटकलाई घोडा सवार गराउँछन्। कक्षा ८ पढ्दै गरेका उनी विद्यालय बिदाको मौका पारी रारा आउने पर्यटकलाई घोडामा सवार गराउँछन्। यसबाट मासिक ३५ हजार रुपैयाँसम्म बचत हुने गरेको रावलको भनाइ छ।

 रारा घुम्न आएका पर्यटकलाई घोडामा चढाएर घुमाउन लैजाँदै हरि रावल ।

पर्यटक बढेसँगै घोडा सफारी व्यवसाय फस्टाउँदै आएको पर्यटन व्यवसायी बलि शाहीले बताए। उनका अनुसार सल्लेरीदेखि मिलि चौरसम्म प्रतिव्यक्ति ५ सय रुपैयाँ घोडा चढेबापत तिर्नुपर्छ। घोडामा चढेर फोटो खिचाएबापत एक जनाको ५० देखि सय रुपैयाँसम्म तोकिएको छ। ‘विदेशमा भए के हुन्थ्यो के। घरपरिवारसँग बस्न, खान पाइएको छ, गर्नेलाई घरमै विदेश हुँदोरहेछ’, झ्यारी गाउँका सम्पूर्ण भामले भने।अन्नपूर्ण पोष्टबाट




फेसबुकबाट तपाईको प्रतिक्रिया