अस्थायी र करारका कर्मचारी आन्दोलित

दैलेख : सरकारले कर्मचारी समायोजन अध्यादेश जारी गरेसँगै चामुण्डाविन्द्रासैनी नगरपालिकामा कार्यरत अस्थायी र करार कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारी समायोजन गर्दा अस्थायी र करार कर्मचारीलाई समान व्यवहार गर्नुपर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिका हुन् । कर्मचारीहरुले सोमबारदेखि कार्यालयको दैनिक कामकाजलाई ठप्प पार्दै कार्यालय अगाडि धर्नामा बसेका छन् ।

जिल्लाका ११ वटै स्थानीय तहमा करार तथा अस्थायी कर्मचारीहरु आन्दोलनमा उत्रिएर सेवाप्रवाह ठप्प पारेको स्थानीय तह कर्मचारी संघ नेपालका केन्द्रीय सदस्य खमबहादुर थापाले जानकारी दिएका छन् ।

कर्मचारी आन्दोलनमा उत्रिएपछि नगरपालिकाको दैनिक कामकाज नै प्रभावित भएको छ । नगरपालिकामा सेवा लिन पुगेका सेवाग्राही महत्वपूर्ण काम पनि गर्न नपाएको गुनासो गरेका छन् ।

आन्दोलनमा उत्रिएका कर्मचारीले विभिन्न माग राख्दै स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिमार्फत सोमबार नै चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम नेपालीमार्फत ज्ञापनपत्र पनि बुझाए ।

स्थानीय तहमा अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालक कर्मचारीलाई स्थायी सेवा निरन्तरताको व्यवस्था गर्नुपर्ने मुख्य माग रहेको आन्दोलन समितिका संयोजक खगेन्द्रबहादुर शाहीले बताए ।

शाहीका अनुसार स्थानीय तहमा श्रेणीविहिन कर्मचारीहरुको स्तर बृद्धि, बढुवा, वृत्ति विकास तत्काल लागु गर्नसमेत माग गरिएको छ । स्थानीय तहसँग गरिएका माग पूरा नभए आन्दोलन चर्काउने उनको भनाइ छ । नगरपालिकामा हाल २७ जना करार र अस्थायी कर्मचारीहरु कार्यरत छन् ।अन्नपूर्ण पोष्टबाट




फेसबुकबाट तपाईको प्रतिक्रिया