सुर्खेत, ९ पुष ।
अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाले २० जना बालबालिकालाई पढाउदै आएकी छन । कर्णाली प्रदेशका विभिन्न विद्यालयका अतिविपन्न तथा गरिव बाललालिकालाई उनले पढाई रहेकी हुन ।
उनको आर्थिक सहयोगमा रुकुमका कालिका प्राथमिक विद्यालय सुन्दरपानी, दिपज्योति प्राथमिक विद्यालय र बालकल्याण माध्यामिक विद्यालयमा एक÷एक जना विपन्न विद्यार्थीलाई पढाई रहेका छन । यस्तै रुकुमकै कमल माध्यामिक विद्यालय हर्दिगाउँका दुई जना, जाजरकोटको नारायण माध्यामिक विद्यालय कार्कीगाउँमा चार जना गरिव विद्यार्थी पनि उनकै सहयोगमा पढिरहेका छन ।
सुर्खेतको अमरज्योति नमुना माध्यामिक विद्यालयमा ६ जना, जनजागृत प्राथमिक विद्यालय पदमपुरमा ३ जना विद्यार्थीको सम्पूर्ण पढाई खर्च पनि व्यर्होदै आएको उनले बताइन् । युवा समाजसेवी थापाले उनीहरुलाई पोशाक, कापी कितावसहित शैक्षिक सामग्रीदेखि विद्यालयमा लाग्ने सम्पूर्ण खर्च व्यर्होदै आएकी छन । आर्थिक अभावको गर्दा विद्यालय छोड्ने अवस्थामा पुगेका बालबालिकाको पहिचान गरी उनीहरुलाई पढाउने जिम्मा लिएको उनले बताइन् । विभिन्न कक्षामा पढिरहेका बालबालिकाको लागि हरेक वर्ष करिव एक लाख रुपैया खर्च हुने गरेको पनि उनले बताइन् ।
आफु अमेरिकामा रहेपनि समाजसेवी थापा अन्य सामाजिक कामहरुमा पनि उत्तिकै सक्रिय छन । उनले कर्णाली प्रदेशभित्र र बाहिरका जिल्लाका सामाजिक कार्यमा नियमित सहयोग गदै आएकी छन् । उनले सुर्खेतका दुई वटा विद्यालयमा चार लाख रुपैयाको अक्षयकोष स्थापना गरेकी छन् । कोषको रकमबाट ति विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार बालबालिकालाई बर्षेनी छात्रबृत्ति दिइन्छ ।
उनले सुर्खेतको जनजागृत प्राथमिक विद्यालय पदमपुरमा बुवाआमाको नामबाट एक लाख रुपैयाको अक्षय कोष स्थापना गरेकी छन । यो कोषबाट हरेक वर्ष २ २ जना विद्यार्थीले पढाईमा सहयोग पाइरहेका छन । यस्तै आफुले माध्यामिक तहसम्म अध्ययन गरेको अमरज्योति नमुना माध्यामिक विद्यालय नेवारेमा तीन लाख रुपैयाको अक्षय कोष स्थापना गरेकी छन । यो कोषको रकमबाट ६ जना गरिव, विपन्न तथा जेहेन्दार बालबालिकालाई छात्रबृत्ति प्रदान गदै आएको विद्यालयले जनाएको छ ।
जाडोयाममा दैलेखका तीन वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्रीका साथै स्वीटरलगायतका न्यानो कपडा प्रदान गरेकी छन । न्यानो कपडा पाएपछि विद्यार्थीहरु नियमति रुपमा विद्यालय आउँन थालेको विद्यालयले बताएको छ । सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लाका शारीरिक रुपमा अशक्त र मानसिक रुपमा पीडित सडक बालबालिकालाई पनि समाजसेवी थापाले आर्थिक सहयोग गरेको उनले बताइन् । बालबालिकाको साथै समस्यामा परेका जेष्ठ नागरिक, क्यान्सर पीडित, पक्षघात भएका विरामीलाई पनि आर्थिक सहयोगका साथै न्यानो कपडा पनि प्रदान गरेकी छन ।
उनले शिक्षासाथै स्वास्थ्य र सरसफाईको क्षेत्रमा पनि नियमित सहयोग गरिरहेकी छन । उनले पश्चिम रुकुमको आठवीसकोट नगरपालिकाको रारी वजारको सरसफाईमा लामै समयदेखि सहयोग गदै आएकी छन । रारी बजारकै एउटा आमा समुह मार्फत उनले फोहर राख्ने प्रयोग हुने डस्विनदेखि सरसफाई सम्वन्धी चेतनामुलक सडक नाटक गर्न आर्थिक सहयोग गदै आएको बताइन् ।
अहिलेसम्म सुर्खेत, दैलेख, जाजरकोट, रुकुम र कैलाली गरी पाँच जिल्लाका गरिव तथा विपन्न बालबालिकाको पढाई, क्यान्सर, पक्षघातबाट पीडित विपन्न नागरिक, सुस्तमनस्थीति र दृष्टिविहीन बालबालिकालाई आर्थिक सहयोग गरेको उनले बताइन् । भौतिक रुपमा अमेरिकामा भएपनि मेरो मन भने नेपालमै छ, स्काईपमा कुरागदै थापाले भनिन, विपन्न बालबालिकाले पढन नपाएको, आर्थिक अभावले विरामीले उपचार नपाएकोजस्ता कुराले एकदमै मन छुने गर्छ । अनि त्यस्ता बालबालिका र व्यक्तिलाई सहयोग नगरी बस्न सक्दिन् । त्यसैले जति सकिन्छ आफ्नै आम्दानीबाट सहयोग गरिरहेकी छु । अहिलेसम्म कसैसँग पनि मागेर सहयोग गरेको छैन । दश वर्ष अघिबाट समाजसेवामा हात हालेकी थापाले वर्षमा ६ लाख रुपैया विभिन्न सामाजिक सेवामा खर्चिदै आएको बताइन् ।
राराखबर । २०७५, ९ पुष सोमबार