प्रकाश पन्त
बीरेन्द्रनगर,२२ पुष ।
प्रदेश अस्पताल सुर्खेतलाई डायलासिस सेवा लिन आउने विरामीको चाप थेक्न गाह्रो हुन थालेको छ । विरामीको चाप बढ्न थालेपछि जनशक्ति र मेसिन अभावले धेरै विरामीलाई एकै पटक सेवा दिन समस्या भएको अस्पतालले बताएको छ ।
गतवर्ष पुष महिनाबाट अस्पतालमा मृगौलाका विरामीको डायलासिस सेवा सुरु भएको थियो । अहिलेसम्म २९ जना मृगौलाका विरामीले डायलासिस सेवा लिएका छन । अस्पतालमा रहेका तीन वटा मेसिनबाट दैनिक ६ जना विरामीको डायलासिस गरिन्छ । अस्पतालले प्रत्येक विरामीको हप्तामा दुई दिन चार/चार घण्टा डायलाससि गर्छ । अहिले पनि ४०/५० विरामी डायलासिसको लागि पालो कुरेर बसेका छन, अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर केएन पौडेलले भने, जनशक्ति र मेसिन अभावले धेरै विरामीलाई एकै पटक सेवा दिन सकेका छैनौ ।
मृगौला फेल भएर पत्यारोपन गर्न नसक्ने र मृगौला प्रत्यारोपन गर्न पालो पर्खेर बसेका विरामीको अस्पतालमा डायलासिस भैइरहेको छ । बिरामीको चाप बढेपनि मेसिन र जनशक्ति अभावले अस्पतालले चाहेर पनि सेवा दिन सकेको छैन । विरामी बढेपछि एक महिना अघिबाट दैनिक दुई सिफ्ट चलाएपछि त्यो प्रयाप्त नभएको डाक्टर पौडेलले बताए । अस्पताले विहान ८ बजेदेखि राती ८ बजेसम्म डायलासिस सेवा संचालन गदै आएको छ ।
अहिलेसम्म बिरामीको ८ सय ३० पटक डायलासिस गरिएको छ । अस्पतालमा सुर्खेत, दैलेख, जाजरकोट, कालिकोटलगायतका जिल्लाबाट बढी जसो मृगौलाका विरामी डायलासिसको लागि आउँछन । मेसिन अभावले आकस्मिक उपचार गर्नुपर्ने मृगौला रोगी आए, सेवा लिइरकेको विरामीलाई रोकेर डायलासिस गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । डयलासिस सेवा तीन जना स्टाप नर्स र दुई जना कार्यालय सहयोगी कार्यरत छन ।
पश्चिम नेपालमा सुर्खेतसहित नेपालगंज र धनगडीमा मात्र डायलासिस सेवा संचालनमा छ । नेपालगंज र धनगडीमा डयलासिस सेवा व्यवस्थापनको जिम्मा नीजि क्षेत्रले लिएको छ भने सुर्खेत मात्र सरकारी व्यवस्थापनमा यो सेवा संचालित छ । मेसिन र जनशक्ति अभावले गर्दा अरु विरामीलाई सेवा दिन नसकेकोले डायलासिस सेवा विस्तार गर्नुपर्ने अस्पतालको भनाई छ । थप मेसिन ल्याउन, जनशक्तिको व्यवस्थापन गर्न र स्रोत साधन जुटाउन अस्पतालको तर्फबाट आवश्यक पहल भैइरहेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्वर खड्काले बताए । सेवा विस्तारको लागि प्रदेशदेखि केन्द्र सरकारलाई बारम्वार आग्रह गरेपनि कसैले चासो दिएका छैनन् उनले भने, उपलव्ध जनशक्ति र मेसिनको प्रयोग गरेर अस्पतालले विरामीलाई सेवा दिदै आएको छ ।
सरकारले डायलासिस सेवालाई निशुल्क गरेपनि आवश्यक जनशक्ति र मेसिन उपलव्ध नगराउँदा विरामीले आवश्यक परेको वेला सेवा लिन सकेका छैनन् । मृगौला फेल भएका विरामीले मृगौला प्रत्यारोपण नगर्दासम्म डायलासिस गर्नुपर्छ । अस्पतालको नयाँ भवन निर्माण हुन वित्तिकै दश वटा मेसिन राखेर डायलासिस सेवा विस्तार गर्ने योजना पनि बनाएको सुपरिटेन्डेन्ट खड्काले बताए । सेवा विस्तारको लागि केन्द्र र प्रदेश सरकारबाट सहयोग हुने अपेक्षा पनि आफुले लिएको उनले बताए । नेपाल समाचार पत्र दैनिकबाट
राराखबर । २०७५, २२ पुष आईतवार