सुर्खेत, २९ फाल्गनु ।
लोपोन्मुख जाती राउटेले पहिलो पटक तलब बुझेका छन्। राउटे समुदायको उत्थानका लागि क्रियाशिल सामाजिक सेवा केन्द्रको कार्यक्रमलाई सहयोग गरेबापत पाँचजना राउटेले पहिलो महिनाको पारिश्रमिक बुझेका हुन्।
लेकबेसीमा बस्दै आएका उनीहरुलाई बुधबार गाडीमा राखेर वीरेन्द्रनगरमा ल्याएपछि बैंकमार्फत उनीहरुको महिनाको पारिश्रमिक भुक्तानी दिइएको छ।आधुनिक समाजसँग नजिक्याउन सोकेकमार्फत लागु भएको सामाजिकिकरण कार्यक्रममा राउटे परासहकर्ताको भूमिका निभाएकोमा मासिक तलब दिने गरिएको सोसेक दैलेखका अध्यक्ष हिरासिंह थापाले जानकारी दिए।
बुधबार बिहानै थापासहितको टोलीले भेरी किनारमा बसिरहेका राउटे समुदायमा पुगेरे पाँच मुखियालाई वीरेन्द्रनगर तलब पारिश्रमिक भुक्तानीका लागि ल्याइएको थियो। राउटेका मुख्य मुखिया सुर्यनारायण शाहीले एक महिनाको दुई हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् भने अन्य चारजना सहायक मुखियाले प्रतिव्यक्ति १ हजार ५ सयका दरले बुझेका छन्। ‘उनीहरुको दैनिकी व्यवस्थिति गराउने अभियानमा हामीलाई निकै चुनौती खडा भयो, उनीहरुबाटै आवश्यक सहयोग नहुने देखियो, अध्यक्ष थापाले भने, ‘आफ्नो समुदायका नागरिकलाई परिवर्तनप्रति आकर्षण गराउन सहयोग पुर्याउन भन्नका लागि पाँचजनालाई जागिरेका रुपमा सहजकर्ता नियुक्त गरेका हौं।’
बैंकमार्फत महिनबहादुर शाही, प्रकाश शाही, डिलबहादुर शाही र विरबहादुर शाहीले जनही मासिक 1 हजार 5सय रुपैयाँ बुझेका हुन्। पहिलो तलब पाएपछि राउटे मुखिया सुर्यनारायण शाहीले भने, ‘सरकारले दिने भत्ताबाहेक तबल पाउने गरी काम गरेका थिएनौं, पहिलो पटक बैंकमै आएर तलब बुझेका हौं।’ उनले सबै कुरा एकै पटक परिवर्तन सम्भव नभए पनि विस्तारै विस्तारै आफ्नो समुदाय पनि सामान्य मानिससरह जीवन बिताउने शाहीले बताए। ४५ दिनभन्दा धेरै एकै ठाउँमा नबस्ने राउटेले गर्मीयाम सुरु भएपछि पुनः अर्को ठाउँमा बसाई सर्ने तयारी गरिरहेका छन्।
राराखबर । २०७५, २९ फाल्गुन बुधबार