सुर्खेत, ७ असार ।
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले आयोजना गरेको अन्तर माध्यामिक विद्यालय स्तरीय लोक गीत प्रतियोगीतामा कोपिला म्याली विद्यालय प्रथम भएको छ ।
७० औँ एसओएस दिवस तथा एसओएस अन्तर्राष्ट्रियका संस्थापक पिता प्रा. डा. हर्मन माइनरको १०० औँ जन्म जयन्तीका अवसरमा गरिएको प्रतियोगीतामा आदर्शराज मेमोरियल मावि द्वितीय, इन्टरनेसनल को अपरेटिभ माध्यामिक विद्यालय तृतीय र डिभी निकेतनले सान्त्वना स्थान हासिल गरेका छन् ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं.- ४, का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य नीलकण्ठ खनालले महामानव हर्मन माइनरको योगदानले विश्वभरिका घर र बाबुआमा गुमाएका बालबालिकाले बस्ने घर र आमाबाबु तथा भाइबहिनी पाएको बताए ।
शिक्षक अभिभावक संघका अध्यक्ष राजेश सोनीले विद्यालयले विद्यार्थीको चौतर्फी प्रतिभा प्रस्फुटनमा अतुलनीय योगदान दिएको बताए ।
एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले अहिले विश्वका १ सय ३५ भन्दाबढी देशका लाखौँ बालबालिकाले एसओएस बालग्राममार्फत पारिवारिक मायालु वातावरणका साथ नयाँजीवन पाइरहेको बताए ।
यस्तै विद्यालयका प्राचार्य जगदीश ढकालले विद्यालयले सञ्चालन गर्ने विभिन्न प्रतियोगीता मार्फत विद्यार्थीको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
एसओएस दिवसका अवसरमा हर्मन माइनर विद्यालयले शिक्षक तथा कर्मचारीको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, रक्तदान, प्रदेश अस्पताल परिसर सरसफाई, आन्तरिक तथा अन्तर विद्यालय बाह्य खुला सडक दौड प्रतियोगिता, शैक्षिक पुरस्कार वितरण जस्ता कार्यक्रम गरेको विद्यालयका प्राचार्य ढकालले जानकारी दिए ।
राराखबर । २०७६, ८ असार आईतवार