- प्रकाश पन्त
- सुर्खेत
जिल्ला प्रशासन कार्यालय दैलेखका नायब सुब्बा तिलक न्यौपानेले सरकारी जागिरबाट बचेको समय कृषि कार्यमा खर्चिँदै आएका छन्।
तरकारी खेती, गाई, बाख्रा र कुखुरा पालन व्यवसाय गरेका उनले बिदाबाहेक अरू दिन पनि बिहान र साँझ कृषि फर्ममा बिताउँछन्।
तीन दशकभन्दा लामो समयदेखि सरकारी सेवामा कार्यरत उनी ‘जागिरले मात्र परिवार पाल्न र छोराछोरीलाई पढाउन नसकिने भएपछि’ कृषिको काम थालेको बताउँछन्।
कृषिबाट मासिक एक लाख रुपैयाँभन्दा बढी कमाउने उनी भन्छन्, “जागिरबाट बचेको समय कृषिमा सदुपयोग गर्दा राम्रो आम्दानी हुन्छ।”
उनले कृषि क्षेत्रमै १० जना गाउँलेलाई रोजगारी पनि दिएका छन्।

‘जागिरले मात्र घर व्यवहार धान्न गाह्रो’
सरकारी सेवासँगै कृषि व्यवसायमा लागेका सुर्खेतका सुशील केसी पनि बिदाको दिन र बिहान-साँझको समय कृषिमै बिताउँछन्।
स्थानीय जातका कुखुरा पालनसँगै तरकारी र घाँस खेती गरेका उनी जलस्रोत तथा सिँचाई विकास कार्यालयका लेखा अधिकृत हुन्।
केसी अतिरिक्त आम्दानीका लागि कृषि व्यवसाय गरेको बताउँछन्।
“कर्मचारीलाई सम्मान र किसानलाई हेला गर्ने चलन छ,” उनी भन्छन्, “त्यसैले कर्मचारीले पनि कृषि व्यवसाय गर्दा रहेछन् भन्ने सन्देश दिन कृषि व्यवसाय थालेँ।”
कृषिबाट महिनामा ५० देखि ७० हजार रुपैयाँ कमाइ रहेको बताउने उनले छ जनालाई रोजगारी समेत दिएका छन्।
समयको सदुपयोगसँगै आम्दानी
सरकारी जागिरसँगै कालिज पालन समेत गरिरहेका पूर्वाधार विकास कार्यालय कालिकोटमा कार्यरत महाकृष्ण पाण्डे कृषि व्यवसाय गर्दा समयको सदुपयोगसँगै आम्दानीमा पनि टेवा पुगेको बताउँछन्।
“सरकारी जागिरभन्दा कृषि व्यवसायबाट झन् बढी सम्मान र सन्तुष्टि मिलेको छ,” पाण्डेले भने।
कालिज पालनबाट राम्रै आम्दानी गरिरहेका उनलाई गाउँलेले “कालिज एकाउन्टेन्ट”का रूपमा चिन्न थालेका छन्।

थप हौसला
उनीहरू जस्तै कर्णालीका अरू केही कर्मचारीले पनि सरकारी काममा बाधा नपुग्ने गरी कृषि व्यवसाय गरिरहेका छन्।
उनीहरूमध्ये कतिले एक्लै र केहीले साझेदारीमा स्थानीय जातका कुखुरा, बाख्रा, कालिज पालन, तरकारी खेतीजस्ता व्यवसाय गरिरहेको बताउँछन्।
“कृषि व्यवसाय गर्नु त्यति सजिलो भने छैन,” उनी भन्छन्, “कतिपय मान्छेले ‘पैसाले कति नपुगेको’ भनेर भन्छन्, कतिले ‘भ्रष्टाचार गरेको पैसा लुकाउन किसान बनेको’ आरोप लगाउन भ्याउँछन्।”
केहीले नराम्रो दृष्टिले हेरे पनि किसानले भने कृषि व्यवसायमा अघि बढ्न थप हौसला दिने गरेको अनुभूति उनीहरूको छ।
आफूहरूको कृषि व्यवसाय अवलोकन गर्न आउने सबैले केही न केही नयाँ ज्ञान र सीप सिक्ने गरेको दाबी सरकारी सेवासँगै कृषि व्यवसाय पनि गरिरहेका कर्मचारीहरूको छ।
उनीहरू रोजगारीका लागि विदेश जानुको साटो देशमै कृषि व्यवसाय गर्न विदेश जाने सोच भएका युवालाई सुझाव दिन्छन्।
अवकाश जीवनबारे सोच
कालिज पालन गरेका जुम्लाका स्थायी बासिन्दा पाण्डे सरकारी सेवाबाट अवकाश पछिको जीवनलाई सहज तुल्याउन कृषि व्यवसाय सुरु गरेको बताउँछन्।
पाण्डे भन्छन्, “सरकारी सेवाबाट बचेको समय कृषि कर्ममा खर्चिदा धेरै आनन्द लाग्छ।”
न्यौपाने कृषि व्यवसायबाट तेब्बर आम्दानी हुने भए पनि घरपायकको जागिर भएकोले छाड्न नसकेको बताउँछन्।
सरकारले कर्मचारीलाई अतिरिक्त आम्दानीका लागि कृषि व्यवसायमा प्रेरित गरे भ्रष्टाचार मौलाउन नपाउने उनीहरू बताउँछन्।
सरकारी जागिरसँगै मौरीपालन गरिरहेकी सुर्खेतकी इन्द्र कँडेल सरकारले कर्मचारीलाई कृषि व्यवसायमा प्रेरित गरेर भ्रष्टाचार कम गर्न सक्ने ठान्छिन्। बीबीसीबाट साभार
राराखबर । २०७८, २१ असार सोमबार