कर्णाली: न्यूनतम सेवा प्रवाहमा ‘देशकै सर्वोत्कृष्ट अस्पताल’

प्रकाश पन्त

सुर्खेत

तस्बिर स्रोत,PRAKASH PANT/BBC

तस्बिरको क्याप्शन,दैलेख, जाजरकोट, कालिकोट, सल्यानसहित कर्णालीका दशवटै र सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बाजुरालजस्ता जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ।

चार-पाँच वर्ष अघिसम्म उपचारको लागि नियमित रूपमा काठमाण्डू धाउने गरेका विरेन्द्रनगर-७, सुर्खेतका गेहेन्द्रप्रसाद दाहाल हिजोआज प्रदेश अस्पतालमै उपचार गर्छन्।

काठमाण्डूको जस्तो सेवा सुर्खेतमै पाइन थालेको अनुभव उनको रहेको छ।

उनले भने, “प्रदेश अस्पताल घर दैलोमै भएपनि पहिला खासै विश्वास लाग्दैनथ्यो। तर अहिले लाग्छ। त्यसैले काठमाण्डू जान छाडेँ।”

अस्पतालले बिरामीलाई दिने सेवा विस्तार गरेसँगै दाहालजस्ता कर्णालीवासीले अहिले प्रदेश अस्पतालमै उपचार पाइरहेका छन्।

विगतमा आवश्यक उपचार नपाउँदा कर्णालीवासी नेपालगञ्ज, काठमाण्डू, लखनउ लगायतका स्थानका निजी अस्पतालमा जान बाध्य थिए।

त्यो बाध्यता हटेर अहिले आफ्नै ठाउँमा विशेषज्ञ सेवा पाउँदा धेरै सहज भएको अस्पतालमा उपचार गराउन आउने सेवाग्राहीहरू बताउँछन्।

कुनै बेला त उपचार गर्न गएका बिरामीलाई प्रदेश अस्पतालले अन्यत्रको अस्पतालमा पठाउने गरेकाले ‘रिफर गर्ने अस्पताल’ भनेर समेत प्रदेश अस्पताललाई चिनिन्थ्यो।

कुन कुन जिल्लाका बिरामी धरै आउँछन्?

अहिले पैसा हुनेहरू वा आफ्नो इच्छाले उपचारका लागि अन्यत्र जानेहरू छन्। प्रदेश अस्पतालले पनि पहिलाजस्ता बिरामीलाई खासै बाहिर उपचारका लागि रिफर गर्ने गरेको छैन।

अस्पतालका अनुसार सेवा विस्तारसँगै बिरामीको चाप पनि दिनदिनै बढिरहेको छ। अहिले दैनिक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

दैलेख, जाजरकोट, कालिकोट, सल्यानसहित कर्णालीका दशवटै र सुदुरपश्चिम प्रदेशका अछाम, डोटी, बाजुरा जस्ता जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. डम्बर खड्का

तस्बिर स्रोत,PRAKASH PANT/BBC

प्रदेश अस्पतालले मुटुको शल्यक्रिया र मिर्गौला प्रत्यारोपणबाहेक अहिले अरू १४ किसिमका विशेषज्ञ सेवाहरू दिइरहेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए ।

उनले भने, “काठमाण्डूमा हुने खालका शल्यक्रिया सुर्खेतमै हुन्छन्। अत्याधुनिक प्रविधि प्रयोग गरेर सेवा विस्तार गरेपछि कर्णालीवासीलाई धेरै ठूलो राहत भएको छ।”

अस्पतालले स्त्री तथा प्रसुती, हाडजोर्नी तथा नसारोग, बाल रोग, दन्त रोग, फिजियोथेरापीजस्ता विशेषज्ञ सेवा दिँदै आएको थियो।

देशकै उत्कृष्ट अस्पताल

नयाँ भवन बनेपछि र आवश्यक उपकरण तथा पर्याप्त जनशक्ति व्यवस्थापनपछि पछिल्लो समय अस्पतालमा न्यूरो सर्जरी, नाक कान घाँटी, छाला, एनेस्थेसिया, मानसिक, रेडियोलोजी, प्याथोलोजी, आँखा रोगजस्ता सेवा समेत थपिएका छन्।

जसले गर्दा आफूखुशी अन्यत्र उपचार गर्न जानेबाहेक अरू बिरामीलाई बाहिर पठाउनु नपरेको अस्पतालका चिकित्सकहरू बताउँछन्।

हालै निक साइमन इन्स्टिच्यूट नामको एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको सहयोगमा स्वास्थ्य मन्त्रालयको उपचारात्मक महाशाखाले गरेको अध्ययनमा प्रदेश अस्पताल सुर्खेत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्न देशभरिमै उत्कृष्ट सेवा दिने अस्पताल भएको स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर सर्वेश शर्माले बताए।

प्रदेश सरकारको सहयोग, कर्णालीवासीको चासो, स्वास्थ्यकर्मी र कर्मचारीको साथबाट अस्पतालको मुहार फेर्न सफल भएको निर्देशक डाक्टर खड्का बताउँछन्।

प्रदेश अस्पताललाई अब ५०० शय्याको बनाएर मेडिकल कलेज सञ्चालन गर्ने योजना पनि रहेको उनले बताएका छन्।

२०६२ सालमा क्षेत्रीय अस्पताल हुँदा ५० शय्याबाट सञ्चालन भएको प्रदेश अस्पतालमा अहिले २५० शय्या छ।

त्यतिबेला ४ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालमा अहिले ४३ जना विशेषज्ञसहित ६९ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी ५०० कार्यरत छन्।

प्रदेश अस्पताल, सुर्खेत

तस्बिर स्रोत,DR. NABARAJ KC

प्रदेश सरकारको प्राथमिकता

केन्द्र मातहत हुँदा सरकारको खासै ध्यान नपुगेको भनिएको अस्पताल प्रदेश सरकारको साथ पाएपछि तीव्र सुधार भएको स्थानीय बासिन्दाको बुझाइ छ।

“केन्द्र सरकारले खासै प्राथमिकता दिएको थिएन,” स्थानीयवासी माया थापा भन्छिन्, “तर प्रदेश सरकारले उच्च प्राथमिकता दिँदा अस्पतालको मुहार नै फेरियो।”

समाजसेवी गेहेन्द्रप्रसाद दाहाल भने अस्पतालको कुशल नेतृत्वका कारण पनि प्रदेश अस्पताल गर्व गर्न लायक बनेको दाबी गर्छन्।

बिरामीप्रति स्वास्थ्यकर्मीले गर्ने व्यवहार परिवर्तन र स्वास्थ्य जाँचमा लाग्ने उपकरणको शुल्क घटाउनु पर्ने आवश्यकता औँल्याउँदै उनी प्रदेश सरकारले सहुलियत दिएर कर्णालीवासीलाई प्रदेश अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था मिलाउनु पर्नेमा जोड दिन्छन्।

उपकरण र सेवा थपिए

पछिल्लो समय सिटी स्क्यान, डिजिटल एक्सरे, अल्ट्रासाउण्ड मेसिनजस्ता उपकरणका साथै आइसीयू, एनआइसीयू, डायलिसिस, हिस्टो प्याथोलोजी, प्रयोगशाला, इसीजी, इन्डोसकोपीलगायतका सेवा पनि थपिएका छन्।

अस्पतालले लासलाई बिग्रिन नदिन फ्रीज, ब्लड बैंक स्थापना, एचआइभी एड्स परामर्श तथा उपचार सेवा पनि दिइरहेको छ।

प्रदेश अस्पतालमा उपचारका लागि आएका बिरामी र उनीहरूका आफन्त

तस्बिर स्रोत,PRAKASH PANT/BBC

आवश्यक उपकरण र जनशक्ति अभावले गर्दा पहिले चाहेर पनि स्तरीय सेवा दिन नसकिएको तर अहिले त्यस्तो समस्या नभएको अस्पतालमा लामो समयदेखि कार्यरत डा. गणेश थापा बताउँछन्।

“पहिला बेहोस बनाउने डाक्टरसमेत थिएनन्। आइसीयूमा राख्ने सुविधा पनि थिएन,” उनी भन्छन्, “त्यसैले चाहेर पनि जटिल बिरामीहरूको शल्यक्रिया गर्न सकिँदैनथ्यो। अहिल सबै सुविधा भएकोले आकाश जमिनको फरक भएको छ।”

कुनै बेला बिरामीले खासै भरोसा नगर्ने अस्पतालले अहिले भने कर्णालीवासीको विश्वास बटुल्न थालेको छ।  (बीबीसीबाट)




फेसबुकबाट तपाईको प्रतिक्रिया