यात्रु तथा सडक सुरक्षा कार्यक्रम चलाउदै कर्णाली प्रदेश प्रहरी

सुर्खेत

कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ३३७ वटा सवारी दुर्घटना हुँदा ९४ जनाको मृत्यु र ६९६ जना घाईते भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

चालु आ.व.२०७९/०८० को चैत्र मसान्तसम्म भएका सडक दुर्घटनामा २२१ जना गम्भिर र ४६७ जना सामान्य घाईते भएका छन् ।

भौगोलिक विकटता, कमजोर सडक, चालकको लापरबाही, सवारी यात्रु तथा पैदल यात्रुको गल्ती, सवारीको छतमा तथा झुण्डिएर यात्रा गर्नु ,पूर्णरुपमा सवारी साधन नरोकिई चढ्ने तथा ओर्लने प्रवृतीले गर्दा दुर्घटना बढेको प्रहरीले जनाएको छ ।

यस्तै जहाँपायो त्यहाँ सवारी साधन रोक्न लगाउनु, पैदल यात्रुले सडक प्रयोग गर्न नजान्नु, बालबालिकालाई वास्ता नगर्नु तथा ट्राफिक चेतनाको अभावजस्ता  कारणले दिनानुदिन सवारी दुर्घटनामा ज्यान गुमाउने र घाईते हुनेको संख्या बढ्दै गएका छ ।

यस्ता किसिमका दुर्घटना न्यूनिकरण तथा सचेतनाका लागि यात्रु तथा सडक सुरक्षा सम्बन्धि कार्यक्रम गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यक्रममा सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु र मानिसले आत्महत्या गर्नुको कारण तथा रोकथामका लागी अपनाउनु पर्ने सावधानीबारे  सचेत गराउदै, सो सम्बन्धी उपस्थित नागरिकहरूमा उब्जिएका विभिन्न जिज्ञासाहरुमा छलफल तथा अन्तरक्रिया समेत गर्ने गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले यही बैसाख १३ गते भेरी नगरपालिका वडा नं. १ स्थित रिम्नामा यात्रु तथा सडक सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ ।

कार्यक्रममा  सर्वसाधारण, जनप्रतिनिधी, शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी, अभिभावक र विद्यार्थीहरु सहभागी थिए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय, मुगुले पनि सोरु गा.पा.०६ स्थित बजारमा  जवर्जस्ती करणी सम्बन्धि  सचेतनामुलक कार्यक्रम गरेको छ ।

प्रदेश लगाएत  जिल्लामा जवर्जस्ती करणीमा मुद्दाको दर बढ्दै गएको हुनाले किशोर किशोरी तथा विद्यार्थीहरूलाई लक्षित गरेर उक्त कार्यक्रम गरिएको हो ।

कर्णाली प्रदेश प्रहरीले पछिल्लो समयमा प्रदेशमा शान्ति सुरक्षा कायम गर्न विभिन्न किसिमका समुदाय लक्षित कार्यक्रमलाई बढाउदै गएको छ ।

 शान्ति सुरक्षा, अपराध अनुसन्धान लगाएतको महत्वपूर्ण जिम्मेवारी बोकेको प्रहरीले अपराध हुनै नदिन प्रदेशका विभिन्न जिल्लाहरूले सचेतनामुलक कार्यक्रमहरू समेत गर्दै आएको प्रदेश प्रहरी प्रमुख डिआइजी भीमप्रसाद ढकालले बताए ।

चेतनास्तर तथा कानूनि अज्ञानताले विभिन्न किसिमका सामजिक तथा फौजदारी अपराधहरू बढ्दै जाँदा नियन्त्रणका लागि आम नागरिकहको चेतनास्तरलाई बढाउनु अपरिहार्य रहेको समेत उनले बताए ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया