चैत्र १९, २०७२- विद्यार्थी मात्र होइन जहाँ आउँछन् । कक्षा सुरुसँगै स्कुल आइपुग्ने अभिभावकहरू छुट्टी नहुन्जेल शिक्षक, विद्यार्थीका गतिविधि नियालेर बसिरहेका हुन्छन् । अभिभावकले निगरानी बढाएपछि शिक्षकको लापरबाही शून्य छ भने बालबालिकाहरू पनि पढाइप्रति सचेत छन् ।
जिल्लाको दक्षिणपूर्वी पिलाडीको धनटाकुरीस्थित नेपाल राष्ट्रिय प्राविको वास्तविकता हो यो । त्यहाँ दैनिकजसो अभिभावकको बाक्लो भीड नै लाग्दछ । उनीहरूले हरेक दिन शिक्षकले पढाए/नपढाएको अनुगमन गर्छन् । दिनभर भए गरेका क्रियाकलापको मूल्यांकन गरी शिक्षकलाई सुझाव दिन्छन् ।
स्थानीय दिलमाया रोकायाले आफू पटक–पटक विद्यालय पुग्दा बालबच्चाको पढाइ सुध्रिँदै गएको बताइन् । ‘आमा आउनुभा’छ । अनुशासित भएर कक्षामा बस्नुपर्छ भन्ने भावना जाग्दोरहेछ,’ केही अघि स्कुलमा भेटिएकी दिलमायाले भनिन्, दैनिक आउन नसके पनि चार–पाँच दिन बिराएर आउने गरेकी छु ।’
सबै अभिभावकले अनिवार्य अनुगमन गर्ने यो नियम विद्यालय व्यवस्थापन समितिले बनाएको हो । सहजीकरण गरिरहेको सेभ द चिल्ड्ेरनका कार्यक्रम अधिकृत उपेन्द्र भण्डारीले व्यवस्थापन समिति र शिक्षकलाई अझ बढी जिम्मेवार बनाउन सकारात्मक अभियान थालिएको बताए । ‘व्यवस्थापन समितिलाई हातमा लिएर कतिपय शिक्षकले पढाउँदै पढाउँदैनथे । अब यो समस्या हटदै गएको छ,’ उनले भने, शैक्षिक गुणस्तर सुधार्न शिक्षक, विद्यार्थी र अभिभावक सबैको साझा प्रयास हो यो ।’
अभियानले शिक्षाको गुणस्तर सुधार्न मद्दत पुर्याएको अभिभावकको भनाइ छ । शिक्षकहरूले अभिभावकको निगरानीले आफूहरूको अल्छीपना हटेको बताएका छन् । ‘अभिभावकको खाली भएको कुनै दिन हुन्न । गयल हुनेबित्तिकै जागिर गइहाल्छ,’ शिक्षिका पार्वती बुढाले भनिन्, त्यसैले हामी शिक्षक, कर्मचारी पनि सजग भएका छौं ।’ कमीकमजोरी हुन नदिन आफूहरू पनि होसियार बनेको उनले अनुभव सुनाइन् ।
बाबुआमा दिनैपिच्छे स्कुल आउन थालेपछि बालबालिकाको हाजिरी नियमित छ । प्रधानाध्यापक सूर्य ओलीले अभिभावकको निगरानीलाई शैक्षिक सुधारको पहिलो आधार भएको बताए । शिक्षकहरू नआउने, आए पनि आधा पिरियड पढाएर जाने अथवा पढाउँदै नपढाएर घर फर्किने समस्या हटेको उनी दाबी गर्छन् ।
http://kantipur.ekantipur.com/printedition/news/2016-04-01/20160401093532.html
राराखबर । २०७३, ४ जेष्ठ मंगलवार