सुर्खेत
पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ पुस्तकको शनिबार वीरेन्द्रनगरमा विमर्श गरिएको हो। पुस्तकमाथि विमर्श गर्दै मध्यपश्चिम विश्विद्यालयका पूर्व रजिष्ट्रार प्राध्यापक डा. महेन्द्रकुमार मल्लले केन्द्रदेखि मोफसलसम्मको पत्रकारिताको कमीकमजोरी औंल्याइएको पुस्तक पठनीय रहेको बताए। पत्रकारिता क्षेत्रमा देखिएको कमीकमजोरी हेर्ने ऐनाका रुपमा पुस्तकलाई लिन सकिने बताए।
‘पत्रकारिता जगतबाट भनिएका हरेक कुरालाई आम मानिसले आधिकारिक धारणा बनाउँछन्, यो क्षेत्रमा भएको सानो गल्तीले पूरा मासमा गलत सन्देश प्रवाह हुनसक्छ,’ डा. मल्लले भने, ‘पत्रकारिताको क्षेत्रलाई केलाएर आउनैपर्ने पुस्तक लेखकबाट आएको छ।’
पुस्तक विमर्श कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले पुस्तकमा उठान गरिएका विषयले पत्रकारिता जगतलाई नै सच्चिनुपर्ने सन्देश प्रवाह गरेको औंल्याए।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले आफ्नै क्षेत्र भएपनि पत्रकारिताको बारेमा गल्ती औंल्याउने साहस लेखकले गरेको बताए।
‘रुवाण्डाको जातीय हिंसादेखि सुर्खेतको संघीयतासम्बन्धि आन्दोलनलाई सञ्चारमाध्यमले समावेश गर्ने क्रममा गरेका गल्ती र फैलाईएको भ्रमबारे पुस्तकमा चिरफार गरिएको छ,’ उनले भने, ‘हामीले हरेक क्षेत्रमा जिम्मेवार भएर काम गर्नुपर्छ, आफ्नो क्षेत्रभित्र भएका कमजोरीको विरोध गर्न सक्नुपर्छ भन्ने सन्देश पनि पुस्तकबाट दिईएको छ।’
‘फल्स फ्रन्ट पेज’ पुस्तकका लेखक सेजुवालले आफ्नै क्षेत्रका कमीकमजोरी औंल्याउने अभ्यास आफूले गरेको बताए। उनले हरेक क्षेत्रमा भएका कमीकमजोरी त्यस क्षेत्रमा संलग्न व्यक्तिले गर्ने आँट राख्नुपर्ने बताए।
पुस्तकको विमर्श कार्यक्रममा शैक्षिक क्षेत्रका व्यक्तित्व, विभिन्न विधाका लेखक, समालोचकहरुको सहभागिता थियो। नेपाल पत्रकार महासंघको केन्द्रीय कोषाध्यक्षसमेत रहेका सेजुवलद्वारा लिखित पुस्तक प्रेस फ्रिडम मिडियाले प्रकाशन गरेको हो। पुस्तकमा सन्दर्भ, उपकथा र मूलकथा गरी तीन खण्ड रहेका छन्।
‘आधारभूत सिद्धान्तमै खेलाँची’ शिर्षकको सन्दर्भ खण्ड, ‘देशको सीमांकन बदल्ने आन्दोलन’ शिर्षकको उपकथा खण्ड र ‘आन्दोलनको कसीमा मिडिया’ शिर्षकको मूलकथा रहेका छन्।
राराखबर । २०८०, २१ माघ आईतवार