जाजरकोट
शान्ति सेवाले एकदमै दुर्गम ठाउँका भुकम्प प्रभावितहरुलाई सहयोग सामाग्री दिएको छ । जाजरकोटको नलगाड –८ का पाँच सय घरपरिवारलाई सिलिपिङ व्याग र ९ का ३५४ बालबालिकालाई न्यानो ज्याकेट सहयोग गरेको छ ।
सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको शान्ति सेवा गृहले भुकम्प प्रभावित नलगाड नगरपालिका –८, का मंसिरी, भरगाउँ, दयारी, बयारी, गराइला, दरगास, कुसेनी, लुपाना, नेटा, ताँसे, काब्रा, कायखेत, मैदे र मालुवातरा बस्तीका बासिन्दालाई सिलिपिङ व्याग सहयोग गरेको हो ।
उक्त बस्तीका सबै भुकम्प प्रभावितहरुले पुग्ने गरी पहिलो पटक राहात पाएको वडाध्यक्ष तेजबहादुर सिँहले बताए ।
उनले संकटको बेला सहयोग गर्ने शान्ति सेवा गृह र सहयोगको लागि पहल र समन्वय गर्ने पत्रकार प्रकाश पन्तप्रति आभार व्यक्त गरेका छन् ।
यी क्षेत्रका बासिन्दाको लागि धेरैलाई आग्रह गरियो तर कतैबाट पनि सहयोग भएको थिएन, उनले भने, अहिले शान्ति सेवा गृहले सहयोग गर्दा धेरै नै खुशी लागेको छ ।
दुर्गम ठाउँका भुकम्प प्रभावितको हातमै सहयोग सामाग्री दिन पाउँदा खुशी लागेको शान्ति सेवा गृहका निर्देशक बिजेन्द्र कुँवरले बताए ।
उनले आफ्नो संस्थाले विगतमा पनि समस्यामा परेका थुप्रै मासिनलाई सहयोग र साथ दिदै आएको उल्लेख गरे ।
बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तले काहीकतैबाट राहात नभएका भुकम्प प्रभावितलाई राहातको लागि पहल र समन्वय गर्ने अवसर पाउँदा गर्वको महशुस भएको बताए ।
उनले आगामी दिनहरुमा पनि दुर्गम क्षेत्रका बासिन्दा र समस्यामा परेका व्यक्तिलाई साथ र सहयोगको लागि पहल गर्ने बताए ।
यस्तै शान्ति सेवा गृहले भुकम्प प्रभावित क्षेत्र नलगाड –९, तात्रस्थीत त्रिभूवन माध्यामिक विद्यालयका ३५४ जना विद्यार्थीहरुलाई ज्याकेट सहयोग गरेको छ ।
सामाजिक अभियन्ता पत्रकार प्रकाश पन्तले विद्यार्थीको लागि न्यानो ज्याकेटको पहल गरेका थिए ।
कार्यक्रममा पत्रकार पन्तले विद्यार्थीको लागि बारम्बार सहयोगको लागि आग्रह गर्ने गाउँका अगुवा महेन्द्र सिंह र गोरख सिंहलाई विशेष धन्यवाद दिएका थिए ।
विद्यार्थीलाई ज्याकेट वितरण कार्यक्रमलाई प्रभावकारी र सहज बनाउन विद्यालयका प्रधानाध्यापक मित्रलाल घिमिरेले महत्वपूर्ण भुमिका खेलेका थिए ।
सहयोगीदाताले गाउँका अगुवा, शिक्षकहरु र अभिभावकहरुलाई धन्यवाद दिइएका छन् ।
राराखबर । २०८०, १० माघ बुधबार