कर्णालीका कृर्षीमन्त्रीको सम्पत्ति : काठमाडौंमा घर, झन्डै १६ सय तोला सुनचाँदी

सुर्खेत । कर्णाली प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । शाहको काठमाडौँमा घर, घडेरी, गाडी, सुन, चाँदी तथा बहुमूल्य रत्न हिरा रहेको उल्लेख गरेका छन् ।

ठाटीकाँध गाउँपालिका–१, दैलेख निवासी शाहले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–५, मा ४ आनाको दुई तले घर भएको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले उक्त घर ७५ लाख ऋण लिएर किनेको स्रोत उल्लेख गरेका छन् ।

शाहले आफ्नी श्रीमतीको नाममा भक्तपुर र दैलेखका तीन ठाउँमा घडेरी रहेको विवरणमा उल्लेख गरेका छन् । शाहकी श्रीमती लक्ष्मीदेवी शाहको नाममा भक्तपुरको सूर्य विनायक गाउँपालिका–६ मा ४८ लाख मूल्यको घडेरी रहेको विवरण छ । उक्त घडेरी पैतृक सम्पत्तिबाट खरिद गरिएको शाहले विवरणमा खुलाका छन् ।

यस्तै श्रीमतीकै नाममा दैलेखको ठाँटीकाँध गाउँपालिका–१ मा ५० रोपनी पुर्ख्यौली जग्गा भएको र दैलेखको आठबीस नगरपालिका–४ राकम दैलेखमा १० लाख मूल्य बराबरको १८५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको विवरणमा उल्लेख छ । उक्त घडेरी पारिश्रमिकबाट किनेको श्रोत उल्लेख गरेका छन् । शाह दम्पती दुवै राजनीतिमा मात्रै संलग्न छन् ।

सम्पत्ति विवरणमा उल्लेख भए अनुसार मन्त्री शाहसँग २५ तोला सुनका गहना, ४० तोला सुन, १५ लाख बराबरको १५ क्यारेट हिराको हार, १० लाख बराबरको २ थान रुबी सेट र १५ सय तोला चाँदी रहेको देखाएका छन् ।

यति धेरै चल सम्पत्ति उनले केही पैतृक सम्पत्ति छोरा र आफ्नो पारिश्रमिकबाट खरिद गरेको उल्लेख गरेका छन् । उनका छोरा अमेरिकामा बस्दै आएका छन् । यस्तै हिराको हार अस्ट्रेलियामा बस्ने छोरीले उपहार दिएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

मन्त्री शाहको नाममा राष्ट्रिय वाणिज्य बैङ्कमा ५० हजार र नेपाल एसवीआई बैकमा १० हजार गरी ६० हजार रकम पारिश्रमिकको मौज्दात रहेको छ । उनीसँग एउटा मोबाइल र एउटा ल्यापटप छ । यी सामानहरू पारिश्रमिकबाट खरिद गरेको उल्लेख गरेका छन् ।

यसअघि प्रदेश सरकारको अर्थमन्त्री समेत रहेका शाहले त्यो बेलाको सम्पाति विवरणमा आफूसँग १६ लाख मूल्य बराबरको टोपोरा प्राडो गाडी भएको र उक्त गाडी आफू ०५४ सालमा सांसद हुँदाताका नै खरिद गरेको सम्पत्ति विवरणमा खुलाएका थिए । तर यो पटक भने उक्त गाडीका बारेमा खुलाएका छैनन् ।

उनी ०५१ सालमा नेमकिपाबाट सांसद निर्वाचित भएर सांसद पदसहित एमालेमा प्रवेश गरेका थिए । एमालेका पूर्व प्रदेश अध्यक्ष समेत रहेका शाह राजाको पालामा सिँचाई सहायक मन्त्री समेत भएका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया