गरिव प्रदेशका धनी मन्त्रीहरू

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री यामलाल कँडेल सहित उनको मन्त्रीमण्डलमा रहेका ६ मन्त्रीहरू र एक राज्य मन्त्रीले बिहीबार सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

गत चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेल नेतृत्वको सरकारले गठन भएको तीन महिनापछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत विवरण सार्वजनिक गरेको हो ।

गरिबी, अभाव र विपन्न प्रदेशको पर्यायका रूपमा लिइने कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरू भने सम्पन्न शाली रहेको सार्वजनिक सम्पत्ति विवरणले देखाउँछ । सामान्य आधारभूत आवश्यकतासमेत उपभोग गर्न नसक्ने यहाँका नागरिकहरूको अवस्था छ । तर तीनै नागरिकमाथि शासन गर्ने मुख्यमन्त्री र मन्त्रीहरू भने करोडौँका मालिक छन् । धनाढ्य छन् ।
उनीहरूको प्रदेश र संघका राजधानीमा घर, घडेरी छ । गाडी घोडा मात्रै हैन प्रशस्त सुनचाँदी र हिरा छ । करोडौँको शेयर, डोजर, ट्याक्टरदेखि उद्योगधन्दा आफ्नो नाममा रहेको सम्पत्ति विवरणमा मन्त्रीहरूले खुलाएका छन् ।

कर्णाली हरेक सूचकाङ्कको पुछारमा छ । यहाँको गरिबीको दर ३९.८ प्रतिशत भने मानवीय विकास सूचक ०.४२६ रहेको छ । कठिन भौगोलिक अवस्था र न्यून मानवीय विकासका कारणले प्रदेशको आर्थिक, सामाजिक सूचकहरूको अवस्था निकै कमजोर छ । तर त्यही प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको अवस्था भने कयौँ गुणा माथि छ ।

White and Blue Collage Summer Instagram Post – 1

मुख्यमन्त्री यामलाल कँडेलसँग सुर्खेतको वीरेन्द्रनगर–४ भैरवस्थान र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ मा गरी दुई वटा घर रहेको खुलाएका छन् । सुर्खेतको घरलाई उनले पुर्ख्यौली भनेका छन् भने काठमाडौँको घर विगतको बैङ्क मौज्दात, आफ्नो, श्रीमती र छोरीहरूको पारिश्रमिकबाट किनेको उल्लेख गरेका छन् ।

काठमाडौँको घर कँडेलकी पत्नी गीता अधिकारीको नाममा छ । कँडेलको काठमाडौँको मूलपानीमा एउटा र सुर्खेतको वीरेन्द्रनगरमा ४ वटा घडेरी छ । सुर्खेतको घडेरीहरू पुर्ख्यौली भएको र काठमाडौँको ८ आना जग्गा पछि किनेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री कँडेल र उनकी श्रीमतीका नाममा विभिन्न ११ वटा बैङ्क तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात छ । उक्त रकमको स्रोत पारिश्रमिक, घर भाडा, बोनस र सापटी फिर्ताबाट उठेको उल्लेख गरेका छन् । कँडेलले र पत्नी गीताको नाममा ललितपुर र सुर्खेतका सहकारी, कलेज र विभिन्न वित्तीय संस्थाहरू सहित ८ ठाउँमा शेयर भएको सम्पत्ति विवरणमा देखाएका छन् ।

कँडेलले श्रीमतीको पेसाबारे पनि खुलाएका छैनन् । उनले राष्ट्रिय वाणिज्य बैङ्कबाट ४५ लाख ऋण लिएको विवरणमा उल्लेख गरेका छन् । मुख्यमन्त्री कँडेलसँग २ वटा मोबाइल, एउटा ट्याब्लेट, दुई वटा घडी र एउटा ल्यापटप रहेको उल्लेख गरेका छन् ।

प्रदेशका सामाजिक विकास मन्त्री हुन्, डोल्पाका वीरबहादुर शाही । ठेक्का पट्टाबाट राजनीतिमा आएका उनले आफ्नो सम्पत्तिको श्रोत नै ठेक्का पट्टा रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।

प्रदेशका सबैभन्दा धनी मन्त्री शाहीले आफूसँग चार वटा घर, सात कित्ता जग्गा रहेको खुलाएका छन् । डोल्पाको जगदुल्ला गाउँपालिका–५, माझगाउँमा दुई वटा घर छ । उक्त घरहरू पुर्ख्यौली रहेको उनले बताएका छन् । त्यस्तै सुर्खेतमा एउटा र नेपालगन्जमा एक एक वटा घर छन् ।

नेपालगन्जको घर १० लाख र सुर्खेतको घर ३५ लाखमा किनेको उनले उल्लेख गरेका छन् । यसको स्रोत ठेक्कापट्टाबाट भएको आम्दानी रहेको मन्त्री शाहीले उल्लेख गरेका छन् । शाहीकै नाममा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा गरी ७ कित्ता जग्गा छ । डोल्पामा ३ कित्ता, रुकुम पश्चिममा २ कित्ता, सुर्खेत र बाँकेमा १÷१ कित्ता रहेको उनले खुलाएका छन् ।

सुर्खेत र बाँकेको १ करोड ५० लाख रुपैयाँमा र रुकुम पश्चिमको ६५ लाख रुपैयाँमा किनेको मन्त्री शाहीले खुलाएका छन् । मन्त्री शाहीसँग ३२ तोला सुन, ५ किलो चाँदी र १० तोला मुगा भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

पुर्ख्यौली र ठेक्का पट्टाबाट सुनचाँदी प्राप्त भएको शाहीले स्रोत खुलाएका छन् । मन्त्री शाहीको एनआईसी बैङ्कको खातामा ५ लाख रकम मौज्दात छ । शाहीले आफू र आफ्नो कन्स्ट्रक्सन कम्पनीका लागि साढे ८ लाख ऋण लिएको पनि खुलाएका छन् ।

शाहीसँग २ वटा डोजर, एउटा ट्याक्टर, दुई वटा मोटरसाइकल र एउटा कार छ । यी सबै ठेक्कापट्टाबाटै खरिद गरिएको शाहीले उल्लेख गरेका छन् । डोजरको मूल्य २ करोड ३० लाख, ट्याक्टरको मूल्य ३० लाख उल्लेख गरेका छन् ।

१ करोड ५० लाख मूल्यको टोयटा हाइलक गाडी उनीसँग छ । यस्तै एउटा स्याउ फार्म, ४० घोडा, ६० खच्चर, २०० बाख्रासमेत रहेको मन्त्री शाहीले विवरणमा उल्लेख गरेका छन् । यो सबै पनि उनले ठेक्कापट्टाबाटै जोडेको बताएका छन् ।

भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले काठमाडौँमा घर, घडेरी, गाडी, सुन, चाँदी तथा बहुमूल्य रत्न हिरा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

ठाटीकाँध गाउँपालिका–१, दैलेख निवासी शाहले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–५, मा ४ आनाको दुई तले घर भएको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले उक्त घर ७५ लाख ऋण लिएर किनेको स्रोत उल्लेख गरेका छन् ।

शाहले आफ्नी श्रीमतीको नाममा भक्तपुर र दैलेखका तीन ठाउँमा घडेरी रहेको विवरणमा उल्लेख गरेका छन् । शाहकी श्रीमती लक्ष्मीदेवी शाहको नाममा भक्तपुरको सूर्य विनायक गाउँपालिका–६ मा ४८ लाख मूल्यको घडेरी रहेको विवरण छ । उक्त घडेरी पैतृक सम्पत्तिबाट खरिद गरिएको शाहले विवरणमा खुलाका छन् ।

यस्तै श्रीमतीकै नाममा दैलेखको ठाँटीकाँध गाउँपालिका–१ मा ५० रोपनी पुर्ख्यौली जग्गा भएको र दैलेखको आठबीस नगरपालिका–४ राकम दैलेखमा १० लाख मूल्य बराबरको १८५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको विवरणमा उल्लेख छ । उक्त घडेरी पारिश्रमिकबाट किनेको श्रोत उल्लेख गरेका छन् । शाह दम्पती दुवै राजनीतिमा मात्रै संलग्न छन् ।

सम्पत्ति विवरणमा उल्लेख भए अनुसार मन्त्री शाहसँग २५ तोला सुनका गहना, ४० तोला सुन, १५ लाख बराबरको १५ क्यारेट हिराको हार, १० लाख बराबरको २ थान रुबी सेट र १५ सय तोला चाँदी रहेको देखाएका छन् ।

यति धेरै चल सम्पत्ति उनले केही पैतृक सम्पत्ति छोरा र आफ्नो पारिश्रमिकबाट खरिद गरेको उल्लेख गरेका छन् । उनका छोरा अमेरिकामा बस्दै आएका छन् । यस्तै हिराको हार अस्ट्रेलियामा बस्ने छोरीले उपहार दिएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

मन्त्री शाहको नाममा दुई वटा बैकमा ६० हजार रकम पारिश्रमिकको मौज्दात रहेको छ । उनीसँग एउटा मोबाइल र एउटा ल्यापटप छ । यी सामानहरू पारिश्रमिकबाट खरिद गरेको उल्लेख गरेका छन् ।

यसअघि प्रदेश सरकारको अर्थमन्त्री समेत रहेका शाहले त्यो बेलाको सम्पाति विवरणमा आफूसँग १६ लाख मूल्य बराबरको टोपोरा प्राडो गाडी भएको र उक्त गाडी आफू ०५४ सालमा सांसद हुँदाताका नै खरिद गरेको सम्पत्ति विवरणमा खुलाएका थिए । तर यो पटक भने उक्त गाडीका बारेमा खुलाएका छैनन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले आफूसँग दुई वटा बुलेट बाइक रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । डोल्पाको काइके गाउँपालिका २ मा पुर्ख्यौली घर तथा जग्गा रहेको उल्लेख गरेका छन् ।

मन्त्री बुढाले काइकेमा ००.९४५, ००५५०, ००.२४५, ०.०६२०, ०.००४५, ०.३२० र ०.०८० वर्ग मिटर क्षेत्रफलमा घर तथा घरको चर्चेको जग्गा रहेको उल्लेख गरेका छन् । उक्त सम्पत्ति पुख्यौंली भएको बताएका छन् ।

उनले पत्नी कुमारी बुढाको नाममा डोल्पाकै ठुलो भेरी नगरपालिका–३, को दुई ठाउँमा जग्गा भएको विवरणमा उल्लेख गरेका छन् । एक ठाउँमा ०००.४२५ वर्ग मिटर क्षेत्रफल र अर्को ०००.२० वर्ग मिटर क्षेत्रफलमा जमिन रहेको उल्लेख छ । उक्त सम्पत्ति व्यापारबाट जोडेको उल्लेख भए पनि कस्तो व्यापार भन्ने उल्लेख छैन ।

बुढासँग २० तोला सुन, ६० तोला चाँदी रहेको उल्लेख गरेका छन् । उक्त सम्पत्ति पनि व्यापारबाट नै जोडेको उल्लेख छ । यस्तै पत्नीकै नाममा रहेको नेपाल बैङ्कमा २० लाख रकम मौज्दात रहेको उल्लेख गरेका छन् । उक्त रकम पनि व्यापारबाट नै जोडेको उल्लेख छ । तर मन्त्री बुढाले आफ्नो नाममा भने बैङ्क खाता नै नभएको उल्लेख गरेका छन् ।

मन्त्री बुढासँग १३ लाख मुल्य बराबरको दुई वटा बुलेट बाइक रहेका छन् । ती बाइकहरू पनि व्यापारबाट नै जोडेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यस्तै उनीसँग चार वटा घोडा, ५ गाई, १० भेडा बाख्रा रहेको छन् । ती सबै पुर्ख्यौली सम्पत्ति रहेको बुढाले उल्लेख गरेका छन् । अन्य सम्पत्तिमा १० केजी काँस र २०० केजी तामा रहेको पनि बुढाको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रदेशका अर्थमन्त्री महेन्द्र केसीसँग भने आफ्नो बस्ने घर समेत छैन । मुख्यमन्त्री कँडेल नेतृत्वको कर्णाली सरकारमा केसी सबैभन्दा गरिब मन्त्री हुन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, निवासी केसीको गाउँमा २७५२ र ८० वर्ग मिटरको दुई ठाउँमा जग्गा मात्रै छ ।

उनको कपिलवस्तुको बाँणगंगाको तीन ठाउँमा गरी ५ कट्ठा ९ धुर जग्गा छ । बाँफिकोटको पुर्ख्यौली हो भने कपिलवस्तुको स्रोत खुलाएका छैनन् । उनी र उनको परिवारको नाममा दुई वटा बैङ्कमा ६ लाख एक हजार ३३५ रुपैयाँ मौज्दात छ ।

पारिश्रमिक र श्रीमतीको द्वन्द्व पीडितलाई सरकारले दिने सुविधाबाट जम्मा भएको उल्लेख छ । त्यस बाहेक उनीसँग सुन चाँदी केही पनि छैन ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्री रणसिं परियारसँग ७० हजार नगद, ३० वटा बाख्रा र एउटा खुद्रा पसल छ । हुम्ला अदानचुली–१, निवासी परियारसँगै खासै सम्पत्ति छैन । गाउँमा पुर्ख्यौली घर छ । सोही ठाउँमा ६० रोपनी पुर्ख्यौली पाखो बारी (जमिन) भएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै उनीसँग ३ तोला सुन र २० तोला चाँदी रहेको उनले विवरणमा उल्लेख गरेका छन् । नगद तलब भत्ता र बाँकी पुर्ख्यौली सम्पत्ति श्रोत भएको खुलाएका छन् । परियारसँग ४ वटा गाई, ७ गोरु र ३० बाख्रा छन् । सबै पुर्ख्यौली भएको उनले उल्लेख गरेका छन् । ३ लाख ६० हजार मूल्यको कर्णाली ट्रेडर्स नामको खुद्रा पसल रहेको पनि परियारले उल्लेख गरेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले आफ्नो खातामा १९ लाख भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । कालिकोटको तिल गुफा नगरपालिका–७, निवासी रावतको गाउँमा एउटा घर छ । तर स्रोत भने खुलाइएको छैन ।

यस्तै तिल गुफामै पुर्ख्यौली ७ वटा ठाउँमा जग्गा भएको विवरणमा उल्लेख गरेका छन् । उनीसँग नगद, सुन, चाँदी केही पनि छैन । राष्ट्रिय वाणिज्य बैङ्क र एभरेष्ट बैक गरी दुई वटा बैङ्कमा १९ लाख ५० हजार बराबर रकम रहेको उल्लेख छ ।

भौतिक पूर्वाधार राज्यमन्त्री गमता विकले आफूसँग बस्ने घर नै नभएको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । आठबिस नगरपालिका–१, दैलेख निवासी विकले घर, जमिन केही नभएको विवरण पेस गरेकी छन् ।

यद्यपि उनको गाउँमा एउटा पुर्ख्यौली कच्ची घर भएपनि आफ्नो नाममा नभएकाले नराखिएको बताइन् । उनीसँग चार तोला सुन, १० तोला चाँदी छ । जो कृषि खेतीबाट जोडेको र केही पैतृक सम्पत्ति भएको उनले श्रोत खुलाएकी छिन् ।

उनको बंैक खातामा ५ लाख रकम जम्मा भएको र उक्त रकम सांसदको तलब भत्ताबाट जम्मा गरिएको उल्लेख छ । यस्तै तीन लाख ऋण रहेको र त्यसमा एक लाख तिरिसकिएको विवरणमा उल्लेख छ ।

राज्यमन्त्री विकसँग २० हजारको मोबाइल, ५ हजारको घडी र ३० हजारको टिभी रहेको विवरणमा उल्लेख छ । उक्त सम्पत्ति श्रोत तलब भत्ता बाट प्राप्त गरिएको बताइएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया