तीन महिना अघि मात्रै मध्यपश्चिम विश्वविद्यालयको नेतृत्व सम्हालेका छन्, प्रा. डा. ध्रुवकुमार गौतमले । गत वैशाख १८ गते प्राज्ञिक प्रतिस्पर्धाका आधारमा उपकुलपतिमा नियुक्त भएका गौतम यसअघि त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका निर्देशक थिए । रणनीतिक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका उनी व्यवस्थापकीय र प्रशासनिक क्षेत्रमा दखल राख्छन् ।
तीनै गौतमसँग आगामी प्राथमिकता, स्वविय निर्वाचन, विश्वविद्यालयको प्राज्ञिक विकास र समसामयिक विषयमा पत्रकार यज्ञ खत्रीले गरेको कुराकानी :
१. मध्यपश्चिम विश्वविद्यालयको समग्र विकासका लागि तपाईंको योजना के छ ?
विश्वविद्यालयको बृहत्तर विकास र स्तरीकरणका लागि विविध क्षेत्रमा काम गर्नुपर्ने छ । मैले हासिल गरेको प्राज्ञिक, प्रशासनिक ज्ञान र व्यवस्थापन अनुभवलाई कार्यान्वयन गर्छु ।
शिक्षकहरूको क्षमता अभिवृद्धि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य, नयाँ कार्यक्रमहरुको वृद्धि र मध्यपश्चिम विश्वविद्यालयलाई विश्वस्तरमा स्तरीयता कायम गर्नु नै मेरो प्रमुख प्राथमिकता हुनेछ ।
हामीले समग्रमा विश्वविद्यालयको चार वर्षे नीति र रणनीति नै बनाएर अघि बढिरहेका छौं । सबैलाई समेटेर काम गर्दा प्रतिफल दिन्छ भन्ने अनुभव छ । विदेशी विश्वविद्यालयहरू कसरी सञ्चालन हुन्छन् भन्ने पनि धेरथोर बुझेको छु ।
अर्को कुरा, विश्वविद्यालयको जीवन्तता भनेको यहाँका शिक्षक र कर्मचारी हुन् । ती शिक्षकहरू क्षमतावान्, प्रतिस्पर्धी, प्रविधिमैत्री र समय सुहाउँदो विज्ञ हुनुपर्छ । त्यसका लागि भइरहेको जनशक्तिलाई राम्रो भन्दा राम्रो अपडेटेड ज्ञान र क्षमता अभिवृद्धिका विशेष कार्यक्रमहरू सञ्चालन गर्छौं ।
२. तपाईंले नेतृत्व सम्हालेको झण्डै तीन महिना भयो । यो अवधिमा विश्वविद्यालयको अवस्था कस्तो पाउनुभयो । यहाँको सम्भावना, अवसर, चुनौतीहरू के रहेछन् ?
विश्वविद्यालयमा प्रचुर सम्भावनाहरु छन् । विभागहरु ठिकठाक छन् । भौतिक पूर्वाधारको क्षेत्रमा अहिले भइरहेका संरचनाहरू गर्व गर्न लायक छन् ।
नयाँ कार्यक्रमहरू सञ्चालन गर्यौँ भने स्वाभाविक रूपमा संरचना थप्दै जानुपर्छ । होइन भने अहिले भएकै संरचनाको जगेर्ना गर्दै अत्यावश्यक संरचना निर्माण गरेर अगाडि बढ्नुपर्ने देखिन्छ । बनिरहेका संरचनालाई निर्माण सम्पन्न गर्नुपर्ने छ ।
हामीसँग अहिले पनि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने केन्द्र छैन । प्रदेशकै गर्व गर्न लायक शैक्षिक बहस गर्न मिल्ने संरचनाहरू बनाउनु पर्ने छ । क्रमिक रूपमा बन्दै जान्छन् ।
हाम्रो प्रमुख चुनौती, राजनीति हो । राजनीति मात्रै कम गरिदिने हो भने फ्याकल्टीमा धेरै ठूलो दोष लगाउनु पर्ने ठाउँ छैन । एकाध त विश्वका जुनसुकै विश्वविद्यालयमा हुने गर्दछ ।
हामीसँग प्रतिस्पर्धी र क्षमतावान् जनशक्ति हुनुहुन्छ । उहाँहरू सबैमा विश्वविद्यालय निर्माणमा लाग्ने अठोट र प्रतिबद्धताको कमी छ । विश्वविद्यालय बनाउने अठोट र प्रतिबद्धता जागृत गर्ने हो भने मात्रै यो विश्वविद्यालयले नयाँ उचाइ पाउने छ । नयाँ पहिचान बनाउने छ ।
३. तपाईंले विश्वविद्यालय समुदायमा केन्द्रित हुनुपर्छ भन्नुहुन्छ । कर्णाली सुहाउँदो शिक्षा कस्तो हुनुपर्छ ? विश्वविद्यालयले आगामी दिनमा समुदायमा आधारित कार्यक्रमहरु सञ्चालन गर्छ ?
विश्वविद्यालय भनेकै विश्वका ज्ञान यहाँ ल्याउने र यहाँको ज्ञान विश्वमा लैजाने हो । हामी कर्णालीको स्थानीय मात्र नभई विश्वको ज्ञान यहाँ प्रदान गर्ने र यहाँका केही विशिष्ट ज्ञानहरूलाई विश्वमा लैजान चाहान्छौं । अहिले हामीसँग, इन्जिनियरिङ, एग्रिकल्चर एन्ड फरेष्ट्री, ल, म्यानेजमेन्ट, ह्युमानिटिज, एजुकेसन लगायतका कार्यक्रमहरु छन् ।
कर्णालीमा अन्य विभिन्न विषयका कार्यक्रम सञ्चालन गर्न सकिने प्रचुर सम्भावनाहरू छन् । कर्णालीमा जडीबुटी र आयुर्वेदको सबैभन्दा बढी सम्भावना छ । त्यसका लागि विशिष्ट सम्भावना रहेका क्षेत्रहरुः वन विज्ञान, अर्गानिक उत्पादन, जडीबुटी र लोक संस्कृति रहेका छन् ।
त्यस्तै यहाँको आर्थिक उन्नयनका लागि ट्रेकिङ कोर्स, पर्यावरण, हिमालयन इकोलोजी, माउन्टेरिङ्ग, ट्राभल एन्ड टुरिजम लगायतका विभिन्न क्षेत्रहरू पनि छन् । त्यसका लागि यहाँको राज्य संयन्त्र र सरोकारवाहरुसँग छलफल गरेर नयाँ कार्यक्रमहरु पनि सञ्चालन गर्न सक्छौं । श्रोतको सुनिश्चितता गरेर मात्रै अगाडि बढ्छौं ।
४. विश्वका विश्वविद्यालयको प्राज्ञिक पहिचानको ओजले हरेकलाई आकर्षित गर्छ । मध्यपश्चिम विश्वविद्यालयको प्राज्ञिक पहिचान के हो ? यसलाई बदल्ने तपाईँको योजना के हो ?
मध्यपश्चिम विश्वविद्यालय प्रतिस्पर्धी बन्नका लागि हाम्रो अनुसन्धानको तह कस्तो छ । हामीले कन्फ्रेन्स, सेमिनार र वर्कसप कति गर्यौं ? हाम्रा विद्यार्थीहरूलाई कति स्किल प्रोभाइट गर्यौं ? भन्ने कुराले अर्थ राख्छ । त्यसका लागि अध्ययन अनुसन्धान मात्रै हैन, स्थानीयदेखि विश्व समुदायसँग सहकार्य आवश्यक छ ।
ती सबै अभावलाई पूरा गर्दै, चुनौतिहरुलाई चिर्दै, हामी विश्वविद्यालयलाई विश्वप्रतिस्पर्धी बनाउन प्रक्रिया थाल्छौं । त्यसका लागि पहिला र्याङ्किङकोे प्रक्रियामा जान्छौँ । त्यसैगरी क्यूए प्रक्रियामा जान्छौँ र नेपालको पहिलो क्यूए विश्वविद्यालय बन्ने प्रक्रिया थाल्छौं ।
विद्यार्थीलाई सिपयुक्त र शान्त वातावरणमा पठनपाठन गर्ने अवसर निर्माण गर्छौं । त्यसले गर्दा बजारमा, समाजमा विश्वविद्यालयको पहिचान देखिँदै जानेछ । हामी विश्वप्रतिस्पर्धी विश्वविद्यालयको अभियानमा छौँ । त्यसका केही महत्वपूर्ण इन्डिकेटरहरु पूरा गर्नेतर्फ केन्द्रित हुन्छौं ।
५. विश्वविद्यालयको प्रशासनिक र प्राज्ञिक स्वतन्त्रतामा सरकार र दलहरुबाट हुने हस्तेक्षपले कस्तो प्रभाव पार्छ ?
स्वाभाविक रूपमा असर त हुन्छ नै । तर त्यो असरलाई मिनीमाइज गर्दै अगाडि बढ्ने हो । त्यस्तो ठूलो प्रत्यक्ष आएको दबाब वा सिफारिसहरू इन्कार गर्नुपर्छ विश्वविद्यालयले । यो कुरामा हामी स्पष्ट छौँ ।
विश्वविद्यालय प्राज्ञिक रूपले स्वायत्त संस्था हो । यो आफ्नै नीति नियमले बाँधिएको छ । ती नीति, नियम र प्रक्रियाहरूबाट मात्रै विश्वविद्यालय अगाडि बढ्छ । राजनीतिक हस्तक्षेपले काम गर्दैन भन्ने कुरा उहाँहरूले पनि बुझ्नु भएको छ । नबुझे बुझाउनु पर्छ । विधि र पद्धति विना कुनै पनि काम अगाडि बढ्दैन भन्ने कुरा हामीले आश्वस्त पार्नुपर्छ । पार्नुको विकल्प पनि छैन ।
६. विश्वविद्यालयमा विद्यार्थी अध्ययनमा भन्दा बढी आन्दोलनमा निस्किन्छन् । प्राध्यापक अनुसन्धानमा भन्दा बढी पद प्राप्तिका लागि नेता व्यवस्थापनमा सक्रिय हुन्छन् । यस्तो परिपाटीलाई कसरी चिर्नुहुन्छ ?
यो परिपाटीलाई नचिरीकन कहिले पनि विश्वविद्यालय अगाडि बढ्न सक्दैन । त्यसका लागि हामी स्थानीय, नागरिक अगुवा, राजनीतिक दलहरु लगायतका विभिन्न क्षेत्रसँग सहकार्य र समन्वय गरेर स्पष्ट पार्छौं कि, विश्वविद्यालयलाई राजनीति गर्ने थलो बनाउने हो भने अन्ततः यो विश्वविद्यालय खण्डहर भएर जान्छ ।
विश्वविद्यालयलाई राजनीति गर्ने थलो बनाउँदा विद्यार्थीको संख्या बर्सेनि घट्दो छ । त्यसको फाइदा न त समाजले लिन्छ, नत राजनीतिज्ञले लिन्छन् । नत प्रदेशले पाउँछ, नत समग्र देशले नै त्यसको लाभ लिन्छ ।
तसर्थ हामीले राजनीतिमुक्त विश्वविद्यालय बनाउनु पर्छ । त्यसका लागि सबै अग्रसर हौँ । सबै सकारात्मक सोचका साथ अगाडि बढौँ । सहकार्य र सबैको सामूहिक अठोटबाट हामी हिँड्न आवश्यक छ । त्यसरी नै अपिल गर्छौं सबैलाई ।
७. तर तपाईँले भनेजस्तो सबैमा विश्वविद्यालय बनाउने सामूहिक भावना र अठोट छैन । त्यसैले त समस्या भइरहेको छ नि ?
त्यसैलाई नै परिवर्तन गर्ने हो । त्यसरी सामूहिक नहिँडिरहेको अवस्थामा हामी सबै सामूहिक रूपमा हिँड्ने भन्ने प्रतिबद्धता कायम नगरिकन सकारात्मक परिवर्तन आउन सक्दैन । मैले मेरो तर्फबाट त्यो प्रतिबद्धता गरेको छु ।
राजनीतिक शक्ति र विद्यार्थी, प्राध्यापक सङ्गठनहरूले पनि यसलाई बुझ्नु भएको छ । अब समय परिवर्तनको बेला हो । अव हामी सबै परिवर्तन उन्मुख हुनुपर्छ । हाम्रो विश्वविद्यालयलाई विश्वको प्रतिस्पर्धी विश्वविद्यालय बनाउनु पर्छ भन्ने अभियानमा सबै जुट्ने समय हो ।
८. विद्यार्थी र प्राध्यापकहरूका आन्दोलनले मध्यपश्चिम विश्वविद्यालयमा अधिकांश समय ताला लाग्छ । अधिकांश समय निवासबाटै विश्वविद्यालय चलाएका उदाहरण छन् । तपाईंको कार्यकालमा त्यो अवस्था आउन नदिन के गर्नुहुन्छ ?
सामूहिक जिम्मेवारी बोध प्रमुख कुरा हो । विश्वविद्यालय बनाउने अभियान हो । फेरि पनि भन्छु, यो विश्वविद्यालयलाई खण्डहर बनाउने कि जीवन्त बनाउने ? त्यो यहाँका राजनीतिक दलहरूकै जिम्मेवारी हो । एउटा उपकुलपति आएर, निरंकुश भएर यो गर्छु र त्यो गर्छु भनेर हुँदैन ।
यो विश्वविद्यालय बनाउने अभियान कसको हो ? सरोकारवाला को हो ? यहाँको राजनीतिक शक्तिहरू, यहाँका विद्यार्थी संगठनहरु, कर्मचारीहरू, शिक्षकहरू, राजनीतिक पार्टीहरू, नागरिक समाज, लब्धप्रतिष्ठ व्यक्तिहरू उहाँहरू सबैको जिम्मेवारी हो ।
विद्यार्थी र प्राध्यापकहरूलाई जिम्मेवार बनाउनका लागि ऊ कोसँग जोडिएको छ । तीनको स्टेक होल्डरले भन्दिनु पर्यो । त्यो राजनीतिक शक्तिहरूले भन्दिनु पर्यो कि तिमीले ताला लगाए त्यो विश्वविद्यालय कहाँ पुग्छ ? मेरो राजनीति गर्ने थलो कहाँ पुग्छ, भनेर नेताहरूले भन्नुपर्छ ।
९. यो क्षेत्रको शैक्षिक उन्नयनका लागि यहाँका नागरिकले चन्दा उठाएर यो विश्वविद्यालय स्थापना गरेका हुन् । तर नागरिकको चाहना एकातिर, पदाधिकारीहरुको रबैया अर्कोतिर जस्तो देखिन्छ । उहाँहरु सबैलाई एक ठाउँमा ल्याएर सामूहिक विकासमा लाग्न प्रेरित गर्नुहुन्छ ?
स्वाभाविक रूपमा लाग्छु नै । म आइसकेपछि सबैमा एक खालको आशा जागेको मैले पाएको छु । मेरो स्वागतमा पनि सबै राजनीतिक दल, संघ सगठनहरू, विद्यार्थी, प्राध्यापक सबैको साझा ब्यानरमा म उपस्थिति भएको हुँ । त्यसपछिका हरेक कार्यक्रम हेर्नुभयो भने थाहा हुन्छ, हामीबीच कुनै विभेद छैन । हामी एउटा पवित्र उद्देश्य विश्वविद्यालय बनाउनका लागि लागिपरेका छांै ।
यो पवित्र उद्देश्य प्राप्तिका लागि कुनै राजनीतिक पार्टीहरूको विभेद र विमति रहन्छ जस्तो मलाई लाग्दैन । हामी सबैको जिम्मेवारी विश्वविद्यालय राम्रो र जीवन्त बनाउने हो । यो उद्देश्य प्राप्तिमा सबै लाग्नु हुनेछ । त्यो बातावरण बनाउँछौं ।
१०. मध्यपश्चिम विश्वविद्यालयको पारदर्शिता र जवाफदेहीताका विषयमा विगतमा अलि बढी नै प्रश्न उठ्ने गरेको थियो । पारदर्शी विश्वविद्यालय बनाउने तपाईँको अवधारणा के हो ?
विश्वविद्यालय उसको नीति नियम, ऐन, विनियम र कार्यविधिहरूले सञ्चालन गर्छ । यस्ता ऐन, नियम, विधि र कार्यविधि अनुसार चले/नचलेको कुरा आन्तरिक लेखा, महालेखा परीक्षणले त्यसको मूल्यांकन गर्छ ।
स्पष्टरुपमा विधि र पद्धति अनुसार विश्वविद्यालय चल्दा स्वाभाविक रूपमा पारदर्शिता स्पष्ट रूपमा देखिन जान्छ । समाजले त्यो बुझ्छ । पारदर्शिताको सावालमा कुनै पनि कम्प्रोमाइज हुँदैन ।
११. विगतका उपकुलपतिहरू निजी कलेजहरूलाई सम्बन्धन दिने विषयमा धेरै आलोचित हुनुभयो । विवाद बढ्यो, आन्दोलन भयो । तपाईँको पालामा निजी कलेजहरूले सम्बन्धन पाउँछन् कि पाउँदैनन् ?
सम्बन्धनको पहिलो सर्त हाम्रो विश्वविद्यालयमा विद्यार्थीको माग कति हो ? संख्या कति हो ? अहिलेको संख्या, आवेदकहरूको संख्या र भोलिका दिनमा आवेदन दिएर पनि पढ्न नपाएका विद्यार्थीको संख्या कति हो ? त्यो सबैको मूल्यांकन गर्छौं । र, विद्यार्थीले पढ्न नपाउने स्थिति आयो भने सम्बन्धन दिनुपर्ने हुन्छ । यो विश्वविद्यालयको कर्तव्य पनि हो ।
विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीको संख्याको आधारमा, पढ्न चाहने विषयका आधारमा भोलिका दिनमा गर्नुपर्ने निर्णयको कुरा हो । यो विषयमा विश्वविद्यालय स्वायत्त छ ।
तर जथाभाबी संख्या बढाएर, विश्वविद्यालयका पाँच सय, हजार क्याम्पस छन् भन्ने तर त्यहाँ विद्यार्थीको संख्या नहुने अवस्था आउन दिँदैनौँ । पछिल्लो समय देशमै विद्यार्थीको संख्या बर्सेनि घट्दो छ । हामी यो विषयमा एकदमै सचेत छौं ।
१२. मध्यपश्चिम विश्वविद्यालयले १७ भन्दा बढी देशका विभिन्न विश्वविद्यालयसँग विद्यार्थी आदान–प्रदान लगायतका विषयमा एमओयू गरेको छ । तर कार्यान्वयन भने शून्य जस्तै देखिन्छ । तपाईँको कार्यकालमा ती एमओयू कार्यान्वयनमा आउँछन् ?
कतिपय कामहरू सुरु भइसकेका छन् । हाम्रा विद्यार्थीहरू कोरिया जाने र कोरियाका प्रोफेसरहरू यहाँ आएर आफ्ना अनुभव साट्ने काम भइरहेको छ । नोराड, नर्वेजियनहरुसँग मिलेर फेलो एफिलेसन लिएर काम गरिरहेका छौँ ।
कतिपय विश्वविद्यालयहरूसँग हामी एमओयू गर्ने अवस्थामा छौँ । कतिपय विश्वविद्यालयमा एमओयू गर्दा दुईतर्फी कुरा हुन्छ, उनीहरूको विद्यार्थी हाम्रोमा पठाउने र हाम्रा विद्यार्थी उनीहरुकोमा पठाउने हुन्छ । उनीहरूको शिक्षक ल्याउने, हाम्रा शिक्षक पठाउने कुरा हुन्छ । उनीहरूले नपठाएसम्म हामी यहाँ स्थान दिन सक्दैनौं, हामीले यहाँबाट पठाउँदा उनीहरूले माग गर्नुपर्छ । यसरी प्रक्रिया अगाडि बढ्छ ।
१३. स्ववियु निर्वाचन तोकिएकै मितिमा हुन्छ ?
अवश्य हुन्छ । मिति तोकिसकेका छौं । निर्वाचन गर्ने भनेर हामीले आह्वान गरेका छौं । सम्पूर्ण विद्यार्थी र विद्यार्थी संगठनहरुको माग आयो । सम्मानित अदालतले हामीलाई निर्णय दियो । हामीले निर्वाचन गर्ने आधिकारिक निर्णय गरेर पठाइसकेका छौँ । अब सम्पूर्ण जिम्मेवारी विद्यार्थीकै हातमा हुन्छ । उनीहरूले स्वाभाविक रूपमा, शान्त रूपमा अगाडि लिएर गए भने कहीँ बाधा अवरोध भन्ने नै छैन ।
१४. निर्वाचनको मिति मात्रै तोकिएको छ । त्यो भन्दा अगाडि प्रक्रिया बढ्न सकेको छैन । उपकुलपति नै निर्वाचन गराउने कुरामा सकारात्मक हुनुहुन्न भन्ने विभिन्न विद्यार्थी संगठनहरूले आरोप लगाइरहेका छन् नि ?
यो त गलत कुरा भयो । मिति मात्रै तोकेर कसरी निर्वाचन हुन्छ ? यो कम्प्लिट जानकारी नभएका कुरा मात्र हुन् । नभए निर्वाचन प्रक्रिया अगाडि बढीरहेको छ । सिधा कुरा के हो भने, विश्वविद्यालयले निर्वाचन रोक्दैन । विश्वविद्यालय बाहेक निर्वाचनमा जोडिने, होमिने विद्यार्थी संगठनहरू हुन् । उनीहरूको जिम्मा मैले लिन सक्दिनँ । कुन संगठनले के भन्छन् त्यो मलाई जानकारी पनि हुँदैन । हामीले नीतिगत निर्णय गरेका छौँ । स्ववियु निर्वाचन रोकिँदैन ।
१५. अन्तमा केही भन्न चाहनुहुन्छ ?
फेरि पनि विद्यार्थी, कर्मचारी, शिक्षक, सरोकारवाला, स्थानीय र राजनीतिज्ञहरू र सम्पूर्ण कर्णालीबासीहरुलाई आह्वान गर्न चाहन्छु, विश्वविद्यालय हामी सबैको साझा संस्था हो । यसलाई जीवन्त बनाउने काममा लागौँ । हाम्रा केही मनमुटाव हुन सक्छन् ।
त्यसलाई पनि विश्वविद्यालय भन्दा परै राखौँ । विश्वविद्यालयको नीति, नियम, ऐन प्रक्रियाका आधारमा अगाडि बढौँ । त्यसरी अगाडि बढे विश्वविद्यालय पनि अगाडि बढ्छ । विश्वविद्यालय बनाउने अभियानमा सबै होस्टेमा हैँसे गरेर अगाडि बढौँ ।
(हामीले याे अन्तर्वाता अनलाइनखबरबाट साभार गरेका हाैं ।)
राराखबर । २०८१, ७ भाद्र शुक्रबार