यसपालि दशैँतिहारमा राष्ट्र ब्याङ्कले नयाँ नोटका सट्टा ‘सुकिला’ नोट दिन लाग्नुका कारण

कस्ता नाेटलाई सुकिला भन्ने

नेपाल राष्ट्र ब्याङ्कले यसपालि दशैँ र तिहारका लागि नयाँ नोट वितरण नगर्ने बताएपछि त्यसबारे विभिन्न तर्कवितर्क सुरु भएको छ। राष्ट्र ब्याङ्कका सहायक सूचना अधिकारी डा. भागवत्‌ आचार्यका अनुसार यसपालि नयाँ नोटको सट्टा ‘सुकिला’ नोट उपलब्ध गराउने निर्णय भएको छ।

केन्द्रीय ब्याङ्कको निर्णयप्रति खास गरी सामाजिक सञ्जालमा कतिपयले असन्तुष्टि जनाएका छन् भने कतिपयले सकारात्मक कदम भनेका छन्। तर एक भूतपूर्व गभर्नरले राष्ट्र ब्याङ्कको पछिल्लो निर्णय “अग्रगामी” भएको  प्रतिक्रिया दिएका छन्।

नयाँको सट्टा सुकिला किन ?

नयाँ नोट

नेपालमा कम दरका नोटहरूको आयु पनि कम हुने गरेको अधिकारीहरू बताउँछन् ।

विगतमा केन्द्रीय ब्याङ्कले प्रमुख चाडबाडका बेला सर्वसाधारणलाई अर्बौँ रुपैयाँबराबरका नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको थियो। राष्ट्र ब्याङ्कस्थित अधिकारीहरूले विगतदेखि चल्दै आएको अभ्यासमा परिमार्जन गरिएको बताएका छन्।

आचार्यका अनुसार आसन्न दशैँ र तिहारका लागि नयाँ नोट वितरण नगर्नुका पछाडि मुख्यतया दुइटा कारण रहेका छन् :

१. डिजिटल भुक्तानीलाई प्रोत्साहन

डिजिटल भुक्तानी

पछिल्ला वर्षका तथ्याङ्कहरूले पनि डिजिटल प्रविधिमार्फत्‌ देशमा हुने आर्थिक गतिविधि बढ्दै गएको अधिकारीहरू बताउँछन् ।

केही वर्षयता सरकारले डिजिटल प्रविधिमार्फत् हुने आर्थिक कारोबारलाई क्रमिक रूपमा बढाउँदै लैजाने बताउँदै आएको छ। सरकारका नीति तथा कार्यक्रम एवं वार्षिक बजेटमा पनि त्यसमा जोड दिइँदै आएको छ।

“डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पनि यो निर्णय लिइएको हो,” नयाँ नोट नदिने एउटा कारणबारे सहायक सूचना अधिकारी आचार्यले बीबीसी न्यूज नेपालीसँग भने।

“नेपालमा अहिले सानातिना नोटहरू कारोबारमा प्रयोग नभएर केवल फिर्ता दिनका लागि प्रयोग हुन थालेको भन्ने एउटा सर्वेक्षणको निष्कर्षका आधारमा पनि हामीले यसपालि नयाँ नोट नदिने निर्णय गरेको अवस्था हो,” उनले अगाडि थपे। राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार पछिल्ला वर्षका तथ्याङ्कहरूले पनि डिजिटल प्रविधिमार्फत्‌ देशमा हुने आर्थिक गतिविधि बढ्दै गएको देखाएका छन्।

२. व्यवस्थापकीय खर्च कटौती

नयाँ नोटको लाइन

विगतमा केन्द्रीय ब्याङ्कले प्रमुख चाडबाडका बेला सर्वसाधारणलाई अर्बौँ रुपैयाँबराबरका नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको थियो ।

नेपाली नोटहरूको स्वदेशमा नभई विदेशमा छपाइ हुँदै आएको छ र त्यसको लामो प्रक्रिया हुने गरेको छ। नोट छपाइ र त्यसपछि तिनको व्यवस्थापनमा धेरै खर्च हुने गरेको अधिकारीहरू बताउँछन्। अझ साना नोटको मूल्यभन्दा तिनको छपाइमै झन् धेरै खर्च लाग्ने गरेको उनीहरू बताउँछन्। त्यही भएर केही वर्षयता राष्ट्र ब्याङ्कले एक र दुई रुपैयाँको नोटको छपाइ नै बन्द गरिसकेको छ।

“नोटको छपाइ खर्चदेखि व्यवस्थापन खर्च धेरै खर्चिलो हुने गरेको स्थिति भएको हुनाले त्यसलाई न्यूनीकरण गर्नका निम्ति नयाँ नोट वितरणलाई स्थगित गरी सुकिला नोट दिने व्यवस्था गरिएको हो,” अर्को कारणबारे आचार्यले भने।

सुकिलो भनेको कस्तो ?

आचार्यका अनुसार छापिएर आएको तर बजारमा नगएको नोटलाई राष्ट्र ब्याङ्कले नयाँ नोट भन्ने गर्छ। तर सुकिला नोट भनेको बजारमा गएर प्रयोगमा पनि आइसकेको हुन्छ।

नयाँ नोट

प्रयोग गर्न योग्य नोटलाई राष्ट्र ब्याङ्कले सुकिला नोट भन्ने गरेको छ ।

“चलनचल्तीमा आइसकेका तर प्रयोगयोग्य नोटहरूलाई चाहिँ सुकिला नोट भन्ने गरिएको छ,” उनले भने। प्रयोग गर्न योग्य नरहेपछि त्यस्ता नोटलाई सङ्कलन गरी राष्ट्र ब्याङ्कले जलाएर नष्ट गर्ने गरेको छ। अधिकारीहरूका अनुसार राष्ट्र ब्याङ्कले काम नलाग्ने अर्बौँ रुपैयाँबराबरका नोटहरू बर्सेनि प्रचलनबाट खिच्ने गरेको छ। उनीहरूका अनुसार नेपाली नोटहरूको आयु सामान्यतया दुईथरीको हुन्छ।

पाँच सय र एक हजार रुपैयाँका दरको नोटको आयु सरदर साढे तीन वर्ष हाराहारीको हुन्छ भने पाँचदेखि सय रुपैयाँ दरका नोटको आयु सरदर साढे दुई वर्षको हुन्छ।

सुकिला नोट कति पाइने छ ?

नेपाली नोट

मुख्य चाडबाडका बेला आवश्यक पर्नेभन्दा बढी नै सुकिला नोट कोषहरूमा रहेको अधिकारीहरूले बताएका छन्। नेपाल राष्ट्र ब्याङ्क, नेपाल ब्याङ्क र राष्ट्रिय वाणिज्य ब्याङ्क गरी देशभरि ८० भन्दा बढी नोटकोषहरू रहेका छन्। “ती सबैको गर्दा दशैँ, तिहारमा हामीलाई जति नोट चाहिने हो त्योभन्दा बढी नोट छ,” आचार्यले भने।

सुकिला नोट लिनका लागि कुनै सीमा र समय नतोकिएको पनि उनले बताए। “विगतमा नोट लिनका लागि भनेर समय तोकिन्थ्यो। तर सुकिला नोट आफूलाई चाहिएको बेला लिन सकिने छ।”

पूर्वगभर्नर के भन्छन् ?
भूतपूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार नयाँ नोटले दशैँ र तिहारमा मानिसहरूको खुसीमा अर्को खुसी थप्ने गरेको थियो। तर कतिपयले राष्ट्र ब्याङ्कको कदमप्रति असन्तुष्टि जनाइरहँदा नयाँ नोट नदिने केन्द्रीय ब्याङ्कको निर्णयलाई चाहिँ अन्यथा लिन नहुने उनको सुझाव छ।

नोट

“सहरी क्षेत्रमा डिजिटल माध्यमबाट धेरै कारोबार भइरहेकाले खासै फरक नपर्ला। ग्रामीण क्षेत्रमा चाहिँ एक प्रकारको उपहारकै रूपमा अपेक्षा गरेको परिस्थिति हुन्छ,” क्षेत्रीले बीबीसी न्यूज नेपालीसँग भने। “त्यति मात्रै फरक हो। नभए त त्यसरी वितरण गरिनु र धेरै छिटो नै नोटहरू काम नलाग्ने भएर जाने भएकोले नयाँ नोट छपाइमा हुने लागत घटाउन मद्दत पुग्छ।”

क्षेत्रीका अनुसार लागत बढ्दै गएको अवस्था भए पनि [राजनीतिक] दबावका कारण नयाँ नोट विवरण गर्ने क्रम रोक्न कठिनाइ भइरहेको अवस्था थियो। “त्यसो भएको हुनाले यो कदममार्फत्‌ यसलाई निरुत्साहित गर्ने दृष्टिकोणले अगाडि बढ्ने जस्तो देखिन्छ। डिजिटल माध्यमबाट पनि पुरस्कार वा उपहार दिने चलन आइरहेकोले यसले धेरै नकारात्मक प्रभाव पार्छ भन्ने मलाई पनि लाग्दैन,” उनले भने।

विगतका वर्षहरूमा दशैँ र तिहार लक्षित नयाँ नोट वितरण गर्नुअघि राष्ट्र ब्याङ्कले नोटहरू फोहोर नपार्न आग्रह गर्दै आएको अवस्था पनि थियो। अर्कोतर्फ राष्ट्र ब्याङ्ककै अध्ययनअनुसार डिजिटल भुक्तानीमा राम्रो प्रगति भइरहेको पृष्ठभूमिमा नोटको प्रयोग विस्तारै घटाउँदै जाने नीति लिनु सकारात्मक भएको उनको तर्क छ।

“टेम्पो चढिरहँदा मैले देखेको छु- २०/२५ रुपैयाँ तिर्नका लागि डिजिटल पेमेन्टको प्रयोग गरेको पाइन्छ। यसले यो व्यवहार नरोकिने परिस्थितिको निर्माण गरिरहेको देखिन्छ र नगद नै चाहिने रहेनछ भन्ने कुराको अनुभूति सहरी क्षेत्रमा छ,” भूतपूर्व गभर्नर क्षेत्रीले भने।

गनी अन्सारी बीबीसी न्यूज नेपालीबाट साभार 




फेसबुकबाट तपाईको प्रतिक्रिया