
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । उच्च अदालतमा विद्यार्थीले मुद्दा हालेपछि यही भदौ २८ शुक्रबारका लागि तय भएको निर्वाचन स्थगित भएको हो ।
निर्वाचन स्थगित भएपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले बिहीवार पत्रकार सम्मेलनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।
विश्वविद्यालयका स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी बि.एस्पी बायोलोजी पाँचौं सेमेस्टरका विद्यार्थी रञ्जित विक समेतले आफूहरूको नाम मतदाता नामावलीमा नरहेको भन्दै चुनाव स्थगितको मागसहित अदालतमा रिट दिएका थिए ।
उच्च अदालत सुर्खेतको अन्तरिम आदेशका कारण अन्तिम समयमा स्ववियु निर्वाचन रोकिएको हो । अदाललते स्ववियु निर्वाचन रोक्न बिहीबार अन्तरिम आदेश दिएको थियो । विद्यार्थीहरूले दिएको रिटमाथि सुनुवाइ गर्दै अदालतले निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

नेबिसंघका केन्द्रीय सदस्य भुवन भट्टले नेकपा (एमाले) निकट अनेरास्ववियुले अदालतमा रिट हाल्न लगाएको आरोप लगाएको छन् । ‘अदालतको आदेशको सम्मान गर्छौं तर आदेश पूर्वाग्रही छ, नेविसंघ बलियो देखिएपछि बिभिन्न कारण देखाएर चुनाव स्थगित गरियो ।’
चुनाव गराउन नसकेको भन्दै आफूहरूले उपकुलपतिको राजीनामा पनि माग गरेको उनको भनाइ छ । नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पासहितको टोलीले प्रदर्शन गरेका हुन् ।
अदालतले शुक्रबार हुने चुनाव स्थगित गरेरे दुवै पक्षलाई असोज ६ गतेका लागि बोलाएको छ । नेविसंघका अध्यक्ष शेर्पाले स्ववियु चुनाव अन्तिम समयमा स्थगित हुनु दुःखद रहेको बताएका छन् ।
‘दुई वर्षअघि पनि यसै गरी षड्यन्त्रपूर्वक निर्वाचन रोकिएको थियो । नेविसंघले विजय प्राप्त गर्ने सुनिश्चितता भइसकेको अवस्थामा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुख्यमन्त्री अखिलको कार्यकर्ताका रूपमा प्रस्तुत भएर उपकुलपति, रजिष्ट्रार र निर्वाचन समितिको आन्तरिक निर्देशनमा सम्मानित अदालत समेतलाई गुमराहमा पारी निर्वाचन स्थगित गर्ने कार्यको घोर भ्रत्सना गर्दछु,’ नेबिसंघका सभापतिका उम्मेदवार रोशन बस्नेतले भनेका छन् ।

बस्नेतले विद्यार्थीको मताधिकारको प्रयोग गरेर लोकतान्त्रिक अभ्यास प्रक्रियालाई सुनिश्चित गर्न पनि माग गदै चुनाव नभएसम्म उपकुलपतिका बिरुद्धमा आन्दोलन समेत हुने बताएका छन् ।
सन्तोष भण्डारी । २०८१, २७ भाद्र बिहीबार