आजदेखि थारू महिलाहरुको जितिया पर्व सुरु

सुर्खेत । थारू समुदायका महिलाहरुले आजदेखि जितिया पर्व सुरु गरेका छन् । सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन थारु समुदायका महिलाले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका छन् ।

आजदेखि थारूका गाउँघरमा जितियाको रौनक छाएको छ । जितियामा छोरी, चेली दिदीबहिनाहरू माइतमा आएका छन् भने माइत आउन नसक्‍नेहरू घरमै जितियाको ब्रत प्रारम्भ गरेका छन् ।

कसरी मनान्छ जितिया ?

वर्तालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना ( खैर) र माटो चढाउने गर्छन् ।

पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन वर्तालु महिलाहरु निराहार उपवास बस्नेछन्। उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ।

जितियाको अन्तिम तथा पारन (समापन)को दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया