बिहीबारदेखि आइतबारसम्म सुर्खेतसहित विभिन्न जिल्लामा भीषण वर्षाको सम्भावना 

सुर्खेत । बिहीबारदेखि आइतबारसम्म सुर्खेतसहित विभिन्न जिल्लामा भीषण वर्षाको सम्भावना रहेकाे छ । बंगालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर एकोहोरिएकाले देशभर उच्च वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिए।

           तस्बिर: विनोद पोखरेलको एक्सबाट।

उनकाअनुसार मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सरेको छैन। तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय प्रणाली सघनरूपमा विकास भएको छ। त्यसका अतिरिक्त उपल्लो वायमण्डलमा पनि न्यूनचापीप प्रणाली विकास भएको छ।

‘न्यूनचापीय प्रणाली भएर मात्रै हुँदैन। त्यसका लागि जलवाष्पयुक्त वायु पनि चाहिन्छ। अहिले अरब सागर र बंगालको खाडी दुवैतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपालतर्फ सोझिइरहेकाले देशभर उल्लेख्य वर्षाको सम्भावना छ,’ उनले भने।

भारतको राजस्थान, गुजरात, पञ्जाब, महाराष्ट्र, ओडिसा लगायतका भूभागबाट मनसुन बाहिरिने उपक्रम सुरू भइसकेको छ।

‘अहिलेको प्रणाली नेपालमा मात्रै पानी पार्न आएजस्तो देखिन्छ। त्यसकारण बिहीबारदेखि आइतबारसम्मै चनाखो हुनुपर्ने देखिन्छ,’ पोखरेलले भने, ‘यो प्रणालीको विशेषता के छ भने यसले छिटोछिटो गति लिइरहेको छैन। छिटो गति नलिँदा यो प्रणाली केही समय रहने देखिन्छ। दसैंको याम छ, मानिसहरू घुमफिरमा निस्कन्छन्। यसका साथै बालीनाली भित्र्याउने पनि बेला भइसकेको छ। तसर्थ अति नै सचेत हुनुपर्ने देखिन्छ।’

मौसम पूर्वानुमान महाशाखाकाबिहीबारदेखि आइतबारसम्म भारीदेखि अतिभारी वर्षासम्मको पूर्वानुमान गरेकाे छ ।

कर्णालीका सुर्खेत, सल्यान, रूकुम पश्चिम, जाजरकोट र दैलेख तथा सुदूरश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी उच्च जोखिममा छन्। मधेस र बागमती प्रदेशमा भने उच्च जोखिम नरहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकीका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रूकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके उच्च जोखिममा रहेको महाशाखाले बताएको छ।

कोशी प्रदेशका १२ जिल्ला, मधेसका चार जिल्ला, बागमतीका १३, गण्डकीका तीनवटा जिल्ला, लुम्बिनीका तीनवटा, कर्णाली दुई र सुदूरपश्चिमका पाँच जिल्ला मध्यम जोखिममा छन्।

८ जिल्ला भने न्यून जोखिममा छन्। मधेसको सिरहा, धनुषा, सर्लाही र महोत्तरी, गण्डकीको मुस्ताङ, कर्णालीको डोल्पा, मुगु र हुम्ला न्यून जोखिममा छन्। यद्यपि यी जिल्लाले पनि सतर्कता भने अपनाउनुपर्ने मौसम पूर्वानुमान महाशाखा बताएकाे छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया