दसैं पर्वको सांस्कृतिक महत्त्व टीका लगाउनु मात्र नभई सामाजिक, आर्थिक, स्वास्थ्य, त्याग, निष्ठा र पराक्रमसँग पनि गाँसिएको विभिन्न वेदपुराणमा उल्लिखित छ। दसैंलाई असत्यमाथि सत्यको विजय भएको दिनको खुसीयालीमा मनाउने गरिए पनि यसभित्र पारिवारिक मिलन, आफन्त, सामाजिक बन्धुत्व, भाइचारा पनि लुकेको छ।
हिन्दु धर्मावलम्बीले श्रद्धा र भक्तिसाथ मनाउने दसैं पर्वले टाढा भएकालाई नजिकियाउने र नजिकका घरछिमेक, दाजुभाइ, आफन्त, परिवार सबैमा खुसी साटासाट गर्ने अवसर जुटाउने गर्छ। दसैंलाई बडादसैं, दशहरा, विजयादशमी, नवरात्र आयुध–पूजालगायतले सम्बोधन गरिँदै आएको छ।
नेपालीको राष्ट्रिय चाड दसैं (नवरात्र) हिन्दु धर्मावलम्बीले असोज शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दसौं दिन दशमीका दिन आफूभन्दा ठूला मान्यजनको हातबाट टीका–प्रसाद ग्रहण गरेर टीका लगाउने गर्छन्। यो क्रम विशेष रूपमा पूर्णिमासम्म चल्छ। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ।
प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नवदुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधना गरिन्छ।
विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको अवसरको खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने सांस्कृतिक मान्यता रहिआएको छ। असोजको शुक्ल पक्षको दशमी तिथि दसैं पर्वको प्रमुख दिन हो। यसलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइन्छ। यसकारण दशमीलाई विजया दशमी भनिएको हो।
आफ्ना नाता कुटुम्ब ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ कपडा लगाउने, आफ्नो क्षमताअनुसार मीठो खाना खाने, खुवाउने, घरआँगन, बाटाघाटा, गाउँबस्ती सफा राख्नेजस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ।
दसैं वर्षका तीन शुभ तिथिमा पर्छन्ः चैत्र (चैत)को शुक्लको एवं कात्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनमा हिन्दु धर्मावलम्बी नयाँ काम थाल्छन्। शस्त्रको पूजा गर्दछन्। विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। दसैं हर्षोल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको मानिन्छ। दसैं पर्वले दस प्रकारका पाप- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ।
टीका, जमरा, दक्षिणा र आशीर्वादको महत्त्व
बडादसैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व हो। आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो। यो नेपालीको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो। त्यसमा पनि विजयादशमी मुख्य दिन हो।
त्रेता युगमा यही दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको वध गरेको सम्झनामा यस चाडलाई विशेषगरी मनाइन्छ। दसैंलाई असत्यमाथि सत्यको विजयको रुपमा हेरिन्छ।
दसैंले छुट्टै आनन्दानुभूति दिलाउँछ। यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक बनाइदिन्छ। दसैं पर्वमा मालश्री वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । देश–विदेश वा टाढा भएका साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समय जुट्छ। दसैमा दक्षिणा, टीका, जमरा र पिङ खेल्नुको खास अर्थ र महत्त्व रहेको छ।
दसैंका प्रमुख चार दिनको महत्त्व
महासप्तमी
नवरात्रिको सातौं दिन फूलपाती पर्छ। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लव घर–घरमा भित्र्यान्छ।
वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवा घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक किटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहँदैनन् भन्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहिआएको छ।
यस दिन सदर टुँडिखेलमा फूलापाती बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यो दिन विशेषगरी महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। यसै दिन गोरखा दरबारको दसैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरबारमा भित्र्याइन्छ।
महाष्टमी
नवरात्रिको आठौं दिन महाष्टमीमा महाकाली–भद्रकालीको विशेष पूजाआजा गरिन्छ। देवीभागवत्अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने शक्तिशाली भद्रकाली (करोडौं योनी–शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएकाले पूजा गर्ने चलन रहिआएको छ।
पूजापछि मानिस नवदुर्गा, आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिन्छ्न्। शाकाहारीहरूले नरिवल, कुभिन्डो, केरा, घिरौला, आदि फल अर्पण गर्दछन्। महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ।
महानवमी
नवरात्रिको नवौं दिन महानवमीमा विशेषगरी सिद्धिधात्री देवीको पूजा–आजा गरिन्छ। यसै दिन बिहान कलपुर्जा, हातहतियार तथा सवारीसाधन आदिलाई बलि दिई विश्वकर्माको पूजा सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेषगरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याको पनि पूजाआजा गरिन्छ।
बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु भन्ने हुन्छ। नवदुर्गाका प्रसादले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, इष्र्या, द्वेष, छल, कपट, यी दश प्रकारका अवगुण हटून् र सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भावले सबै दश अवगुणको त्याग गर्दै आएकामा पछिवाट कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मान्दै बलि चढाउने चलन आएको मानिन्छ।
विजया दशमी
नवरात्रिको दसौं दिनलाई विजयादशमी भनिन्छ। असोज शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ। यो दशैंको खास दिन हो। यस दिनमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ। यस दिन घरघरमा सबैभन्दा पाका व्यक्तिले सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न विशेष पूजा गरिन्छ।
तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा र अन्य देवदेवीहरूलाई चढाएर आरती र पुष्पाञ्जली गर्ने गरिन्छ ।
यति गर्नाले कसैले पनि आफूमाथि दमन गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ। त्यसपछि मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राखिन्छ।
देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजागाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ।
त्यसपछि घरका मूल मान्छेले नवदुर्गा भगवतीको प्रसादस्वरुप अबीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्, लिन्छन्। सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैंका लागि तयार पारी राखिएको नयाँ लुगा, गहना लगाई टीका लगाउन जान्छन्। यस दिन पिङ खेल्यो या भुइँबाट खुट्टा छाड्यो भने मरेपछि स्वर्ग गइन्छ भन्ने मान्यता रहेको छ।
दसैंको आशीर्वाद
आशीष अर्थात् आर्शीवाद। आफ्नो उन्नति, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छा। दसैंमा प्रायः आफूभन्दा ठूला, मान्यजनबाट टीका लगाएर आशीर्वचन दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ। मान्यजनले दिने आशीष हाम्रा निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो। ठूलाबडाले आफूभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ । सही संस्कार दिनुपर्छ भन्ने सन्देश पनि हो, यो।
दसैंमा टीका लगाउँदा पुरुषलाई दिइने आशीष
‘आयु द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।’
यसको अर्थ यस प्रकार छ,
द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात दीर्घायु हुनू। दशरथ राजाको जस्तो धनसम्पत्ति होस्। भगवान रामको जस्तो शत्रु नाश होस्। नहुष राजाको जस्तो ऐश्वर्य होस्। पवनसुत हनुमानको जस्तो गतिशीलता होस्। दुर्योधनको जस्तो मान होस्। सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस्। हलधर बलरामको जस्तो बल होस्। कुन्ती पुत्र युधिष्ठरजस्तो सत्यवादी हुनू। विदुरको जस्तो ज्ञान होस्। भगवान् नारायणको जस्तो कीर्ति वा प्रसिद्धि होस् भन्दै मान्यजनवाट आशीर्वाद लिइन्छ।
दसैंमा टीका लगाउँदा महिलालाई दिइने आशीष
‘जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते।’
यसको अर्थ
जयन्ती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र, मुक्ति देवीको रूपमा प्रसिद्धि होस्। काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनू। भद्रकालीको जस्तै भद्र, खुसी, मंगल हुनू। कपालिनी देवीको जस्तो दुष्मनका लागि भयानक हुनू।
दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नू। क्षमाकी देवीले जस्तै क्षमा दिनू। शिव देवीजस्तै कल्याणकारी र सर्वशक्तिमान हुनू। धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नू। स्वाहा देवीले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्यको संकल्प लिनू।
दसैं टीकाको महत्त्व
दसैंमा आफूभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा टीका थापिन्छ। यसरी मान्यजनले आशीष दिँदै लगाइदिने टीकाको पनि निकै अर्थ छ। मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ। यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ। गाईको दूधको दही, चिनी, जिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टीका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ। यो दुवै आँखीभौं माझमा हुन्छ। यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ।
दसैंको जमरा
दसैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ। घटस्थापनाको दिन राखेको जौको जमरा टीका थाप्नेको टोपीभित्र, टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिँदै राखिन्छ। जमरा राख्ने आफ्नै खास विधि छ। मन्त्र छ। अँध्यारो स्थान, जहाँ सूर्यको प्रकाश आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ। धर्मशास्त्रले यसलाई समृद्धिको प्रतीक मानेका छन्।
वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ–यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ।
चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ।
दसैंको दक्षिणा
दसैंमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई दिइने धन, वा द्रव्य नै दक्षिणा हो। विजयदशमीको दिन आ–आफ्नो गच्छेअनुसार मान्यजनबाट टीका लगाइसकेपछि दक्षिणा दिने गरिन्छ।
सुख, शान्ति, शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु लक्ष्मीलाई भित्र्याउनु हो भन्ने सांस्कृतिक मान्यता रहिआएको छ।
(इतिहास एवं संस्कृतिविद् हरिराम जोशीसँगको वार्तामा आधारित) – नेपाल समयबाट
राराखबर । २०८१, २४ आश्विन बिहीबार