नोबेल पुरस्कार के हो, यसलाई किन विशेष मानिन्छ

कसले छान्छ विजेता

यतिखेर यस वर्षको नोबेल पुरस्कार घोषणा हुने क्रम चलिरहेको छ। यसै साता अधिकांश विधाका विजेता को हुन् भनेर थाहा भइसक्ने छ।

नोबेल शान्ति पुरस्कार “देशहरूबीच भाइचारा प्रवर्धन गर्न, सैन्य तनाव हटाउन वा घटाउन र (द्वन्द्व निवारण गर्ने उद्देश्यले) शान्ति भेला गर्ने वा त्यसलाई प्रवर्धन गर्ने” व्यक्तिलाई प्रदान गरिन्छ।

नोबेल पुरस्कारलाई किन निकै प्रतिष्ठित मानिन्छ? अनि विगतका केही विजेताहरू कस्ता छन्?

कुनकुन विधामा दिइन्छ नोबेल पुरस्कार?

प्रत्येक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति गरी छ विधामा नोबेल पुरस्कार प्रदान गरिन्छ।

विगत १२ महिनामा “मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका” व्यक्तिलाई ती पुरस्कारबाट सम्मानित गरिन्छ।

स्वीडिश व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले यी पुरस्कारहरू स्थापना गरेका थिए। उनले आफ्नो अधिकांश सम्पत्ति पुरस्कार दिने उद्देश्यले कोष स्थापना गरी त्यसमा राखेका थिए।

नोबेल पुरस्कार सबैभन्दा पहिले सन् १९०१ मा प्रदान गरिएको थियो।

सन् १९६८ मा स्वीडनको केन्द्रीय ब्याङ्कले अर्थशास्त्रका लागि छुट्टै पुरस्कारको स्थापना गरेको थियो।

Nobelpeace.org का अनुसार सन् १९०१ र सन् २०२२ बीचमा नोबेल पुरस्कार र अल्फ्रेड नोबेलको सम्झनामा स्वीडनको केन्द्रीय ब्याङ्कले दिने पुरस्कार गरेर ६१५ पटक कुल ९८९ व्यक्ति र संस्थाहरूलाई प्रदान गरिएको छ।

केहीले एकभन्दा बढी पटक नोबेल पुरस्कार पाएका छन्। त्यस हिसाबमा कुल ९५४ व्यक्ति र २७ संस्थाले नोबेल पुरस्कार पाएका छन्।

सन् २०२२ सम्म ६३ पटक नोबेल पुरस्कार महिलाहरूले पाएका छन्।

फ्रान्सकी मरी क्युरी दुई पटक यो पुरस्कार पाउने एकमात्र महिला वैज्ञानिक हुन्।

उनले सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रसायनशास्त्रका लागि यस पुरस्कार जितेकी थिइन्।

त्यसको अर्थ सन् २०२२ सम्म नोबेल पुरस्कार पाउने महिलाको कुल सङ्ख्या ६२ थियो।

अल्फ्रेड नोबेल

कसले छान्छ विजेता

शोध संस्थानका सदस्यहरू, विश्वविद्यालयका प्राध्यापकहरू, वैज्ञानिकहरू, पूर्वविजेताहरू र अन्यले मनोनयन दर्ता गर्छन्।

नोबेल फाउन्डेशनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन। कसैले आफैँलाई मनोनयन गर्न पाउँदैन।

पुरस्कार विजेतालाई लरेट भनिन्छ। उक्त शब्दले प्राचीन ग्रीसमा कुनै प्रतियोगितका विजेताहरूलाई दिइने प्रतिष्ठित पुष्पहारको सङ्केत गर्छ।

एउटा पुरस्कार बढीमा तीन जनाले पाउन सक्छन्।

केही वर्ष नोबेल पुरस्कार प्रदान गरिएन।

खास गरी दुई विश्वयुद्धताका पुरस्कार घोषणा गरिएको थियो।

नोबेल फाउन्डेशनको नियमानुसार यदि कुनै विधामा त्यस वर्ष पुरस्कृत हुन कोही योग्य भएनन् भने त्यो घोषणा हुँदैन र त्यसको पुरस्कार रकम अर्को वर्षका लागि राखिन्छ।

कहाँ हुन्छ निर्णय

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्वीडनमा प्रदान गरिन्छ।

नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ।

विजेताहरूले के पाउँछन् त?

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले निम्नलिखित कुरा पाउँछन् –

• एउटा नोबेल डिप्लोमा, प्रत्येकमा मौलिक कला हुन्छ

• एउटा नोबेल पदक, जसका बेग्लाबेग्लै ढाँचा हुन्छन्

• नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोना (९,९०,००० अमेरिकी डलर)। यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ। उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ।

नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ।

चर्चित विजेताहरू

भूतपूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले सन् २००९ मा “अन्तर्राष्ट्रिय कूटनीति र मानिसहरूबीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकाले” नोबेल शान्ति पुरस्कार पाएका थिए।

शान्ति पुरस्कार पाएको सुनेपछि राष्ट्रपति ओबामाले आफू “आश्चर्यचकित र अत्यन्त अनुगृहीत” भएको र त्यसलाई आफूले “काम गर्न आह्वान”का रूपमा लिने बताएका थिए।

तर उनलाई पुरस्कार दिइएकोमा आलोचना पनि भएको थियो। किनभने नोबेल पुरस्कारका लागि मनोनयन गर्ने मिति सकिनु केही दिनअघि मात्र ओबामा अमेरिकाका राष्ट्रपति बनेका थिए।

अन्य उल्लेख्य विजेताहरूमध्येमा जिमी कार्टर (सन् २००२), युरोपेली सङ्घ (सन् २०१२), संयुक्त राष्ट्रसङ्घ र त्यसका तात्कालिक महासचिव कोफी अन्नान (सन् २००१ मा संयुक्त रूपमा) र कोलकाताकी मदर टेरेसा (सन् १९७९) छन्।

नोबेल पुरस्कार पाएका दुई अग्रणी वैज्ञानिकमध्ये अल्बर्ट आइन्स्टाइन (भौतिकशास्त्रतर्फ सन् १९२१ मा) र मरी क्युरी (सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रसायनशास्त्रतर्फ) छन्।

बालबालिकाको शिक्षासम्बन्धी अभियान चलाएकी मलाला युसुफजाई (सन् २०१४ मा साझेदारी) यो पुरस्कार पाउँदा १७ वर्षकी मात्र थिइन् र उनी अहिलेसम्मकै सबैभन्दा कम उमेरकी विजेता हुन्।

जोन बी गुडइनफ सबैभन्दा बढी उमेरका विजेता हुन्। सन् २०१९ मा ९७ वर्षको उमेरमा उनले रसायनशास्त्रमा नोबेल पुरस्कार पाएका थिए।

मलाला युसुफजाई नोबेल पुरस्कार पाउने हालसम्मकै कम उमेरकी व्यक्ति हुन्
मलाला युसुफजाई नोबेल पुरस्कार पाउने हालसम्मकै कम उमेरकी व्यक्ति हुन्

फ्रेन्च लेखक तथा दार्शनिक जाँन-पल सार्त्रले सन् १९६४ मा र भियतनामी राजनीतिज्ञ ले डूक टोले सन् १९७३ मा नोबेल पुरस्कार लिन अस्वीकार गरेका थिए।

अन्य चार जनालाई उनीहरूको देशले नोबेल पुरस्कार अस्वीकार गर्न बाध्य पारेको थियो।

सन् २०१६ मा गायक बब डिलनले साहित्यतर्फको पुरस्कार स्वीकार गर्लान् कि नगर्लान् भन्ने अन्योल देखा परेको थियो। अन्ततः उनले सन् २०१७ को जुन महिनामा उक्त पुरस्कारका लागि मन्तव्य दिए।

पुरस्कार पाएपछि केही विजेताले के गरे

मरी र पिअर क्युरीले सन् १९०३ मा भौतिकशास्त्रतर्फ पाएको पुरस्कार रकम थप वैज्ञानिक अनुसन्धानमा प्रयोग गरेका थिए।

सन् २००६ मा भौतिकशास्त्रतर्फको पुरस्कार पाएका जोन माथरले उक्त रकम आफ्नो फाउन्डेशनलाई दान दिए।

सन् १९९३ मा ब्रिटिश वैज्ञानिक रिचर्ड रोबर्ट्सले चिकित्साशास्त्रमा पाएको रकम ‘क्रोके लन’ का लागि खर्च गरे भने उनीसँगै पुरस्कार पाएका फिलिप शार्पले १०० वर्ष पुरानो घर किने।

सन् २००१ मा चिकित्साशास्त्रतर्फ पुरस्कार हात पारेका सर पोल नर्सले आफ्ना लागि एउटा महँगो मोटरसाइकल किनेका थिए।

त्यसै गरी सन् २००६ मा साहित्यतर्फका विजेता ओर्हान पामुकले इस्तानबुलमा एउटा सङ्ग्राहलय स्थापना गरेका थिए।

स्वतन्त्र रुसी पत्रिका नोभया गजेटाका प्रधान सम्पादक दिमित्री मुरातोभले आफ्नो नोबेल शान्ति पुरस्कारको पदकलाई लिलाम गरे।

त्यसबाट प्राप्त १० करोड ३५ लाख अमेरिकी डलरमा उनले युद्धबाट विस्थापित युक्रेनी बालबालिकालाई सघाउन प्रयोग गर्ने बताएका छन्। बीबीसी नेपाली सेवाबाट




फेसबुकबाट तपाईको प्रतिक्रिया