सुर्खेत । नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मदन भण्डारी राजमार्गको काम तोकिएको समयमै सक्न निर्देशन दिएका छन् ।
पश्चिम क्षेत्रको विकास र समृद्धिको मार्गको रूपमा रहेको मदन भण्डारी राजमार्गलाई पूर्णता दिन आफू निरन्तर लागिपरेको उनले बताए ।पञ्चपुरीमा बाबियाचौर स्पोर्ट्स क्लबले आयोजना गरेको पाँचौँ बाबियाचौर च्यालेन्ज कपको उद्घाटनमा पूर्व उपप्रधानमन्त्री खड्काले भने, ‘पश्चिम क्षेत्रको विकास र समृद्धिको मार्गको रूपमा रहेको मदन भण्डारी राजमार्गलाई विभिन्न किसिमका बाहाना बनाएर आलटाल गरेको देखिएको छ ।
‘यहाँको विकास र समृद्धिका लागि बड्डीचौरदेखि सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला जोड्ने मदन भण्डारी राजमार्ग समयमै पूरा हुन आवश्यक छ ।’

पश्चिम खण्डमा निर्माण भइरहेका सडक खण्डको शनिवार अनुगमनपछि उनले सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्दै तोकिएकै समयमा सम्पन्न गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए । मदन भण्डारी राजमार्ग पश्चिम सुर्खेतको विकासको मेरुदण्ड हो ।
मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–खम्बा गाडे सडकको १३.१ किलोमिटर सडक कर्णाली प्रदेश सरकारले निर्माण गरिरहेको छ ।
यस्तै खम्बा गाडे–विद्यापुर १०.३ किलोमिटर र विद्यापुर–गुटु–विजौरा–बल्दे २२ किलोमिटर मदन भण्डारी राजमार्ग आयोजनाले निर्माण गरिरहेको छ ।

यस्तै बल्देदेखि लगामसम्म १५ किलोमिटर ठेक्का भइसकेको छ छ भने लगाम–धनरास–धामीसैन–पाल्पाघाटसम्मको करिब २५ किलोमिटर मध्ये १८ किलोमिटर सडक खण्डको डीपीआर सम्पन्न भएर स्रोत सुनिश्चितताको क्रममा छ ।
‘सडक निर्माण सम्पन्न नहुँदासम्म पटक–पटक यो क्षेत्रमा आएर निरन्तर अनुगमन गर्नेछु । यो खण्डमा नीतिगत र प्राविधिक समस्या समाधानतिर यो सहयोग रहने छ ।

बड्डीचौर–खम्बा गाडे सडक खण्डमा पर्ने रुखहरू कटानको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । रुख कटानी र सडक कसले बनाउने विषयमा केही समस्या देखिए पनि अहिले समाधान भइसकेको मदन भण्डारी राजमार्ग कार्यालयका इन्जिनियर रेशम वलीले बताए । अहिले यो क्षेत्रमा धमाधम काम भइरहेको छ ।
उपसभापति खड्काले पश्चिम सुर्खेतमा प्रदेशको प्रहरी तालिम केन्द्र स्थापनाको प्रक्रियामा रहेको बताउँदै मन्त्रिपरिषद्बाट निर्णय नहुँदासम्म यसमा आफूले ठोस प्रतिक्रिया नदिने बताए ।
उनले आफू सधैँ जनताको काम र विकासप्रति उत्तरदायी रहेको बताउँदै आफ्नो नाम जोडेर कसैलाई राजनीति नगर्नसमेत आग्रह गरे । उनले केही समयमै पश्चिम सुर्खेतको केन्द्र बाबियाचौरबाट मालपोत तथा नापी कार्यालय स्थापना गरेर सेवा प्रवाह हुने पनि बताएका छन् ।
सन्तोष भण्डारी । २०८१, ३ कार्तिक शनिबार