सुर्खेत । वीरेन्द्रनगरमा बृहत् साङ्गीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कर्णालीको लोक, कला र मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजित साङ्गीतिक कार्यक्रम बिहीबार सिटिहलको प्राङ्गणमा कर्णालीको लोक, संस्कृति सम्बन्धी विभिन्न प्रस्तुति देखाउँदै सम्पन्न भएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेत शाखा र युवालयको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका कविराज गिरीले देश प्रेमी गीत गाउँदै साङ्गीतिक प्रस्तुतिको सुरुवात गरेका थिए ।
युवालयको सहयात्रा परियोजनामा जोडिएर युवाहरूले लिएका कक्षामा सिकेका नृत्य तथा सङ्गीतहरू प्रस्तुत गरिएको थियो । लोक संस्कृति जगेर्ना गर्ने भनी चलिरहेको यस परियोजनाबाट कक्षा लिइरहेका युवाहरूले मारुनी, टप्पा, झ्याउरे, कौडा लगायतका दर्जन बढी नृत्य प्रदर्शन गरेका थिए ।
साथै सङ्गीतको कक्षामा सिकिरहेका युवाहरूले पञ्चेबाजा (झ्याली, कर्नाल, सहनाई, दमाहा) पनि बजाएर प्रस्तुत गरे ।
कार्यक्रमको उद्घाटनमा बोल्दै कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले कला र संस्कृतिको उद्गम स्थल रहेको दाबी गर्दै मौलिक कला, संस्कृति बचाउनुपर्ने बताए ।
‘मौलिक कला र संस्कृति हराउनु कर्णालीवासीको परिचय नै गुम्नु हो, यसलाई संरक्षण गर्नुपर्छ’ । युवालयले थालेको कला, संस्कृति संरक्षण अभियान अत्यन्तै सहनीय छ । मौलिक कला र संस्कृति संरक्षणसँगै पुस्तान्तरणको कामलाई पनि अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
अर्का वक्ता युवालयका कार्यकारी निर्देशक सञ्जीव अधिकारीले युवाहरूले सिकेका कला कार्यक्रम मार्फत आम नागरिकका सामु प्रदर्शन गर्न पाउँदा उनीहरूमा आत्मबल बढेको बताए ।
यो कार्यक्रमबाट कर्णालीको मौलिक कला र संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि युवाको भूमिकालाई महत्त्वपूर्ण स्थान दिनुपर्छ भन्ने सिकाइ भएको युवालयका कार्यकारी निर्देशक अधिकारीले बताए ।
कार्यक्रममा आगामी दिनमा कर्णालीको लोक, संस्कृति संरक्षणमा थप टेवा पु¥र्याउन र यसले कर्णालीका युवालाई यस तर्फ आकर्षित गर्ने परियोजना संयोजक पूजा कार्कीको भनाइ छ ।
युवालयले कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका केही पालिकाहररुमा युवा विकास गतिविधि गरिरहेको युवालयका अध्यक्ष धर्मराज रिमालले बताए ।
“युवासँगको हाम्रो सहयात्रा “परियोजना कणालीको दैलेख भगवतीमाई गाउँपालिका र डुङ्गेश्वर गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर तथा सुदूरपश्चिमको लम्किचुहा नगरपालिकामा सञ्चालन भइरहेको उनले बताए ।
सन्तोष भण्डारी । २०८१, २२ कार्तिक बिहीबार