मानवसेवा आश्रमको भवन बनाउन मंसिर २१ देखि २८ गतेसम्म वीरेन्द्रनगरमा महायज्ञ

पाँच करोड संकलन गर्ने लक्ष्य

सुर्खेत । आश्रयविहीनहरुलाई आश्रय दिँदै आएको मानवसेवा आश्रमले कर्णाली प्रदेशस्तरीय भवन बनाउनको लागि आर्थिक जुटाउने उदेश्यले महायज्ञ गर्न लागेको छ ।

महायज्ञ मूल आयोजक समितिका संयोजक नवराज केसीले बिहीबार पत्रकार सम्मेलनमार्फत आगामी मंसिर २१ देखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा महायज्ञ गर्न लागेको बताए ।

भवन निर्माणका लागि महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । ‘सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव नभएपछि समाजको पुँजी पनि यसमा लाग्नुपर्छ भनेर महायज्ञ गर्न लागेको संयोजक केसीले उल्लेख गरे ।

हामीलाई पैसामात्र होइन, सेवा गर्ने हातहरू पनि चाहिएको छ उनेले भने । कर्णाली प्रदेशलाई मात्रै नभई सिंगो राष्ट्रलाई नै मानवताको राष्ट्र बनाउने र जनजनमा मानवता जगाउने पवित्र लक्ष्य रहेको सहसंयोजक सागर भुषालले बताए ।

श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ कर्णालीबासीको लागी महत्वपुर्ण अवसर भएकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पुर्ण नागरिक समाज, संघसंस्था, स्थानिय सरकार, प्रदेश सरकार, सर्वसाधारण, राजनैतिक दल सबैलाई आग्रह गरिएको छ ।

आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन र देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ ।


सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथावाचक गर्नेछन् । भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्नेमात्र नभई मानवसेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने बताएको छ ।

२०७५ माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको छ । हालसम्म ४ सय ६ जना बेसहारालाई उद्धार गरिएको आश्रमले जनाएको छ ।

मानवसेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसीले भवन निर्माणका लागि डीपीआर तय भइसकेको बताइन् । २०६९ सालदेखि संचालनमा आएको मानव सेवा आश्रमल हालसम्म १०,६८७ जना भन्दा बढी सहयोगापेक्षी बेसहारा सडकमानवहरुको उद्धार गरी मानवोचित व्यवस्थापन गराइसकेको जनाएको छ ।


आश्रमले सात वटै प्रदेशको विभिन्न १९ जिल्लाहरुमा २४ वटा सेवा केन्द्रहरु मार्फत मानवीय सेवा कार्य गर्दै आईरहेको छ । २०७५ साल माघ १८ गते कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा मानवसेवा आश्रम सुरु भएयता हालसम्म ४०६ जना भन्दा बढी बेसहारा, असहाय, अभिभावकविहिन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको उद्धार गरेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया