करोडौको खर्चमा बनेको मौसमी राडार प्रयोगविहिन

प्रकाश पन्त
बीरेन्द्रनगर, १५ माघ ।
जल तथा मौसम सम्बन्धी पूर्व सूचना दिनेको लागि सुर्खेतमा स्थापना भएको नेपालकै पहिलो मौसमी राडार केन्द्र प्रयोगविहिन भएको छ । सरकारले बीरेन्द्रनगरमा रहेको मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय कोहलपुर सार्ने निर्णाय गरेपछि राडार प्रयोगविहिन भएको हो । रातानाङ्ला डाँडामा विश्व बैंकका ऋण तथा अनुदान सहयोगमा अमेरिकाको इन्टरप्राईज इलेक्ट्रोनिक को–अप्रेशन कम्पनीले राडार केन्द्र निर्माण गरेको हो । महिनादिन अघि निर्माण भएपनि बुझ्ने निकाय नहुँदा कम्पनीले राडार केन्द्र हस्तान्तरण गर्न सकेको छैन ।
२०७५ असारमा सरकारले जल तथा मौसम विज्ञान विभाग मातहतका क्षेत्रीय स्तरका कार्यालयलाई यथावत राख्ने निर्माण गरेको थियो । तर उर्जा मन्त्री बर्षमान पुनको प्रस्तावमा गत असोज २८ गते मन्त्री परिषद् बैठकले उक्त निर्णायलाई उल्ट्याउदै कोहलपुर कार्यालय सार्ने निर्माण गरेपछि राडारको मुख्य केन्द्र कहाँ रहने भन्ने अन्यौल सृजना भएको हो । मन्त्री पुनकै दवावमा जल तथा मौसम विज्ञान विभागले अहिलेसम्म राडार केन्द्र कहाँ राख्ने भन्ने टुंगो लगाउन सकेको छैन ।


करिव १९ करोड रुपैयाको लागतमा निर्माण भएको राडारको महत्व सरकारले नवुझेको सुर्खेतबासीले गुनासो गरेका छन । करोडौ रकम खर्चेर बनाएको राडार मन्त्रीको व्यक्तिगत इच्छामा प्रयोगमा आउन नसक्नु लाजमर्दो कुरा भएको उनीहरुले बताएका छन् । राडारबाट अधिकतम लाभ लिन सुर्खेतमै कार्यालय रहनुपर्छ, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष कुलमणी देवकोटाले भने, सुर्खेतमा राडार स्थापना गरेर क्षेत्रीय हवापानी कार्यालय रातारात कोहलपुर सार्ने निर्णय गर्नु गलत भयो । यसलाई सच्याउनु पर्छ । सुर्खेतको कार्यालय कोहलपुर सार्नु हुदैन् ।


जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सर्जुकुमार वैद्यले राडार प्रयोगमा आइरहेको दावी गरे । उनले भने यसलाई काठमाडौबाटै हेर्न सकिने भएकोले यसको प्रयोग भैइरहेको छ । उनले नयाँ संचरना अनुसार सुर्खेतको क्षेत्रीय हावापानी कार्यालय कोहलपुर सार्ने सरकारले निर्णय गरेपनि राडार संचालनको लागि सुर्खेतमा सानो युनिट राख्ने बताए । उनले सातवटै प्रदेशमा क्षेत्रीय स्तरका हावापानी कार्यालय राख्नको लागि पहल भैइरहेको पनि उल्लेख गरे । म आउनु भन्दा पहिले नै भएको निर्णय हा,े उनले भने, त्यसैले यसमा मैले केहकी गर्न सक्दैन, सरकारले मात्र निर्णय वदल्न सक्छ ।


प्रदेश नम्वर पाँचको भैरहवा र नेपालगंजमा दुई वटा क्षेत्रीय हावापानी कार्यालय छन् । सुर्खेतबाट कोहलपुर सारिए तीन वटा क्षेत्रीय कार्यालय हुनेछन् । भने कर्णाली र सुदरपश्चिम प्रदेशमा एउटा पनि क्षेत्रीय हावापानी कार्यालय छैनन् । त्यसैले यी दुई प्रदेश हेर्ने गरी साविककै क्षेत्रीय कार्यालयलाई कोहलपुर सार्न नहुनेमा कर्णाली प्रदेश सरकारले पनि जोड दिएको छ । प्रदेश सरकारले केन्द्र सरकारलाई कार्यालय नसार्न आग्रह समेत गरिसकेको बताएको छ ।


के हो मौसमी राडार ?
सुर्खेतको रातानाङ्ला डाँडामा रहेको राडारले तीन सय किलोमिटर वरीपरी दुरीसम्मको मौसमको पूर्व अवस्थाको जानकारी दिन्छ । यो क्षेत्रमा कहाँ, कुन समयमा कति वर्षा भइरहेको छ ? अथवा हुन सक्छ भन्ने पूर्व सुचना दिन्छ । राडारले कर्णाली, सुदुरपश्चिमका साथै पाँच नम्वर प्रदेशको भूभाग पनि ‘कभरेज’ गर्छ । वर्षातको तीव्रता, हावाको वहाव, वादलको अवस्था, असिना, हिउँ, चट्याङ सम्वन्धी मौसमी जानकारी दिएर जोखिम पुर्वानुमान गर्न सहयोग गर्छ । यस्तै हवाई दुर्घटना रोक्न पनि सहयोग गर्ने मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाले बताए ।


दुई वटा विमानस्थलको मौसम सफा रहेपनि राडारले दुई विमानस्थल वीचमा पर्ने हवाई रुटमा कहाँ कति बादल लागेको छ ? कति वर्षा भइरहेको छ भन्ने जानकारी पनि दिन्छ उनेले भने, यसले हवाई सुरक्षामा सहयोग गर्छ भने बाढीपहिरो, डुबानजस्ता प्राकृतिक प्रकोपबाट बर्सेनि समस्या भोग्दै आएका बासिन्दालाई पनि पूर्व सुचना दिएर जोगिन सहयोग गर्छ ।
२०७१ सालमा गएको वाढी पहिरोवाट कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति भएपछि सुर्खेतमा राडार स्थापना गरिएको हो । नेपालमै पहिलोपटक बाढी र डुवानको पूर्वानुमान गर्न सुर्खेतमा मौसमी राडार स्थापना गरिएको हो । करिब १५० अर्धब्यासको आकासमा स्क्यानिङ गर्नसक्ने उक्त राडारबाट आकाशमा बादल भए, नभएको, पानी के कति पर्ने भन्ने बारेमा सूचना लिन सकिन्छ । आकाशतर्फ तेर्साएर राखिएको यन्त्रले वास्तविक अवस्थाको तस्बिर खिच्ने र त्यसका आधारमा हिमपात, असिना तथा स्थानीय क्षेत्र हवाई यातायातका लागि उपयुक्त भए नभएको अनुमान गर्न सकिन्छ । यसवाट विभिन्न नदीमा बाढी आउन सक्ने सम्भावनाको समेत विश्लेषण गरी सतर्कता अपनाउनलाई आवश्यक रणनीति समेत बनाउन सहज हुन्छ ।


नौ महिना अघि नै काम सम्पन्न
यसैवीच राडार स्थालसम्मको पहुँच मार्ग निर्माण लगायतका काम ठेकेदारले नौ महिना अघि नै सम्पन्न गरेका छन् । ३ सय १५ मिटर लामो पहुँच मार्ग निर्माण गर्ने, राडार स्थल वरीपरि तारवार गर्ने, चौकीदार भवन वनाउने, गेट बनाउने, कल्र्भड र नाली निर्माण गर्ने तथा पानी टंकी निर्माण गर्ने काम नौ महिना अघि नै सकेको निर्माण व्यवसायी दलबहादुर विसीले बताए । उनले एक करोड २९ लाखको काम गरेका हुन ।नेपाल समाचार पत्र दैनिकबाट 




फेसबुकबाट तपाईको प्रतिक्रिया