
सुर्खेत । बराहताल गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले वडाबाटै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् ।
बराहताल गाउँपालिकाका धेरै वडा विकट र दुर्गममा रहेको हुँदा बैंकमा भत्ता लिन जान निकै कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुशी झल्किएको हो ।

बैंकमा घण्टौँसम्म लाइन बसेर वृद्घभत्ता बुझ्दै आएका बराहताल गाउँपालिका–४ तरङ्गाका ७८ बर्षीय बल बहादुर रोकाय वडाबाटै भत्ता बुझ्न पाउँदा निकै उत्साहित भएका छन् ।
उनी भन्छन्, ‘निर्वाचनका बेला भोट माग्न आउँदा वृद्ध भत्ता वडाबाट दिन्छौँ भन्थे, त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिबद्धता अनुसार नै काम सुरु गरेकोमा निकै खुशी लागेको छ ।’
त्यस्तैगरी, बराहताल गाउँपालिका–४ तरङ्गाकी ९५ बर्षीया थेप्ची कठायत पनि वडाबाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताउँछिन् ।
‘भत्ता बुझ्नका लागि हिँडेर घण्टौ बड्डिचौर बजारमा जानुपथ्र्यो, बूढेसकालको शरीर आउन जानै समस्या’, उनले भनिन्, ‘अहिले त गाउँपालिका र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मनोभावना बुझेर होला वडाका गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन् ।’ उनीहरु जस्ता धेरै ज्येष्ठ नागरिकलाई वडाबाटै भत्ता वितरण कार्यले ठूलो राहत मिलेको छ ।
बराहताल गाउँपालिकाले वडा नम्बर–४ तरङ्गाका एक सय ५३ जना वृद्धवृद्धालाई वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो । गाउँपालिका र वडा कार्यालयको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही, वृद्धवृद्धा एकल महिला, अपांग, गर्भवती तथा सुत्केरी महिला लगायतको बैंक खाता समेत खोल्न गरेको वडानम्बर–३ का वडाअध्यक्ष शेरबहादुर पुन मगरले बताए ।

नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन पालिका आउँदा खर्चिलो हुने भएकोले वडाबाटै वितरण गर्न थालिएको अध्यक्ष भण्डारीले बताए ।`एउटा व्यक्ति पालिकासम्म भत्ता लिन आउँदा १५ सय रुपैयाँसम्म खर्च हुन्छ । यदी बैंकमा भिडभाड भए बास समेत बस्नुपर्छ, उनले भने, उक्त समस्यालाई मध्यनजर गर्दै वडाबाटै वितरण सुरु गरेका छौं ।`
उनका अनुसार यसअघि विभिन्न कानुनी जटिलता भएपनि त्यसलाई फुकाउँदै वडास्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको छ । सोमबार वडा नम्बर ४ बाट भत्ता वितरण सुरु गरिएको छ । क्रमश अन्य १० ओटा वडाहरुमा पनि यसैगरी वितरण गरिने अध्यक्ष भण्डारीको भनाई छ ।
सन्तोष भण्डारी । २०८१, ४ मंसिर मंगलवार