सुर्खेत । कर्णाली प्रदेशका स्थानीय तहमा रिक्त ८ जनप्रतिनिधि चुन्न भएको मतदान सम्पन्न भएको छ । प्रदेशभर ६२ प्रतिशत अर्थात् २६ हजार ४६३ मत खसेको छ ।
कुल मतदाता संख्या ४२ हजार २७७ रहे पनि ३८ प्रतिशत मतदाताहरूले मतदान गरेनन् । प्रदेशमा एक गाउँपालिका अध्यक्ष, एक नगरपालिका उपप्रमुख, एक उपाध्यक्ष र ५ वडाध्यक्षका लागि आइतबार बिहान ७ बजेदेखि सुरु भएको थियो ।
यी पदका लागि मतदान गर्न ६३ वटा मतदान केन्द्र तोकिएका थिए । कर्णालीमा मतदानका लागि निर्धारण गरिएको समयभन्दा केही ढिला गरी मतदान सम्पन्न भएको हो । कतिपय वडाको मतदान भने निर्धारित समयमै सम्पन्न भएको थियो ।
दैलेखको महावु गाउँपालिकाको अध्यक्षका लागि भएको मतदानमा ५५.४० मात्रै प्रतिशत मत खसेको छ । १२ हजार ६१४ मतदाता रहेको महावु गाउँपालिकामा ६ हजार ९८९ मत खसेको जिल्ला निर्वाचन अधिकृत नरबहादुर सलामीले जानकारी दिए ।
उनका अनुसार मतदानमा ५५.४० प्रतिशत मतदाता मात्रै सहभागी भएका छन् । जसमा ३ हजार १० पुरुष, ३ हजार ९७९ महिलाले मतदान गरे ।
दैलेखकै दुल्लु नगरपालिका–१३,को वडाध्यक्ष पदका लागि भएको मतदानमा ५६.४६ प्रतिशत मात्रै मत खसेको छ । कुल २७ सय ६ मतदाता रहेको ५६.४६ प्रतिशत अर्थात् १ हजार ५२८ मत मात्रै खसेको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ । दुल्लु नगरपालिका–१३ मा ६ जना चुनावी मैदानमा छन् ।
जाजरकोटका दुई स्थानीय तहमा ६५.३४ प्रतिशत मत खसको छ । जिल्ला निर्वाचन कार्यालय जाजरकोटका अनुसार उपमेयर पदका लागि नलगाड नगरपालिकामा भएको निर्वाचनमा १० हजार ६२२ मत खसेको छ । जसमध्ये ५ हजार २९९ जना महिला र ५ हजार ३२३ जना पुरुष मतदाता रहेका छन् । कुल मतदाता १६ हजार ४४९ जना रहेकोमा उपनिर्वाचनमा ६४.५ प्रतिशत मत खसेको हो ।
जिल्लाकै कुशे गाउँपालिका–७ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ९५६ अर्थात् ७३.४ प्रतिशत मत खसेको छ । जसमा ४८० जना महिला र ४७६ जना पुरुष मतदानमा सहभागी भएका हुन् । यो वडामा कुल एक हजार ३०२ जना मतदाता छन् ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ४ हजार ५२४ मत खसेको छ । यो कुल मतदाता संख्याको ६६.४ प्रतिशत हो । गाउँपालिकामा कुल मतदाता ६ हजार ८१० जना रहेका छन् ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, को वडाध्यक्ष पदका लागि भएको मतदानमा १ हजार १४६ अर्थात् ७९ प्रतिशत मत खस्यो । १ हजार ४३४ मतदाता रहेको यहाँ ६०६ महिला र ५४० जना पुरुष सहभागी भए ।
कुल ३५३ जना मतदाता रहेको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि भएको मतदानमा ३०३ मत मात्रै खस्यो । यहाँ वडाध्यक्ष पदका लागि लागि ४ जनाको उम्मेदवारी दर्ता भएको थियो ।
कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ४११ मत खसेको छ । जसमध्ये २१७ जना महिला र १९४ जना पुरुष मतदानमा सहभागी भएका छन् । वडामा रहेका कुल मतदाता संख्याको ६४.४ प्रतिशत मत खसे ।
वडामा ६०९ जना मतदाता रहेका छन् ।पद रिक्त रहेर आइतबार निर्वाचन भएका कर्णालीका यी ठाउँमा विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
नलगाडको उपप्रमुख पदका लागि ६ जना, सर्केगाडको उपाध्यक्षका लागि ६, महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि ७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि ६ जना, तिलागुफा नगरपालिका–४ मा ६ जना, सानीभेरी गाउँपालिका–५ मा ४ जना, त्रिपुरासुन्दरी नगरपालिका–५ मा ४ जना र कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि ४ जना उम्मेदवार रहेका छन् ।
मतदान सम्पन्न भएसँगै मतपेटिका सङ्कलनको काम भइरहेको छ । निर्वाचन अधिकृतहरूका अनुसार सबै ठाउँको मत आइतबार राति देखिनै गणना गर्ने तयारी भइरहेको छ ।
राराखबर । २०८१, १६ मंसिर आईतवार