महायज्ञबाट पाँच करोड संकलन गर्ने लक्ष्य

सुर्खेत
आश्रयविहीनहरुलाई आश्रय दिनको लागि मानव सेवा आश्रमको भवन निर्माण गर्न यही मंसिर २१ देखि २८ गतेसम्म सुर्खेतमा हुने महायज्ञमा करिव पाँच करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ ।
वीरेन्द्रनगरको खुल्लामञ्चमा हुने महायज्ञबाट ५ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको महायज्ञ मूल आयोजक समितिले गरेको छ ।
महायज्ञ अयोजक समितिका संयोजक डा. नवराज केसीले सडकमा रहेका मानिसलाई उद्धार गरेर राख्ने मात्र नभई मानव अध्ययन केन्द्र बनाउने लक्ष्य रहेको बताए ।
उनले महायज्ञमा कथा वाचक गुरु र कलाकारले पैँसा नलिने पनि उल्लेख गरे ।
महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथावाचक गर्ने छन् ।
साथै महायज्ञमा सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामुहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाक्री प्रदर्शनजस्ता कार्यक्रम रहेका छन् ।
महायज्ञ अवधिभर बिहान ५ देखि ७ बजेसम्म योगको कार्यक्रम रहेको र उक्त कार्यक्रममा अन्तराष्ट्रिय स्तरका प्रशिक्षकले योग सिकाउने छन् ।
७-९ बजेसम्म प्लस टु तहका विद्यार्थीहरुलाई योग, प्रणायम, ध्यान र मानवता प्रवद्र्धनको महत्व सम्वन्धी प्रशिक्षण दिइने छ ।
९-११ सम्म ८, ९, १० कक्षाका विद्यार्थी, त्यसपछि बेलुका ४ बजेसम्म कथा वाचन र साझ ८ बजेसम्म कलाकारबाट भजनको कार्य हुने छ ।
महायज्ञमा सन्दुक रोइत, चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यजस्ता व्यक्तिहरुको पनि सहभागीता हुनेछ ।
महायज्ञ आयोजक समितिले ५०० देखि १ करोडसम्मको योगदान गर्नेलाई सम्मान गर्ने जनाएको छ ।
यस्तै एक करोडको योगदान गर्नेको मानवसेवा आश्रमको कम्पाण्डभित्र निर्माण हुने कुनैपनि ब्लकको नामकरणसहित दाताको अर्धकदको शालिक पनि निर्माण गर्ने योजना छ ।
यस्तै ५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्षमा शिलालेख गरिने छ ।
३१ लाखसम्म योगदान गर्नेको आश्रमको भान्सा र भोजन कक्षको नामकरण गरी सोही कक्षमा शिलालेख राखिने छ ।

०७५ सालबाट सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको छ ।
भवन निर्माणका लागि कणर्ाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी छ ।
देशभर खुल्ला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरुको मानवोचित व्यवस्थापन गरिने मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले बताए ।

आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका-११, स्थीत गंगामाला धार्मिक वन र देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया