सुर्खेत- वाइडबडी विमान खरिदमा भ्रष्टाचार प्रकरणमा मुछिएका नेपाली कांग्रसका नेता तथा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका छन् ।
बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासले नीजसहितलाई सफाइ दिएको हो ।
विशेषले नेपाल वायु सेवा निगमबाट हुने विमान खरिदबापतको रकममध्ये ‘कमिटमेन्ट शुल्क’ भुक्तानी गर्न अमेरिकी डलर सटहीका लागि ‘मन्त्रीको हैसियतमा सिफारिसको टिप्पणी सदर गरेको मात्र कार्यले शाहीको बदनीयतपूर्ण संलग्नता रहेको भन्न नमिल्ने’ ठहर गरेको हो ।
“तसर्थ, निज प्रतिवादी जीवनबहादुर शाहीविरुद्धको आरोप दाबी प्रमाणबाट पुष्टि हुन नआएकाले निजले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ,” फैसलामा भनिएको छ ।
शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन् ।
सफाइ पाएपछि शाहीले सामाजिक सजाल फेसवुकमा यस्तो प्रतिक्रिया दिएका छन् “सत्यमेव जयते ” “सत्यलाई समस्या हुनसक्छ तर हराउन कदापि सकिन्न् ” गतिशील राजनीतिज्ञ र नेतृत्वकर्ताले जीवनमा कैयौं परिक्षा दिइ रहनु पर्ने रहेछ ।
सम्मानित न्यायालयबाट न्याय मिलेको छ । थोरै भएपनि जीवनमा नयाँ उर्जा थपिएको छ।तपाँईहरूको स्नेह र भरोसाको तागतमा म कत्ति पनि विचलित थिइन् र हुने पनि छैन्, तपाँईहरूको साथमा निरन्तर अविचलित रही रहने छु।
राराखबर । २०८१, २१ मंसिर शुक्रबार