सुर्खेतको वीरेन्द्रनगरमा ऐतिहासिक कलश यात्रा

आश्रमको भवन निर्माणमा प्रदेश सरकारले पूर्ण सहयोग गर्छ- मुख्यमन्त्री कँडेल


सुर्खेत
आश्रयविहीनहरुका लागि आश्रय दिने उद्देश्यले वीरेन्द्रनगर आयोजना गरिएको महायज्ञमा ऐतिहासिक कलश यात्रा निकालिएको छ ।
बुलबुले तालबाट निकालिएको कलश यात्रा बीरेन्द्रनगर बजार, घण्टाघरचोक हुँदै महायज्ञ स्थल खुलामञ्चमा पुगेको थियो ।
कलश यात्रामा झण्डै पचास हजार भक्तजनहरुको सहभागीता रहेको महायज्ञ आयोजकहरुले दावी गरेका छन् ।
उनीहरुका अनुसार सुर्खेतको बीरेन्द्रनगरमा विगतमा भएका महायज्ञहरुको तुलनमा यो महायज्ञ ऐतिहासिक र भव्य हो ।
यात्रामा करिव पाँच हजार कशल मात्र बोकेका मानिसहरुको सहभागीता रहेको उनीहरुको भनाई छ ।
कशल यात्रासँगै विभिन्न संघसंस्थाहरुले झाक्रीहरु समेत प्रदर्शन गरेका थिए ।


आश्रयविहीनहरुलाई आश्रय दिने उेद्दश्यका साथ मानव सेवा आश्रम सुर्खेतको भवन निर्माणका लागि वीरेन्द्रनगरको खुल्लामञ्चमा शुक्रवारदेखि श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ ।
मंसिर २८ गतेसम्म सञ्चालन हुने महायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आश्रम निर्माणमा प्रदेश सरकार पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले भने ‘मानवताका लागि सबैले सहयोग गर्नुपर्छ । यो पुण्य काम हो ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्री राजीवबिक्रम शाहले आश्रम निर्माणको लागि प्रदेश सरकारको साथै व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने बताए ।


महायज्ञ मूल आयोजक समितिका संयोजक डाक्टर नवराज केसीले आश्रमको भवन बनाउन आवश्यक पुँजी जुटाउन महायज्ञ लगाइएको उल्लेख गरे ।
भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ दिने घोषणा गरेको छ ।
यद्यपि उक्त रकम अभाव हुने भएपछि रकम जुटाउन महायज्ञ लगाउन लागिएको हो ।
आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन र देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ ।


२०७५ माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा आश्रमले भाडाको घरबाट मानव सेवा आश्रमले सेवा दिइरहेको छ ।
महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले निशुल्क रुपमा कथा वाचन गर्ने छन् ।
गौतमले यस अघि मानव सेवा आश्रमका विभिन्न ठाउँमा रहेका भवन निर्माणको लागि गरिएको महायज्ञमा निशुल्क कथा वाचन गरेका छन् ।
महायज्ञमा ख्याती प्राप्त व्यक्तित्वहरु डा.सन्दुक रुइत, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल लगायत पनि सहभागी हुने आयोजकले जनाएका छन् ।


महायज्ञबाट करिब ५ करोडक रकम संकलन हुने अपेक्षा गरिएको उनले बताए ।
आयोजकका अनुसार एक करोडको योगदान गर्नेको मानवसेवा आश्रमको कम्पाण्डभित्र निर्माण हुने कुनैपनि ब्लकको नामकरणसहित दाताको अर्धकदको शालिक निर्माण गरिने छ ।


५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्ष निर्माण गरी सोही कक्षमा शिलालेख गरिने छ भने ३१ लाखसम्म योगदान गर्नेको आश्रमको भान्सा र भोजन कक्षको नामकरण गरी सोही कक्षमा शिलालेख राखिने छ ।
आयोजक समितिका अनुसार ५०० देखि १ करोडसम्मको योगदान गर्नेलाई सम्मान गरिने छ ।
महायज्ञ उद्घाटन कार्यक्रममा कर्णाली सरकारका मन्त्रीहरु, सभामुख, सरकारी अधिकारीहरु, सरोकारवालाहरु गरी हजारौँको सहभागी रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया