नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेडक्वार्टरले वीरेन्द्रनगरमा ‘रन फर युनिटी’ गर्दै

सुर्खेत
नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेडक्वार्टर सुर्खेतले यही फागुन १२ गते वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्न लागेको छ ।

कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडको प्रवर्द्धन र खेलकुद क्षेत्रको विकास गर्दै एकताको भावना जागृत गर्न रन फर युनिटी गर्न लागिएको सेनाले जनाएको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै उत्तर–पश्चिम पृतनाका पृतनापति उपरथी कृष्णदेव भट्टले सेना र जनतावीचको सम्बन्धलाई मजबुत बनाउँदै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने रन फर युनिटी गर्न लागिएको बताए ।

रन फर युनिटी कार्यक्रमबाट खेलाडीहरूलाई हौसला मिल्नुको साथै सेना र जनतावीचको सम्बन्ध अझ सुमधुर हुने उनको विश्वास छ ।

पत्रकार सम्मेलन मार्फत पश्चिम पृतना हेडक्वाटरले चालु आर्थिक बर्षको साउन महिनादेखि हालसम्म गरेका जनहितका कामहरुसहित भुकम्प, बाढीपहिरो, कोभिडजस्ता प्राकृतिक प्रकोप र प्रकृति संरक्षणमा सेनाले गरेका योगदानहरुबारे जानकारी दिइएको थियो ।


प्रतियोगितामा पाँच किलोमिटर पैदल यात्रादेखि २१ किलोमिटरसम्मको समावेश गरिएको छ ।
कक्षा ८ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूका लागि छात्र ५ किलोमिटर र छात्रा ५ किलोमिटर दौड राखिएको छ ।
१० किलोमिटरतर्फ खुल्ला पुरुष र खुल्ला महिला दौडको पनि राखिएको छ भने २१ किलोमिटर खुल्ला पुरुष दौड समावेस गरिएको छ ।
५ किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, ५ हजार र ३ हजार, १० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन् ।
यस्तै २१ किलोमिटर दौडमा प्रथम हुनेले ३५ हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ पुरस्कार र प्रमाणपत्र पाउने बताएको छ ।
प्रतियोगीताकै दिन सेनाले सैनिक सामग्री तथा फोटो प्रदर्शनीको पनि गर्ने बताएको छ ।
प्रतियोगीतामा भाग लिन चाहानेहरुले पृतना गेट, कपासे व्यारेक, मंगलगढी विद्यालय र विमानस्थल नजिकै रहेको सैनिक क्याम्पबाट फर्महरु भर्ने व्यवस्था मिलाएको सेनाले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया