प्रदेश अस्पतालका निर्देशक  डाक्टर खड्काका ८ बर्ष ८ उपलब्धि

सुर्खेत

भौतिक पूर्वाधारमा फड्को

८ बर्ष अघि डाक्टर डम्वर खड्काले तत्कालिन क्षेत्रिय अस्पताल  अर्थात अहिलेको प्रदेश अस्पताल सुर्खेतको नेतृत्व लिदा अस्पतालको अवस्था निकै नाजुक र दयनिय थियो ।

शौचालय दुर्गन्धीत र ढोकाहरु भ्याङ परेका थिए ।  प्रसुति वार्डमा बेसिनहरु थिएनन् । वेड, आइवी स्ट्यान, टर्ली, विरामीले प्रयोग गर्ने लकरहरु खिया लागेर जिर्ण अवस्थामा थिए ।

भौतिकसँगै अस्पतालले आवश्यक जनशक्ति र उपकरणको समेत अभाव   झेलिरहेको थियो ।

धेरैजसो मानिसलाई अस्पतालको सेवाप्रति भरोसा थिएन् । त्यसैले विरामी पर्दा उनीहरु प्रायजसो नेपालगंज, काठमाडौ र लखनउका अस्पताल जान्थे ।

निर्देशकको जिम्मेवारी समाल्न वित्तिकै उनले अस्पतालको दुरावस्थालाई बदल्न  शौचालयको सरसफाई र ढोकाहरु बदल्नबाट काम थालेको बताए ।

पुराना र खिया लागेका वेड, लकर, आइवी स्ट्यानलाई रंगरोगन गरेर सफास पारे । इन्डोर, ओपिडी र क्वाटरमा टायल विच्छाएर अस्पताल आर्कषक बनाए ।

आवस्यक जनशक्ति र उपकरणको व्यवस्था गरे । सेवा सुविधा बढेपछि अस्पतालले जनताको विस्वास बटुल्न थाल्यो । अनि विरामीको चाप दिनदिनै बढ्न थाल्यो ।

८ बर्ष अघि मुस्किलले दैनिक डेढसय विरामी आउने अस्पतालमा अहिले १८ सयको हाराहारीमा विरामी आउँछन् ।

 अहिले अस्पतालको भवन नयाँ बनेको छ । अस्पताल ५० वेडबाट ३०० वेडको भएको छ ।

जनशक्ति तेब्बर

यो वीचमा ४ वटाबाट १५ वटा विशेषज्ञ सेवा र  ५ जनाबाट ८० जना चिकित्सक कार्यरत छन ।  उनीहरु मध्ये ४५ जना त विशेषज्ञ चिकित्सक मात्रै  छन् । अहिले भने सबै कर्मचारी ५ सय भन्दा बढी कार्यरत छन् ।

आफुले जिम्मेवारी लिंदा कसैको दवावमा नभई आफ्नै हिसावले काम गर्न दिनुपर्छ भन्ने सर्त राखेका निर्देशक खड्का अस्पतालको शाख र स्तरलाई तल झर्न नदिने गरी काम गरिरहेको दावी गर्छन ।

नेतृत्व गर्ने व्यक्ति आफ्नो इथिक्स (मुल्य मान्यता) मा रहे चाहेको परिवर्तन गर्न धेरै समय नलाग्ने उनको अनुभव छ ।

आफुले नेतृत्व गरेको संस्थालाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने सोचाइ राखेर अघि बढेको हुनाले अस्पताललाई देशकै उत्कृष्ट बनाउन सम्भव भएको हो, उनले भने, घरमुली असल, ज्ञानी र अनुशासित भए परिवार आफै राम्रो र सुन्दर हुदो रहेछ ।

कुनै पनि काममा हात हालेपछि सत प्रतिशत राम्रो गर्नेमा जोड दिन्छन ।

सेवाग्राहीको विस्वास आर्जन

स्वास्थ्यमा लागेर राम्रै काम गरे भन्ने अनुभूति बाँचुन्जेल होस भन्ने चाहाना राख्ने उनले उत्कृष्ट सेवासँगै अस्पतालको सरसफाई, बगैचा व्यवस्थापनजस्ता कामलाई पनि उत्तिकै महत्व दिएका छन् ।

अस्पताल हाताभित्र प्रवेस गर्न वित्तिकै कतिपय  विरामीले अस्पताल नभइ सुन्दर    पार्कतिर घुम्न आएको अनुभूतिको गरेको बताउँछन् ।

अस्पतालभित्र बाहिरको सरसफाइ, सुन्दर बगैचा, पानीको फोहोराजस्ता कुराले अस्पताल नभइ पार्कतिर घुम्न आएको अनुभूति हुने गरेको बिरामी बताउँछन ।

सेवा बिस्तार र सुधार

अस्पताल आफैले ब्लड बैक, फार्मेसी, एम्वुलेन्स सेवा संचालन गरेको छ । काठमाडौ र पोखरापछि किट्नी प्रत्यारोप सेवा सुरु गरेको छ ।

विमा, जनरल, इमरजेन्सी र निशुल्क औषधी वितरण गर्ने चार वटा फार्मेसी चलाएको हुनाले औषधी लिन धेरै लाइनमा बस्नु पदैनन् ।

अव १२ वटा अप्रेसन थेटरहरु संचालनमा ल्याउन लागिएकोले अव नीजिमा भन्दा पनि छिटो सेवा अस्पतालले  दिने निर्देशक खड्का बताउँछन् ।

उनी भन्छन, अप्रेसनको लागि धेरै समय कुर्न पदैन् ।

अहिले अस्पतालले क्यान्सर वाहेक डाइलासिस, आइसीयू, एनआइसीयू, म्यामोग्राफी, निसन्तान, एमआरआइ, सिटी स्क्यानजस्ता सबै सेवा दिएको छ ।

मुटु बाहेक हाडजोर्नी, न्युरोसर्जरी, नाक, कान, घाटी, पत्थरीलगायतका सबै अप्रेसनहरु  अस्पतालमा हुने भएकोले कर्णालीबासीलाई ठुलो राहात भएको छ ।

उच्चस्तरीय स्वास्थ्य सेवा

गतवर्ष निक साइमन इन्स्टिच्यूट नामको एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको सहयोगमा स्वास्थ्य मन्त्रालयको उपचारात्मक महाशाखाले गरेको अध्ययनमा प्रदेश अस्पताल सुर्खेत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्न देशभरिमै उत्कृष्ट सेवा दिने अस्पताल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

आफ्नो काम गर्ने इच्छा शक्ति र सबैको  सहयोगबाट सेवा प्रवाहमा प्रदेश अस्पताल देशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको उनले बताए ।

उनको काम गर्ने शौली र काम प्रतिको लगाव अरु भन्दा भिन्न छ । उनी आफै बढी काममा खट्छन् । आफैले फोहर टिप्न थाल्छन् ।

स्वदेश विदेश जहाँ गएपनि त्यहाँको स्वास्थ्य क्षेत्र विशेषगरी अस्पतालका राम्रा र नयाँ कुराहरु पाए अस्पतालमा लागु गरिहाल्छन् ।

अस्पतालमा ठुलावडाले जुन सेवा सुविधा पाउँछन आम नागरिकले पनि त्यही नै सेवा पाउन भन्ने उनको चाहाना छ ।

अस्पतालमा विरामी चेकजाँच गर्नु जानुअघि हरेक दिन बैठक बसेर अघिल्लो दिनको कामको समिक्षा र आज गर्ने कामको बारेमा छलफल हुन्छ ।

अस्पतालका  कुनै पनि कर्मचारी र स्वास्थ्यकर्मीले अस्पतालमा आएका विरामीलाई नीजिमा लिए वा पठाए तुरुन्तै कारवाही गरिन्छ ।

एकदमै अनुसासित ढंगले चलेको हुनाले मात्रै अस्पतालले छिटो छरितो सेवा प्रवाह गर्न सफल भएको छ ।

विरामीको चाप अत्याधिक बढ्न थालेपछि जनरल ओपिडी सेवा बिहान ८ देखि ५ बजेसम्म चलाएको छ ।

सकभर एक दिनमै नभए २ दिन भित्र उपचार गरेर विरामी घर फर्किन सक्ने गरी अस्पतालले सेवा दिइरहेको निर्देशक खड्काले बताए ।

समन्वय र सहकार्य

अस्पतालाई राम्रो बनाउन प्रदेश सरकारलसहित यस क्षेत्रका राजनीतिककर्मी, मन्त्री, सांसद, संचारकर्मी आमनागरिकको आ आफ्नो ठाउँबाट धेरै ठुलो भुमिका रहेको उनको भनाइ छ ।

एमडी/ एमएस जनशक्ति उत्पादन गर्न प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने योजनामा उनी छन् ।

प्रतिष्ठान बनाए कर्णालीका सबै जिल्लाहरुबाट विशषज्ञ सेवा पनि दिन सकिन्छ । जनताले पनि नयाँपन, नयाँ गुणस्तर र नयाँ सुविधा पाउँछन् ।

प्रदेश अस्पताललाई राम्रो बनाउने क्रममा उनले धेरै खालका चुनौतिसँग जुँध्नु परिरहेको छ ।

काम गर्ने सिलसिलामा आएका चुनौतिलाई अवसरको रुपमा प्रयोग गरे, उनी भन्छन्, कसैले गाली गरे । धेरैले आक्षेप पनि लगाए । तर पनि हिक्मत हारिन । हतोसाहित भइन । चुनौतिलाई अवसरको रुपमा लिए । अनि आफ्नो काममा सफल भए ।

नेतृत्वकर्ता  जसले जे भन्यो त्यसेको पछि लाग्नु हुदैन । त्यस्तो गर्न थाल्यो भने संस्था राम्रो हुँदैन ।

सल्लाह सबैको लिने ठिक/वेठिक छुट्याएर आफ्नो ढंगले अघि बढने र आफ्नो निर्णयमा अडिक रहे मात्र सफल भइन्छ ।

प्रदेश अस्पताल सुधारको लागि उत्कृष्ट काम गरेका उनलाई सरकारले सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभुषित गर्नुका साथै अरु थुप्रै निकायबाट पुरस्कार र सम्मान पाएका छन् ।

कोरोनासँग साहसिक लडाँइ

कोभिडको समयमा प्रयाप्त वेड, मेसिन औजार किन्ने, थप जनशक्ति राख्ने अवसर मिलेको भन्दै उनले कोभिडले अस्पतालहरुलाई धेरै नै फाइदा गरेको बताउँछन् ।

अस्पतालमा ३ जना टेक्निसियन छन् । विग्रेका मेसिन औजारलाई तुरुन्तै बनाएर संचालनमा ल्याउँछन् ।

उनी भन्छन्, अन्यत्र विग्रियो भने मेसिन औजार त्यसै थन्किन्छन तर हाम्रोमा भने बनाएर चल्ने वेलासम्म चलाउँछौ ।

कोडिभको समयमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ज्यानै जोखिममा पारेर विरामीलाई सेवा दिएका थिए ।

कोभिडको बेला  एक दिन पनि बिदा नलिएर खटिएका निर्देशक खड्काले कोभिड र टिवी हुँदा पनि कसैलाई नभनेर ६ महिनासम्म औषधी खाएर काम गरेका थिए ।

अत्याधुनिक स्वास्थ्य उपकरण

प्रदेश अस्पताललाई आधुनिक सुविधा युक्त बनाउन करिव ५ दर्जनको संख्यामा आधुनिक औजार, उपकरण र स्वास्थ्य सामाग्री खरिद गरिएको छ । अस्पतालमा २५० केभिएको जेनेटर र ३० केभिएको सोलार सिस्टम जडान गरिएको छ । ५०० सय केभिएको अटोमेटिक भोल्टेज रेगुलेटर राखिएको छ भने ६४ च्यानलको एमआरआइ मेसिनबाट सेवा दिइएको छ । यस्तै सिटी स्कानसहितका विभिन्न उपकरणबाट कर्णालीबासीलाई स्वास्थ्य सेवा दिइरहेको निर्देशक खड्काले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया