सुर्खेत । कर्णाली प्रदेशको राजधानी सर्खेतको वीरेन्द्रनगरलाई महिलामैत्री सहर बनाउन समुदायस्तरमा छलफल गरिएको छ । वीरेन्द्रनगरको वडा–५, मा रहेको गणेशचोक र वडा–९, को लाटिकोइलीस्तिथ शिव मन्दिरको सह–डिजाइनमाथी समुहगत छलफल गरिएको हो ।
गणेशचोक र शिव मन्दिरमा रहेको खुल्ला क्षेत्रमा कस्तो पूर्वाधार निर्माण गर्न सकिन्छ भनेर दुई टोलका समुदायले मंगलबार र बुधबार समुहगत छलफल गरेका हुन् । समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीतामा उनिहरुको चाहाना अनुसार सह–डिजाइनमाथी छलफल गरिएको वीरेन्द्रनगरका सहरी योजनाकार सुगम गौतमले जानकारी दिए ।
उनका अनुसार देशैभरिका ७ वटा स्थानिय तहलाई छनोट गरेर महिलामैत्री सहर परियोजना लागु गरिएको छ । सोही अन्तरगर्त प्रदेश राजधानी वीरेन्द्रनगरमा परियोजना विगत डेढ वर्षेदेखि सञ्चालनमा रहेकोछ ।
‘हामीले पहिलो चरणमा वडाका विभिन्न खुल्ला क्षेत्रहरुको पहिचान गर्यौ र, समुदायको प्राथामिक्ताको आधारमा यी दुई स्थानलाई छनोट गरेर सह–डिजाइन गरेका छौं,’ सहरी योजनाकार गौतमले राराखबरसँग भने, ‘सोही सह–डिजाइनमा समुदायको सहभागीतामा समुहगत छलफल गरिएको छ ।’
समुदायमा आधारित महिलामैत्री सहर बनाउने परियोजनाको उद्देश्य रेको छ । दुईवटै स्थानको खुल्ला क्षेत्रमा महिलामैत्री सहरमा आधारित आराम गृह, शौचालय, बालबालिका खेल्ने स्थान, सबैको पहुँचयोग्य पैदल लेन, बगैंचा आदि निर्माण गर्ने विषयमा समुहगत छलफल गरिएको छ ।
छलफलमा सहभागी समुदायका अगुवा, नागरिक समाज, बालबालिका, युवा, महिला, अपांगता भएका व्यक्ति र लैगिंक अल्पसंख्यहरुको सहभागितामा सह–डिजाइन गरिएको छ ।
खुल्ला क्षेत्रमा पूर्वाधारहरु निर्माण गर्दा स्थानिय समुदायको सहभागिता र आवश्यकतामा आधारित रहेर निर्माण गर्ने गरिएको यूनोप्सका सहरी योजनाकार पद्यमा अर्यालले जानकारी दिइन् । ‘खुल्ला क्षेत्रमा संरचना बन्दा स्थनियहरुको पनि सहभागिता गराउन, अपनत्व दिलाउँन र दिर्घकालिन रुपमा सञ्चालन गर्न समुदाय स्तरको सहभागितमा छलफल गर्दै आएका छौं,’ उनले भनिन् ।
परियोजनाले समतामूलक महिलामैत्री, लैंगिकमैत्री वीरेन्द्रनगर बनाउन सहयोग पुग्ने वडा–५, का कार्यबहाक वडाअध्यक्ष नम्रता कार्कीले जानकारी दिइन् ।
उक्त परियोजनाले ऐतिहाँसिक धार्मीक महत्वको शिव मन्दिरलाई थप आकर्शक बनाउने वडा–९ का अध्यक्ष ऋषी गिरीले बताए । ‘शिव मन्दीर आफैमा धार्मीक पर्यटकीय हिसावले महत्व बोकेको क्षेत्र हो,’ वडाध्यक्ष गिरीले भने, ‘यो परियोजना सम्पन्न भए थप आकर्शक बन्नेछ र पर्यटकहरुको आगमन पनि बढ्नेछ ।’ उक्त परियोजना अन्तर्गत शिव मन्दिरको पछाडिको भागमा समातामुलक पार्क बन्ने उनले बताए ।
राराखबर । २०८२, २ जेष्ठ बिहीबार