सुख-दुःखका साथी विष्णु खड्का अब चुनावी मैदानमा

कार्यकर्ताको रोजाइ र जनताको भरोसा  

सुर्खेत

लामो समयदेखि पर्दा पछाडि बसेर संगठन निर्माणमा खटिएका र शालीन नेताको छवि बनाएका काँग्रेस सुर्खेतका उप सभापति विष्णुबहादुर खड्का यसपटक सुर्खेत क्षेत्र १ बाट प्रत्यक्ष चुनावी मैदानमा होमिएका छन्।

पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनाव नलड्ने घोषणा गरेपछि यो क्षेत्रमा काँग्रेसको विरासत कसले थाम्छ भन्ने चासोका बीच उपसभापति खड्काले मनोनयन दर्ता गराएका हुन्।

 मूलधारको राजनीतिसम्म

उनी सुर्खेत काँग्रेसका लागि नयाँ अनुहार होइनन्, तर उनी लामो समयसम्म आफ्नै दाजु पूर्णबहादुर खड्काको राजनीतिक उचाइका कारण ‘छायाँ’ मा परेका थिए।

एउटै घरबाट दुई दाजुभाइ राजनीतिमा सक्रिय हुँदा आलोचना खेप्नुपर्ने डरले उनले वर्षौंसम्म आफूलाई संगठनको भित्री काममा मात्र सीमित राखे।

तर, उनको राजनीतिक पृष्ठभूमि भने बलियो छ। मध्यपश्चिम यातायात व्यवसायी समितिको सफल नेतृत्व गरेर आफ्नो व्यवस्थापकीय क्षमता प्रमाणित गरिसकेका खड्का कुशल संगठनकर्ता मानिन्छन्।

काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदमा भारी मतका साथ निर्वाचित हुनुले पनि उनको लोकप्रियता र पकडलाई पुष्टि गर्दछ।

किन बलिया छन् खड्का?

क्षेत्र नं. १ मा खड्कालाई एक ‘जनप्रिय र स्वच्छ छवि’ भएको उम्मेदवारका रूपमा हेरिएको छ। स्थानीय कार्यकर्ताका अनुसार उनी  पद र सत्ताको लोभ नगरी वर्षौंदेखि जनताको सुख-दुःखमा साथ दिँदै आएका, पार्टीको तल्लो तहसम्म पुगेर कार्यकर्ताको भावना बुझ्ने र संगठनलाई चलायमान बनाउन सक्ने क्षमता भएका  विवादरहित छवि, सबैलाई समेटेर लैजान सक्ने स्वभाव र क्षमता भएका नेता हुन ।

खड्का आफैँ यसपटक उम्मेदवार बन्ने दौडमा थिएनन्। उनी त पार्टीले पठाउने जोसुकै उम्मेदवारलाई जिताउन कम्मर कसेर बसेका थिए।

तर, क्षेत्र नं. १ का मतदाता र कार्यकर्ताले उनलाई “विकल्पहीन उम्मेदवार” का रूपमा उभ्याइदिए। “जनताको दबाब र कार्यकर्ताको मायालाई नकार्न नसकेरै म चुनावी मैदानमा आएको हुँ,” खड्काले मनोनयनका क्रममा भने।

प्रतिस्पर्धाको मैदान

मंगलबार मेहेलकुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक सहभागिताका साथ मनोनयन दर्ता गराएका खड्काका मुख्य प्रतिस्पर्धा नेकपा (एमाले) का ध्रुवकुमार शाहीसँग हुने देखिन्छ। यस्तै, चुनावी मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह, नेकपाका जीतबहादुर राना र राप्रपाका रविकिरण हमाल पनि छन्।

काँग्रेसको परम्परागत किल्ला मानिने यो क्षेत्रमा खड्काले आफ्नो शालीनता र पुरानो संगठनलाई कसरी भोटमा बदल्छन्, त्यो नै आगामी निर्वाचनको रोचक पक्ष हुनेछ।




फेसबुकबाट तपाईको प्रतिक्रिया