सुर्खेत
नेपाली कांग्रेसका तर्फबाट जाजरकोट जिल्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार खडक बहादुर बुढाले “जाजरकोटबासीको अवस्था बदल्ने” मुख्य एजेन्डा भएको बताए ।
उम्मेदवारी दर्ता गराएपछि जिल्लाबासीलाई अपील जारी गर्दै उनले विगतमा भएका पूर्वाधार विकासका प्रयासहरूको सम्मान गर्दै अबको ध्यान ‘संरचना निर्माण’ बाट माथि उठेर ‘नागरिकको जीवनस्तर सुधार’ मा केन्द्रित हुनेमा जोड दिएका छन् ।
गरिबी र पछौटेपन अन्त्यको संकल्प
बुढाले सरकारी तथ्याङ्क उद्धृत गर्दै जाजरकोटको जुनीचाँदे गाउँपालिका मुलुककै सबैभन्दा बढी गरिबी (७९.८९%) भएको पालिका रहनु र जिल्लाका सबै पालिकाको गरिबी दर राष्ट्रिय औसतभन्दा माथि हुनुलाई गम्भीर चुनौतीको रूपमा प्रस्तुत गर्नुभएको छ। उनले भने, “हामीले सडक र भवन त बनायौँ, तर जाजरकोटबासीको भान्सामा परिवर्तन आउन सकेन। अब यो अवस्थालाई टुलुटुलु हेरेर बस्न सकिँदैन।”
२०८० कार्तिक १७ को रामिडाँडा भूकम्पका पीडितहरू अझै पनि चिसो त्रिपालमुनि बस्नु परेको र सरकारी पुनर्निर्माणको गति “कछुवा” जस्तो भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे
सामान्य शल्यक्रियाका लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नु र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु आफ्नो प्राथमिकता रहने उनको प्रतिबद्धता छ।
युवा लक्षित एजेन्डा र समृद्धिको खाका
युवाहरू रोजगारीका लागि कालापहाड र खाडी मुलुक जानुपर्ने बाध्यता रोक्न कृषि, जडीबुटी र जलविद्युतको प्रचुर सम्भावनालाई सदुपयोग गर्ने रोडम्याप आफूसँग रहेको बुढाले दाबी गरे ।
“म जाजरकोटको यही धुलो-माटोमा हुर्किएको तपाईंको भाइ-छोरो र साथी हुँ,” उनले अपीलमा भनेका छन, “विज्ञान र प्रविधिको यो युगमा भूगोलले हाम्रो भाग्य निर्धारण गर्दैन।
हामी हाम्रो अवस्था बदल्न सक्छौँ। संघीय संसद र सिंहदरबारमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न मलाई तपाईंहरूको साथ चाहिन्छ।”
नेपाली कांग्रेसको विरासत र युवा जोशसहित चुनावी मैदानमा होमिएका बुढाले जिल्ला भित्र र बाहिर रहेका सम्पूर्ण जाजरकोटबासीलाई “जाजरकोटबासी हुनुमा गर्व गर्न लायक जिल्ला” बनाउने अभियानमा जोडिन आह्वान समेत गरेका छन् ।

राराखबर । २०८२, ६ माघ मंगलवार