
सुर्खेत
रुकुम पश्चिमको चुनावी प्रतिस्पर्धामा माओवादी जनयुद्धका गुरु जनार्दन शर्मालाई चेला गोपाल शर्माले हराएका छन् ।
माओवादी द्वन्द्व कालमा एउटै मोर्चामा रहेर युद्ध लडेका गुरु जनार्दन आफ्नै चेलाबाट चुनावमा भने पराजित हुन पुगेका छन् ।
२०६४ सालबाट लगातार चुनाव जित्दै आएका जनार्दनलाई यस पटकको चुनावमा भने आफ्नै चेलाले ब्रेक लगाइ दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका गोपालले प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट चुनाव लडेका जनार्दनले ७,२६३ मतले हराएका हुन । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजु केसी भएपछि जनार्दन भने तेस्रो स्थानमा आएका छन् ।
जनार्दनले १४,३४६ र गोपालले २१,६०९ मत ल्याएका छन् । यस्तै काँग्रेसका राजु केसीले १६,६६१ र रास्वपाका मानबहादुर शाहीले ४,०७६ मत ल्याएको निर्वाचन स्रोतले जनाएको छ ।
नयाँ दल खोलेर चुनावमा होमिएका जनार्दनले आफ्नो उम्मेदवार फिर्ता गरेर नेकपा एमालेले समेत समर्थन गरेपनि जित्न सकेनन् ।
जनार्दनले यस अघि २०६४ र २०७० सालको संविधान सभा र २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्यको चुनाव जितेका थिए ।
राराखबर । २०८२, २४ फाल्गुन आईतवार