स्थानीय स्तरमा आइसोलेशन केन्द्र बढ्दा ‘अस्पतालमा चाप कम’

  • प्रकाश पन्त
  • सुर्खेत
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टरमा अहिले ११ जना कोभिड सङ्क्रमित बिरामीको उपचार भइरहेको छ।

दोस्रो लहरसँगै गाउँमा पनि कोभिडका बिरामी देखिन थालेपछि उपचारको लागि तीन ठाउँमा १५/१५ बेडको अक्सिजनसहितको आइसोलेशन सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतले पनि भर्खरै अक्सिजनसहितको २५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ।

‘आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने भए मात्र रेफर’

नगरमा सङ्क्रमित बिरामी बढ्न थालेपछि दुई जना एमबीबीएस डाक्टरसहित कोभिड अस्पताल सञ्चालनमा ल्याएको उपप्रमुख मोहनमाया ढकालले बताइन्।

नगरले सञ्चालन गरेको कोभिड अस्पतालले आईसीयू र भेन्टिलेटरमा राख्नु पर्ने बिरामीलाई मात्र प्रदेश अस्पतालमा ‘रेफर गदै आएको’ बताइएको छ।

दोस्रो लहरसँगै सङ्क्रमण र मृत्यु बढ्न थालेपछि चौरजहारी र वीरेन्द्रनगर जस्तै कर्णालीका धेरैजसो स्थानीय सरकारले आइसोलेशन सेन्टर बनाएर सङ्क्रमित बिरामीको उपचार गरिरहेका छन्।

अहिले ३३ वटा स्थानीय तहले आइसोलेशन सेन्टर बनाएका छन्। तीमध्ये १९ वटा स्थानीय तहका आइसोलेशन सेन्टरमा १६८ जना सङ्क्रमितको उपचार भइरहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

संस्थागत आइसोलेशनमा रहेका ३९७ जना मध्ये २२९ जनाको भने जिल्ला अस्पतालहरू, प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

कर्णाली प्रदेशमा रहेका ५,५८२ जना सक्रिय सङ्क्रमित मध्ये मङ्गलवार सम्म ५,१८५ जना सङ्क्रमित भने होम आइसोलेशनमै रहेका छन्।

सामान्य समस्या देखिएका बिरामीको आइसोलेशन सेन्टरमा उपचार गर्ने र जटिल समस्या देखिए सुविधायुक्त अस्पतालमा रेफर गर्ने व्यवस्था गरिएको चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले बताए।

उनले भने, “महामारीको बेला टुलुटुलु हेरेर बस्न सक्ने अवस्था भएन। त्यसैले नागरिकको ज्यान जोगाउने जिम्मेवारी र दायित्व सम्झेर आइसोलेसन सेन्टर सञ्चालन गरियो।”

वीरेन्द्र नगरपालिकाले सङ्क्रमित बिरामीको लागि एम्बुलेन्स सेवा, खाना र औषधी समेत निःशुल्क उपलब्ध गराइरहेको जनाएको छ।

उपप्रमुख मोहनमाया ढकाल भन्छिन्, “कोभिड अस्पतालमा पर्याप्त अक्सिजन सुविधासहित निकट भविष्यमै ५० शय्याको बनाउँछौँ।”

अस्पतालमा सङ्क्रमित बिरामीको ‘चापमा कमी’

सङ्क्रमितको उपचारमा स्थानीय सरकार सक्रिय भएर लागेपछि पछिल्लो समय कर्णाली प्रदेशका अस्पतालहरूमा कोभिडका बिरामीको चाप घटन थालेको बताइएको छ।

Karnali

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्का स्थानीय तहले सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाएपछि कोरोनाभाइरसको सङ्क्रमण देखिन बित्तिकै अस्पताल आइहाल्ने अवस्थामा कमी आएको दाबी गर्छन्।

“दुई तीन दिनयता प्रदेश अस्पतालमा लक्षणसहितका सिकिस्त बिरामी मात्र आउन थालेका छन्”, उनले भने, “यदि सामान्य बिरामी आइहाले भने उनीहरूलाई आवश्यक परामर्श दिएर घरमै आइसोलेशनमै बस्न प्रेरित गरेका छौँ।”

सुगमका अस्पतालमा मात्र होइन दुर्गमका अस्पतालमा पनि सङ्क्रमित बिरामीको चाप घटन थालेको त्यहाँ कार्यरत चिकित्सकहरू बताउँछन्।

चौरजहारी अस्पतालका निर्देशक डा. कालेब बुढा भन्छन्, सामान्य सङ्क्रमित बिरामीको स्थानीय तहले बनाएका आइसोलेशनमा उपचार हुन थालेपछि अस्पतालमा आउने सङ्ख्या घटेको छ।

पूर्व तयारी नगर्दा सङ्क्रमितको उपचारमा समस्या भएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि स्थानीयसँगै प्रदेश र सङ्घीय सरकार समेत अहिले सङ्क्रमितको उपचार र प्रतिकार्यमा अग्रसर देखिन्छन्।

आर्थिक सहयोग र प्रभाव

अहिले कर्णालीका अस्पतालहरूमा देखिएको अक्सिजन, औषध, परीक्षण कीटजस्ता स्वास्थ्य सामग्रीका साथै जनशक्ति व्यवस्था गर्न सङ्घ र प्रदेश सरकारले ठूलो रकम उपलब्ध गराएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार सङ्घ र प्रदेश सरकारले प्रदेश अस्पताललाई झन्डै ३४ करोड रुपियाँ दिएका छन्।

स्वास्थ्य निर्देशक डाक्टर रविन खड्काले कोभिड व्यवस्थापनको प्रदेश सरकारले कर्णालीका अरू अस्पताललाई एक महिनाको अवधिमा २३ करोड रुपियाँ दिएको बताए।

सङ्घ र प्रदेश सरकारले दिएको उक्त रकमबाट अस्पतालमा चाहिने अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, औषधि, परीक्षण कीट, प्रयोगशाला सामग्री किन्ने र सिकिस्त बिरामीलाई हेलिकप्टरबाट उद्धारमा खर्च हुने छ।

यो रकमले अहिले देखिएको समस्या समाधान गर्न र यस्तो समस्या भविष्यमा दोहोरिन नदिन पूर्व तयारीमा सहयोग पुग्ने निर्देशक खड्का बताउँछन्।

तीन तहका सरकार सक्रिय हुँदा केही दिनयता मृत्यु हुनेको सङ्ख्या तलमाथि भइरहे पनि नयाँ सङ्क्रमण फेला पर्ने क्रममा भने कमी आएको अधिकारीहरू बताउँछन्।

निषेधाज्ञामा कडाइ, भारतबाट आउनेको निगरानी, अनुगमन संयन्त्रलाई क्रियाशील, अक्सिजन आपूर्तिमा सहजता, स्थानीय तहलाई आइसोलेशन सञ्चालन गर्न उत्प्रेरित गर्दा सङ्क्रमणमा कमी आउन थालेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताउँछन्।

उनी भन्छन्, “अहिले सामान्य बिरामी स्थानीय तहकै आइसोलेशन सेन्टरमा रोकिने र सिकिस्त मात्रै अस्पताल आउने वातावरण बनेको छ।”

अक्सिजन अभाव कायमै

कर्णाली प्रदेशमा अहिले पनि अक्सिजनको अभाव कायमै रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ।

कर्णालीका अस्पतालहरूलाई दैनिक ३०० सय वटा ठुला अक्सिजन सिलिन्डर आवश्यक पर्ने भए पनि अहिले डेढ-दुई सय उपलब्ध हुँदै आएको निर्देशनालयले जनाएको छ।

प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट भए पनि अरू अस्पतालहरू भने अक्सिजन सिलिन्डरमै निर्भर छन्। बीबीसीबाट सभार




फेसबुकबाट तपाईको प्रतिक्रिया