सुर्खेत, २० भदौ ।
साहित्यकार झमक घिमिरेलाई मध्यपश्चिमाञ्चल विश्वविद्यायलले मानार्थ विद्यावारिधिबाट सम्मान गरेको छ ।
शारीरिक रुपमा अशक्त भएपनि अनवरतरुपमा समकालीन नेपाली साहित्य सिर्जनामा लाग्दै आएकी घिमिरेलाई विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।
सोमबार काठमाडौंमा आयोजित विशेष दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधि तथा प्रमाणपत्र प्रदान गर्नु भएको छ ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले झमक घिमिरे नेपाली साहित्यकी एउटा अद्भूद पात्र भएको भन्दै उहाँको साहित्यिक योगदानलाई विश्वविद्यालयले कदर गर्नु प्रशंसनीय भएको बताउनु भयो ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरुलाई शिक्षाको नाममा बेरोजगार जन्माउने थलोको रुपमा विकास नगर्न आग्रह गनुृभयो ।
मानार्थ विद्यावारिधिबाट सम्मानित झमक घिमिरेले औपचारिक शिक्षा लिनु भएको छैन ।
बोल्न, हिँड्न नसक्ने तथा राम्रोसँग हातसमेत चलाउन नसक्ने घिमिरेका खुट्टाको औंलाले कलम च्यापेर लेखिएका दर्जन बढी कृतिहरु प्रकाशित छन ।
कार्यक्रममा शिक्षामन्त्र, सवै विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, शिक्षा सचिव, अर्थ सचिव, राष्ट्रिय योजना आयोगका सदस्य लगायतको सहभागीता रहेको विश्वविद्यालयका सुचना अधिकारी विष्णु खड्काले वताउनु भयो ।
तत्कालिन केपी शर्मा ओलीको अध्यक्षतामा सुर्खेतमा वसेको पाँचौ सभाको बैठकले साहित्यकार झमक कुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधि दिने निर्णय गरेको थियो ।
राराखबर । २०७३, २० भाद्र सोमबार