बाबा बयक
सुर्खेत, २५ पुस ।
नेपालमै पहिलो पटक सुर्खेतमा मौसम सम्वन्धि पूर्व जानकारी दिने उपकरण ‘राडार’ स्थापना गर्न पूर्वाधारको काम शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले दैलेख र सुर्खेतको सीमानामा पर्ने रातानाङ्गलामा यो उपकरण जडान गर्न अहिले पूर्वाधारको काम शुरु गरेको हो ।
जल तथा मौसमबाट हुने प्रकोप रोक्न र मौसम सम्बन्धी प्रणालीलाई आधुनिकिकरण गर्न जल तथा मौसम विज्ञान विभागले झण्डै ३० करोडको लागतमा राडार स्थापना गर्न लागेको छ । विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको राडारको टेण्डर प्रक्रिया अन्तिम चरणमा रहेको मध्य तथा सुदूर पश्चिम क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले जानकारी दिए । उनले रातानाङ्गलामा निर्माण हुने राडारले मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको मौसमी पूर्वानुमान गर्नमा सहयोग पुग्ने बताए । ‘राडारले मुख्यगरी पानी, असिना र हिऊको परिमाण कुन क्षेत्रमा कति पर्छ भन्ने सहजै पत्ता लाग्छ,’ सापकोटाले थपे, ‘यसबाट प्रकोप न्यूनिकरण गर्नमा ठूलो योगदान समेत पुग्नेछ ।’ करिव दुई वर्षमा निर्माण हुने राडारले दुई सय ५० किलोमिटर क्षेत्रको मौसमी जानकारी सहजै पत्ता लाग्ने सापकोटा बताउँछन् । रातानाङ्गलामा निर्माण हुने राडारको सेन्सर कार्यालय वीरेन्द्रनगरमा स्थापना हुनेछ । अप्टिकल फाइबरको सहायताले राडारबाट आउने जानकारी विभागको केन्द्रीय कार्यालय काठमाडौंले नै हेर्नेछ ।
यसैवीच राडार स्थापनाका क्रममा अनुगमन समितिले शुक्रबार पूर्वाधार निर्माण क्षेत्रको अनुगमन गरेको छ । क्षेत्रीय वन निर्देशनालयका निमित्त क्षेत्रीय निर्देशक अनिरुद्रप्रसाद ठाकुरको संयोजकत्वमा जिल्ला वन अधिकृत हेमराज विष्ट, कोष तथा लेखा नियन्त्रक कार्यालयका खिमबहादुर बिष्टसँगै मध्य तथा सुदूर पश्चिम क्षेत्रीय हावापानी कार्यालयका प्रमुख सापकोटाले मौसमी राडार स्थापना स्थलमा वन क्षेत्रमा प्रतिकुल असर परे नपरेको विषयमा अनुगमन गरेका छन् ।
समितिका सदस्य समेत रहेका सापकोटाले राडारको टावर स्थापना हुने स्थानमा भएका विद्युतको मेन लाईनका पोल सारि नया ट्रान्समिटर जडान गरिएको र आसपासका रुख हटाई उत्पादित काठ दाउरा नलखोला सामुदायिक वनका पदाधिकारीलाई हस्तान्तरण गरिएको बताए । उनका अनुसार समितिले स्थानीय समुदाय तथा वन उपभोक्ता समूहका पदाधिकारी वीच अन्तरक्रिया गरि वृक्षारोपणका लागि स्थान समेत छनौट गरिएको छ । केही महिना भित्र टावर निर्माणस्थलसम्म पुग्न पहुँच मार्ग निर्माण कार्य समेत गरिने उनको भनाइ छ ।
राराखबर । २०७३, २५ पुष सोमबार