सुर्खेत, २३ कात्तिक ।
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संविधान र विकास–निर्माणलाई मूख्य एजेण्डा बनाएर चुनावी अभियानमा होमिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । ‘२०६४ सालअघि र २०७० सालपछि कांग्रेस नेतृत्वमा भएका विकास–निर्माणका कामहरुका बारेमा जनतालाई जानकारी गराउन आवश्यक छ’ बिहीबार भेरीगंगा नगरपालिकाको छिन्चुमा कार्यकर्तालाई सम्बोधन गर्दै खड्काले भने, ‘चुनावमा अरु राजनीतिक दलहरुको कुरा गरेर समय खेर नफाल्नुहोस् ।’
पूर्व सहमहामन्त्रीसमेत रहेका खड्काले विकासको सृजना र सृष्टी कांग्रेसले गरेको भन्दै त्यसको निरन्तरताका लागि पनि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए । खड्काले जनतालाई दिएको बचन पूरा गरेकाले जनतासँग भोट माग्ने अधिकार कांग्रेससँग रहेको बताए । ‘कांग्रेसले जनतासँग गरेका हरेक बाचा पूरा गरेको छ, भोट माग्नका लागि जनतालाई ढाँट्नु पर्दैन्’ उनले भने, ‘जनतासँग गरेका बाचा पूरा गरेकाले कांग्रेसलाई भोट माग्ने पूरा अधिकार छ ।’
उनले व्यक्तिगत आग्रह र पूर्वाग्रहलाई थाती राखेर चार तारे झण्डा र रुखलाई सम्झेर चुनावी अभियानमा होमिन पनि कार्यकर्तालाई निर्देशन दिए । ‘व्यक्तिको असन्तुष्टीलाई बजारमा पोखेर चार तारे झण्डा र रुखलाई असफल बनाउने काम नगर्नुहोस्’ क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खड्काले भने, ‘व्यक्तिगत गुनासोलाई चुनावपछि मेटौंला, अहिले चार तारे झण्डा र रुखलाई सम्झेर चुनावी अभियानमा होमिनुहोस् ।’
खड्काले चुनाव प्रचार–प्रसारको शैलीमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताए । ‘भाषण गरेर समय खेर फाल्नुभन्दा कांग्रेस नेतृत्वमा भएका र हुँदै गरेका विकास अभियानलाई घरदैलोमै पुगेर जनतालाई सम्झाउनुहोस्’ उनले भने, ‘जनतालाई भाषण भन्दा विकास र समृद्धि चाहिएको छ ।’
‘जनताका सरोकार कांग्रेसका एजेण्डा’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले जनताको प्रत्यक्ष सरोकारका विषयनै कांग्रेसको चुनावी एजेण्डा भएको बताएका छन् । नेपाली कांग्रेस वडा नम्वर १ द्धारा वीरेन्द्रनगरको ढोँडेखालीमा विहीबार आयोजित चुनावीसभामा बोल्दै सुर्खेत क्षेत्र नम्वर–२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार थानीले कांग्रेसले योजनावद्ध विकासको खाका तयार गरेको बताउँदै ६ नम्वर प्रदेशको राजधानीवासीका लागि आवश्यक पानीको व्यवस्थापन गर्न भेरी नदीको पानी लिप्ट गर्ने योजना अघि सारेको र अहिले त्यो योजना कार्यान्वयनको चरणका रहेको बताए ।
पूर्वमन्त्री एवं पूर्व केन्द्रीय सदस्य शिवराज जोशीले सरकार र जनता मिलेर देशमा समृद्धि ल्याउने अभियानमा सहयोग गर्न नेपाली कांग्रेसलाई सहयोग गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । चुनावीसभामा बोल्दै नेपाली कांग्रेसका सभापति एवं सुर्खेत क्षेत्र नं. २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार कमलराज रेग्मीले कांग्रेस जनताको मनमस्तिष्कमा रहेको हुनाले कांग्रेसले गरेका कामलाई मूल्याङ्कन गरी चुनावमा सहयोग गर्न आग्रह गरे । उनले कांग्रेसले गरेको कामलाई जनताको घरदैलोमा पु¥याउन सके जतनाले आफै मूल्याङ्कन गर्ने दावी गरे ।
वडा नम्बर १ का सभापति चन्द्रप्रसाद थानीको सभापतित्वमा भएको उक्त चुनावीसभामा प्रदेशसभाको समानुपातिक उम्मेदवार लोकबहादुर विश्वकर्मा, पार्वती गिरी, नगर सभापति एवं नगरप्रमुख देवकुमार सुवेदी, पूर्व पार्टी सचिव कालीप्रसाद शाक्य, दलित संघका केन्द्रीय महासचिव सन्जुसिंह विकलगायतले बोलेका थिए ।
‘कांग्रेसको नेतृत्वमा विकास’
सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले नागरिकको भावना अनुसार विकास निर्माणका कामहरुमा नेपाली कांग्रेसले महत्वपूर्ण कामहरु गरेको बताएका छन् । प्रतिनिधिसभा– २ अन्र्तगतको प्रदेशसभा ‘ख’ का उम्मेदवारसमेत रहेका विष्टले २०७० पछि पश्चिम सुर्खेतले विकासमा फड्को मारेको बताए । ‘मेरो चार वर्षे कार्यकाल विकास र समृद्धिका लागि कोशेढुङ्गा बनेको छ’ उनले भने, ‘यसलाई पूर्णता दिन फेरि कांग्रेसलाई विजयी गराउन आवश्यक छ ।’
बिहीबार चौकुने गाउँपालिका–२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विष्टले चार वर्षमा भएका विकासका काम नै कांग्रेसको जीतको आधार भएको बताए । ‘२०७० सालपछि र त्यो भन्दाअघिको विकासको गतिलाई आम जनताले राम्रोसँग हेर्नु भएको छ’ उनले भने, ‘विकास र समृद्धिका लागि जनताले कांग्रेसलाई विजयी गराउनुपर्छ ।’ उनले आठ वटा झोलुङ्गे पुल, २२ वटा झोलुङ्गे पुल, सबै विद्यालयमा भवन र कम्युटर, स्वास्थ्य, सडकलगायतका कामहरु चार वर्षमा सुरुवात गरिएको भन्दै यसलाई पूर्णता दिन कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव टोपबहादुर रावतले १० वर्षे जनयुद्धका नाममा जनतालाई दुःख दिएकाहरु नै उम्मेदवार बनेको भन्दै मतदाताले चिन्नुपर्ने बेला आएको बताए । कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय कोषाध्यक्ष पार्वती सिंह, समानुपातिक उम्मेदवार यज्ञ विसी, वडा अध्यक्ष मायाराम जैसी, वडा सदस्य किरण वान्तोला, तरुण दल केन्द्रीय महादिवेशन प्रतिनिधि बलबहादुर विष्टलगायतको सहभागिता रहेको थियो ।
राराखबर । २०७४, २३ कार्तिक बिहीबार