नीति र शासनमा युवा फेलोसिपको दोेस्रो क्याम्प सुरु

सुर्खेत । वीरेन्द्रनगरमा नीति र शासनमा युवा फेलोसिपको दोेस्रो प्रशिक्षण क्याम्प सुरु भएको छ । पहिलो चरणको तालिममा सहभागी कर्णाली प्रदेशका १० जिल्लाका ५० युवाहरुमध्येबाट छनोट भएका २५ युवाहरू यस तालिममा सहभागी भएका छन् ।

अमेरिकी दूतावासको सहयोगमा ऋति फाउन्डेसन नामक संस्थाले कर्णाली प्रदेश सभा र पूरक एसियाको सहकार्यमा गरिएको प्रशिक्षण कार्यक्रमले ‘कर्णालीका युवाहरूलाई शासन र नीति निर्माण प्रक्रियामा सशक्त’ बनाउने उद्देश्य राखिएको छ ।

उक्त कार्यक्रममा युवाहरूलाई बिहीवारदेखि ‘नीति र शासनमा युवा’ विषयमा प्रशिक्षण दिइरहेको छ ।

ऋति फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमका अनुसार कर्णालीका दशवटै जिल्लाका ३०० भन्दा बढी युवाहरूबाट प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत ५० जना युवाहरूलाई पहिलो चरणको तालिम सम्पन्न भएको थियो ।

उक्त प्रशिक्षणबाट उत्कृष्ट २५ जनालाई दोस्रो चरणको तालिमका लागि छनोट गरिएको हो । दोस्रो चरणबाट छनोट भएका १२ जनालाई तेस्रो चरणमा तालिम दिइने छ । उनीहरूलाई कर्णाली प्रदेश सभाका सदस्यहरूसँग ज्ञान सहायकको रूपमा काम गर्ने र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरिने गौतमले बताए ।

बिहीवारबाट सञ्चालन तालिम पाँच दिनसम्म चल्ने छ ।  उक्त तालिमबाट युवाहरूले संघीयता, अनुसन्धान, कानून निर्माण, प्रदेश सभा, संसदीय समिति लगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक सीप सिक्ने अवसर प्राप्त गर्नेछन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया