बाढी पहिरोले लघु जलविधुत बन्द, ४ हजार घरधुरी प्रभावित

बद्री पन्त
जाजरकोट ९, भदौ
गत साउन २९ गते झुमरा खोलामा आएको बाढी पहिरोले बाँध तथा नहरमा क्षेती गरेपछि जाजरकोटको नलगाड नगरपालिकामा ६ वटा लघु जलविद्युत आयोजना एक साथ पूर्ण रुपले बन्द भएका छन् । आयोजना बन्द हुदा नगरका २, ३, ४ र ५ वडाका ४ हजार घरधुरी बिजुली बत्ती विहीन भएका छन ।
विद्युत् उत्पादनका लागि पानी ल्याएको बाँध तथा नहर बाढी पहिरोले भत्काउँदा जलविद्युत् आयोजना बन्द भएपछि नगरले अगाडि सारेको नगर उज्ज्यालो कार्यक्रम समेत प्रभावित भएको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिनु भएको छ ।


नगरका २,३,४ र ५ नम्बर वडाका बासिन्दाले बिजुली उपभोग गर्दै आएका थिए । बाढीले ४ को ४५ किलोवाटको बागमारे लघु जलविद्युत आयोजनाको ३ सय मिटर लामो पक्की नहर तथा बाँध स्थल ध्वस्त बनाएको छ, भने पावर हाउस बाढीले परेर क्षेती पुर्याएको छ । आयोजना बन्द भएपछि वडाका घुवारा, तिमेचौर, पिपलचौर, बाउँसेखोला, खन्टाकुरा, भाच्चीउरा, पाटा, मानचौर, थाप्ला, कालीमाटी बजार, दल्लीका २ हजार ५ सय घरपरिवार, सरकारी कार्यलय, वित्तीय संस्थाको काम प्रभावित भएको ४ का वडा अध्यक्ष लक्ष्मीबहादुर रावलले जानकारी दिनु भयो ।
त्यसैगरी बाढीले २ को १५ किलोवाटको झुमराखोला लघु जलविद्युत आयोजना छेप्काको २ सय मिटर लामो नहर तथा बाँध स्थल बगाएर लगेको छ । आयोजना बन्द भएपछि ३ सय ७५ घर परिवार अन्धकारमा बस्न बाध्य भएका छन । ३ को ८ किलोवाटको सिलपलाउन लघु जलविद्युत आयोजनाको कुलो तथा पावर हाउस बाढीले बगाएर लगेको छ । भने निर्माणाधिन १५ किलोवाट सिलपलाउन स्याला धर्मशाला लघु जलविद्युत आयोजनाको १८ लाखको विद्युत सामान सबै बाढीले बगाएको छ । सिलपलाउन लघु जलविद्युत आयोजना बन्द हुदा १ सय घर परिवार प्रभावित बनेका छन । ५ को १६ किलोवाट लहरेखोला लघु जलविद्युत आयोजना सिर्केको कुलो तथा बाँध स्थलमा क्षेती भएपछि ५ सय ५० घर परिवारले बिजुली उपभोग गर्नबाट बन्चित हुनु परेको हो ।

५ को रानीखेतमा निर्माण सम्पन्न भएर सन्चालनमा रहेको १३ किलोवाट लहरे लघु जलविद्युत आयोजनाको ५ सय मिटर लामो पक्की नहर र बाँध स्थल बाढीले बगाएर लिदा २ सय घर परिवारको बिजुली बाल्ले सपना हराएको ५ का वडा अध्यक्ष केशव प्रसाद शर्माले बताउनु भएको छ । बाढी पहिरोले विद्युत आपुर्ती बन्द भएपछि मोवाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कार्यालयको दैनिक कामकाम समेत प्रभावित भएको छ भने कुटानी पिसानी, फर्निचर लगायतका घरेलु उद्योग बन्द भएका छन । आयोजना बन्दले स्थानीय उज्ज्यालो बाट वन्चित भएको स्थानीयको गुनासो छ । पक्की कुलोको जगसमेत बगाएकाले लाखौं खर्चेर मात्र बनाउन सकिने अवस्थामा पुगेको र नगरको वजेटले नभ्याउने नगर प्रमुख टेकबहादुर रावलले बताउनु भयो । के कसरी मर्मत गरेर विद्युत् सुचारु गराउन सकिन्छ भनेर केन्द्र सरकारसंग वजेटको लागि पहल गर्ने नगर प्रमुख रावलको भनाई छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया