स्नातकोत्तर किसान

प्रकाश पन्त
सुर्खेत,६ मंसिर । सुर्खेत,चिंगाड गाउँपालिका–६,पाम्काका देवेन्द्र ओलीले स्नातकोत्तर गरेका छन । नेपाली विषयमा स्नातकोत्तर गरेका उनलाई जागीर नपाइएको होइन । तर, उनी अदुवा खेतीमै रमाइरहेका छन् । उनी भन्छन्, ‘यसले मलाई पैसा र सन्तुष्टि दुबै दिएको छ ।’
तीन वर्षदेखि व्यावसायिक अदुवा खेती थालेका उनको आम्दानी पनि राम्रै छ । अदुवासँगै तरकारी खेती पनि गरेका उनी वार्षिक करिब साढे तीनलाख रुपैयाँ कमाउँछन् । व्यवसाय बिस्तार हुँदै जाँदा आम्दानी पनि बढ्ने उनको विश्वास छ ।


बिपन्न परिवारमा जन्मे–हुर्केका ओलीको जीवनकथा संर्घषपूर्ण छ । पढाइमा सानैदेखि अब्बल भएपनि उनी आर्थिक समस्याले नियमित क्याम्पस जान सकेनन् । तैपनि स्नातकोत्तर भ्याए । आर्थिक जोहो गर्न मासिक पाँच हजार रुपैयाँमा जुम्लामा गएर पढाए । आठवर्ष त एक गैरसरकारी संस्थामा जागीर पनि खाए । ‘तर अरुले अह्राएको खटाएको गर्ने जागीर भन्दाआप्mनै घरबारीमा इलम गर्न मन लाग्यो,’ उनीभन्छन्, ‘यसले आम्दानी पनि राम्रै दिएको छ ।’
३३ वर्षीय ओलीको व्यावसायिक जीवनमा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले आर्थिक सहयोग गरेको छ । सानैदेखि कृषिकर्म गर्न मन लागे पनि आयोजनाको प्रेरणाले यसमा जोडिएको उनको भनाइ छ । ‘पढेलेखेकोले जागीरै खानुपर्छ भन्ने होइन, श्रम जहाँ पनि गर्न सकिन्छ,’उनी भन्छन्, ‘त्यही भएर मैले जागीर छोडेर कृषि कर्ममा हात हालेको हुँ ।’
अदुवा खेती अहिले उनको जीवनमा गतिलो आम्दानीको स्रोत बनेको छ । आम्दानी बढ्दै गएपछि अहिले उनले मकै, गहुँ, धान लगाउने खेतबारीमा अदुवा लगाएका छन् । उनी उत्पादित अदुवा सुर्खेतका मण्डी र अन्य व्यापारीलाई बेच्छन् । आयोजनाले व्यवसायीबीच सम्बन्ध स्थापित गरि दिएपछि थप सहज भएको उनको भनाइ छ ।
अदुवा र तरकारीको आम्दानीले उनले घर धन्दाधान्नुका साथै छोराछोरीको पढाइखर्च जुटाएका छन् । उनी छोराछोरीलाई व्यावसायिक शिक्षा पढाउने सोचमा छन् । ‘अबको शिक्षा जागीर खानेभन्दा पनि इलम गर्ने खालको हुनुपर्छ,’ उनीभन्छन्, ‘त्यसैले म आप्mना छोराछोरीलाई व्यवसायमै लाग्ने गरी शिक्षा दिलाउन चाहन्छु ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया