जाजरकोटको बजेट १ अर्ब १५ करोड

जाजरकोट, २९ फागुन । आगामी आर्थिक वर्ष ०७०/७१ को जाजरकोट जिल्लाको वार्षिक बजेट सवा एक अर्ब प्रताव गरिएको छ । सोमबार खलंगामा सम्पन्न छैटौँ जिल्ला परिषद्् बैठकको सार्वजनिकीकरण समारोहले १ अर्ब १५ करोड १० लाख १२ हजार रुपियाँको बजेट पारित गरिएको हो ।

विभिन्न पाँच विषयगत समिति र एकीकृत समितिको बैठकबाट निर्णय भएका विभिन्न योजना तथा निर्णयहरू जिल्ला परिषद्ले पारित गरेको छ । बैठकमा एलडिओ चक्रबहादुर बुढाले पूर्वाधार तथा संरचना विकास समितिअन्तर्गत ५० करोड १८ लाख ८९ हजार ४२ रुपियाँ, कृषि, वन तथा वातावरण समितिअन्तर्गत ८ करोड १४ लाख ३१ हजार रुपियाँ, जनसंख्या तथा सामाजिक समितिअन्तर्गत ४५ करोड १४ लाख ४४ हजार २ सय ३० रुपियाँ, जलस्रोत तथा भूमि समितिअन्तर्गत ९ करोड ७० लाख १० हजार ७० रुपियाँ र प्रशासन तथा संगठन समितिअन्तर्गत १ करोड ९२ लाख ३८ हजार ५ सय ५५ रुपियाँ गरी कुल १ अर्ब १५ करोड १० लाख १२ हजार रुपियाँको बजेट पेस गरेका छन् ।गाउँस्तरबाट आएका खानेपानी, सिँचाइ, सडक यातायात, विद्युत्लगायत जम्मा सात सय १३ योजनामध्ये महत्वपूर्ण पाँच सय आठ योजना छनोट गरी आगामी वर्षको बजेटमा प्रस्तावित गरिएको एलडिओ बुढाले जानकारी दिए ।

विषयगत सरकारी तथा गैरसरकारी कार्यालयको बजेट सिलिङको आधार र जिल्लाको आवश्यकतालाई दृष्टिगत गरी कार्यक्रम तथा बजेट प्रस्ताव गरिएको स्थानीय विकास अधिकारी बुढाले बताए । ‘उत्पादन र व्यावसायीकरण हाम्रो अभियान सम्मुन्नत जाजरकोट निर्माण भन्ने मान्यताका साथ बजेट प्राथमिकताका क्षेत्रहरू निर्धारण गरिएको छ,’ एलडिओ बुढाले भने ।
त्यसैगरी छिन्चु–जाजरकोट सडक खण्डमा पर्ने भेरी नदीमा निर्माणाधीन अवस्थामा पुलको तत्काल निर्माण, केन्द्रीय विद्युत् लाइनको जडान, बहुचर्चित नलगाड जलविद्युत् आयोजनाको निर्माण, जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना, जिल्लाका विभिन्न गाविसमा जोड्ने सहायक सडक सञ्जाल र जाजरकोट–जुम्ला जोड्ने सडक निर्माण लगायतका योजना जिल्लाको प्राथमिकतामा परेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया