सिँचाई सुविधापछि गाउँ हराभरा

बद्री पन्त
जाजरकोट, १७ मंसिर । जाजरकोट, भेरी नगरपालिका–१०, राउतगाउँकी देवी रानाको पर्याप्त जग्गा नभएको होइन, तर सिँचाई सुविधा नहुँदा उक्त जग्गाले भनेअनुसार कहिल्यै उब्जनी दिएन । जब भेरीको पानी तानेर सिँचाई हुन थाल्यो, तब उनको जग्गा उर्बर बन्यो । राना परिवार अहिले आफ्नै खेतबारीमा आफुलाई चाहिनेभन्दा बढी अन्नबाली उब्जाउँछ । सौर्य उर्जाको प्रयोगबाट बाह्रै महिना सिँचाई हुने भएपछि धान, गहँु, मकैबाहेक तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ । ‘जग्गा कहिल्यै बाँझो रहँदैन,’ उनले भने, ‘बेमौसमी तरकारीवाट राम्रै आम्दानी गरिरहेकी छु ।’


सिँचाई सुविधा पुगेपछि किसानलाई हिउँद–बर्खा दुबै सिजन एउटै भएको छ । २०७४ सालमा बन्दा, काउली, टमाटर, भेडेखुर्सानी बेचेर चार हजार कमाएकी थिइन् । अहिले भने करिब ४० हजार रुपैयाँ कमाइसकिन् ।


उच्च मूल्य कृषि बस्तु विकास आयोजनाको सहयोगमा भेरीको पानी तानेर सिँचाई गरेपछि राउतगाउँमा धेरैको आर्थिक अवस्थामा फेरिएको छ । आयोजनाले बेमौसमी तरकारी मूल्य शृंखला कार्यक्रमअन्तर्गत सौर्यशक्ति प्रविधिद्वारा भेरीको पानी लिफ्ट गरी सिँचाई गर्ने व्यवस्था मिलाएको हो । आयोजनाले यो प्रविधि जडान गरिदिएपछि राउत गाउँका ३७ परिवारले धान, गहुँ, मकै लगाउन कम गरेर बेमौसमी तरकारी खेती गरिरहेका छन् । ‘पहिला आकाशेपानीको भरमा खेती गथ्र्यौं, पानी नपर्दा खेतवारी बाँझै हुन्थ्यो,’ किसान गोरखबहादुर रानाले भने, ‘सिँचाई सुविधा भएपछि त्यो अवस्थाको अन्त्य भएको छ ।’ अहिले तरकारी बेचेरै वर्षमा ३०÷४० हजार रुपैयाँ कमाइरहेको उनले बताए ।


आकाशे पानीमा निर्भर गाउँमा सोलार प्रविधिवाट भेरीको पानी तानेर सिँचाईको व्यवस्था गरेपछि हरियाली कृषक समूह र सूर्यकिरण कृषक समूहमा आवद्ध किसानले दुई सय रोपनी खेतवारीमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । गाउँको पुछारबाट बग्ने भेरी नदीको पानी तानेर गाउँभरि सिँचाई सुबिधा पु¥याइएको छ । ८० मिटर तलबाट भेरीको पानी तानेर गाउँको शिरानमा रहेको ट्यांकीमा जम्मा गरी पाइपवाट गाउँभरि सिँचाई गर्ने व्यवस्था मिलाइएको छ । २९ लाख २६ हजार २ सय २४ रुपैयाँको लागतमा निर्माण भएको लिफ्ट सिँचाईको लागि आयोजनाले २४ लाख ८७ हजार रुपैयाँ सहयोग गरेको छ । बाँकी रकम स्थानीय किसानले व्यहोरेका छन् ।


राउतगाँउमा उत्पादन भएको तरकारीको मुख्य बजार फेरा, कुदु र छेडा बजार हुन् । सिँचाई सुबिधावाट किसानको आम्दानी त बढेको छ नै, यसले बाहिरवाट आयात हुने तरकारीलाई पनि रोकेको छ । सिँचाई सुविधा नहुँदासम्म राउतगाउँका किसानको वार्षिक आम्दानी चार÷पाँच हजारमात्र थियो । भेरीको पानी लिफ्ट गरी सिँचाई गर्दा अहिले किसानको वार्षिक ३०÷३५ हजार पुगेको छ । भविष्यमा किसानको वार्षिक आम्दानी बृद्धि गरेर ६०÷७० हजार पुग्ने अपेक्षा किसानको छ ।


आयोजना लागू भएको सात जिल्लामध्ये जाजरकोटमा पहिलोपटक पाइलट प्रोजेक्टको रुपमा यो सिँचाई निर्माण गरिएको हो । नयाँ प्रणाली भएकोले किसान पनि हर्षित छन् । बाहै्र महिना सिँचाई सुविधा भएपछि कामको खोजीमा कालापहाड र विदेशिने युवाहरुलाई गाउँमै रोकेको राउतगाँउका अगुवा किसान जयलाल बिकले बताउँछन् । ‘सिँचाई सुबिधा भएपछि अहिले सबै गाउँले तरकारी खेतीमा जुटेका छन्,’ उनले भने, ‘पहिला सिँचाई थिएन, अहिले सिँचाईले गर्दा गाउँ नै तरकारीले हराभरा भएको छ ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया