जाजरकोट १२, पुस ।
तेस्रो जाजरकोट महोत्सवले विद्यार्थीको पढाईमा वाधा पुगेको छ । त्रिभुवन माध्यमिक विद्यालय खलंगाको प्राङ्गनमा उक्त महोत्सवको आयोजना भएपछि विद्यार्थीको पढाईमा वाधा पुगेको हो ।
महोत्सवका कारण सोमबारदेखि एक हप्ताका लागि विद्यालय बन्द भएको छ । जस्का कारण ६ देखि १२ कक्षा सम्मका एक हजार विद्यार्थी नियमित पठनपाठनबाट बन्चित भएका छन् ।
३०÷४० बर्ष अघिदेखि हरेक बर्ष पुस महिनाको १३ देखि १५ गतेसम्म लाग्दै आएको रमाइलो मेला बन्द गर्न नसक्दा बर्षेनी विद्यार्थीको पढाईमा वाधा पुग्ने गरेको प्रधानाध्यापक हेरम्मबहादुर शाहले बताए ।
पछिल्लो समय उक्त रमाईलो मेलालाई महोत्सवमा परिणत गर्ने गर्दा विद्यार्थीको पढाईमा बाधा पुगेको उनले बताए ।
सदरमुकाम खलंगा भित्र त्रिभुवन मावि बाहेक अन्यत्र मेला पर्व, खेलकुद, परीक्षा, राजनितिक कार्यक्रम लगायत गर्ने ठाउ नहुदा थप समस्या भएको शाहले बताए ।
राराखबर । २०७५, १२ पुष बिहीबार