रेखा, केकी, प्रियंका भन्छन: सोनाक्षी, मलाइका भन्दा कम रहेन्छौं हामी

लिउड अभिनेत्रीद्वय सोनाक्षी सिन्हा र मलाइका अरोराले नेपाली नायिकाहरूसँग स्टेज साझेदारी गर्ने कार्यक्रमको घोषणा भएसँगै बलिउडसँग टक्कर लिने प्रस्तुति देलान कि नदेलान भनेर संशय गर्नेहरू थुप्रै थिए। शनिवार टुँडिखेलमा दिएको प्रस्तुतिबाट नेपाली नायिकाहरूले त्यो संशय मेटाइदिए। राम्रो ठाँउ, श्रोत र संशाधनको उपलब्धता हुँदा हामी पनि कम छैनौ भन्ने उनीहरूको प्रस्तुतिले देखायो।

करिब साढे तीन घण्टाको प्रस्तुतिमा तीन घण्टा बेसी मञ्च कब्जा गरेका नेपाली अभिनेत्रीहरूले उपस्थित हजारौं दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे। उनीहरू आफूले दिएको प्रस्तुतिबाट खुशी छन्। यसै सन्दर्भमा उनीहरूलाई पाहुना कलाकारको प्रस्तुतिको दाँजोमा आफूहरूको कस्तो लाग्यो भनेर जिज्ञासा राखेका थियौं।

सो जिज्ञासा हामीले अभिनेत्री रेखा थापा, प्रियंका कार्की एवम् केकी अधिकारीसँग राखेका थियौं। उनीहरूले  समान उत्तर दिए। ‘हामी कम रहेन्छौं। सहि प्लेटफर्म पाउँदा हामी पनि उस्तै।’

पढ्नुस कसले के भने?

रेखा थापा:

ठीकै हो। मलाई आइटम डान्स गर्ने मलाइकाको भन्दा हाम्रो प्रियंका कार्की र सुष्मा कार्कीको नाच राम्रो लाग्यो । विडम्बना हामीलाई विदेशीको जे पनि राम्रो लाग्छ। मेरो नजरमा सुष्माको जस्तो थियो उनीहरूको पनि त्यस्तै लाग्यो। मलाई त अझ प्रियंकाको नाच झन राम्रो लाग्यो।

हाम्रो पत्रकार मित्रहरूले पनि आज लेख्दा सोनाक्षी आएर तताइन, मलाइका आएर नचाइन भन्ने लेख्नुभयो। किन रेखा वा प्रियंकासँगै दर्शक तताए सोनाक्षी र मलाइकाले भनेर लेख्नुभएन? देशका हिसाबले हेर्नुभयो भने स्टेजमा नेपालका टप लेभलमा रहेका कलाकारहरूले नाचेका थिए। हामी कम थिएनौ। हाम्रो प्रस्तुति समानस्तरको थियो, खास केहि फरक लागेन, देखिन मैले।

मलाई हिजो धेरै कुरा सिक्न पनि मन थियो। सिक्न यस मानेमा, म मेरा दर्शकहरूलाई जज गर्न पनि चाहन्थे। म उहाँहरूको मायाबाट अत्यन्त खुशी भएँ। मेरो दर्शकहरू, मलाई माया गर्ने दर्शकहरूलाई उनीहरूले आफ्नो प्रस्तुतिबाट मनोरञ्जन दिएको कुराले पनि म असाध्यै खुशी छु। म उनीहरूको प्रस्तुतिबाट मेरा दर्शकहरूले मनोरञ्जन लिएको कुराले मख्ख छु।

प्रियंका कार्की:

अस्तिको प्रेसमिटमा पनि हामीले भनेका थियौं। राम्रो स्टेज र टेक्निकल सपोर्ट पायौं भने हामीले पनि कम प्रस्तुति दिनेछैनौ। हिजोको प्रस्तुतिमा हामीले त्यो कुरा प्रमाणित गर्यौ। मलाई धेरै फोन कल आयो जसमा धेरैले हामीले समान स्तरमा प्रस्तुति दियौं भन्नुभयो। कतिले अझ राम्रो थियोसम्म भन्नु भयो।

स्वभाविक हो, सोनाक्षी र मलाइका बलिउडका ठूला नाम हुन्। बलिउड भनेपछि नेपाली दर्शकहरू अझ बढि उत्साहित हुनुहुन्छ। हिजो राम्रो ठाउँ, राम्रो स्टेज, लाइट तथा त्यहि अनुसारको करियोग्राफी र मेहेनत गर्‍यो भने उस्तै देखिने रहेछ भन्ने देखायौं।

अहिले फोटोहरू, भिडियोहरू आदि हेर्दा यो चाँहि बलिउड हो, यो चाँहि नेपाली हो। यो राम्रो भयो, त्यो नराम्रो भयो भन्ने ठाउँचाँहि पाएनौ हामीले । त्यो हिसाबले यो इभेन्ट हेरेर कम गरे भन्नुहुन्न। हाम्रो पनि उस्तै इनर्जी लेभल देख्नुभयो होला दर्शकहरूले।

उहाँहरूले पनि हामीले नसोचेको दर्शक र माया पायौं भन्नुभयो। उहाँहरूको म्यानेजरले हामीले यस्तो हुन्छ भन्ने नसोचेको बताउनुभयो।

केकी अधिकारी:

हुन त हामी नेपाली कलाकारले मात्र प्रस्तुति दिने भनेको भए दर्शकहरूको त्यस्तो उपस्थिति हुँदैन्थ्यो होला। आउँदा उहाँहरूलाई हेर्न धेरै जना आउनु भयो होला तर जाँदा मनमा नेपाली कलाकारलाई  लिएर जानुभयो।

हाम्रो कम्पिटिसन थिएन। त्यो सबै हामीले एउटा राम्रो कामका लागि गरेका थियौं। उहाँहरूले पनि राम्रो गर्नुभयो। जे भयो हामीले सोचेभन्दा  धेरै राम्रो भयो। त्यो कस्तो भयो भन्नलाई शब्दै  पुग्दैन होला।

हामीले पाहुनाहरूलाई सधै राम्रो सम्मान दिन्छौ, जून हामीले हिजो पनि दियौं। त्यो सम्झेर उहाँहरू फेरी पनि आउनुहुन्छ होला।

कसले बढि कसले कम भन्ने तर्फ हामीले सोचेकै छैनौ?

हामीले सबै खाले प्रस्तुति दिने कोशिश गर्यौं। त्यस्तो धेरै भिन्नता देखेनौं। धेरै जनाले सामजिक  संजालहरूमा नेपाली कलाकारहरूको प्रस्तुति धेरै राम्रो लागेको र कतिले त अझ नेपाली कलाकारले उनीहरू भन्दा राम्रो गरेको भन्ने प्रतिक्रिया पनि दिइरहनु भएको छ। तुलनात्मक हिसाबमा हामीले हिजो धेरै राम्रो तारिफ पायौं।




फेसबुकबाट तपाईको प्रतिक्रिया