कर्णालीमा १ लाखको विपद विमा

सुर्खेत १ असोज ।
कर्णाली प्रदेश सरकार प्रदेशका नागरिकको लागि एक लाख रुपैयाको विपद दुर्घटना विमा दिने व्यवस्था गरेको छ । नीति तथा कार्यक्रममा राखिएको विपद दुर्घटना विमा कार्यक्रम बुधवारदेखि लागु भएको बताएको छ ।
विमा कार्यक्रम अन्तरगत कर्णालीका हरेक नागरिकले १ लाख रुपैयाँको निशुल्क विमा सुविधा प्राप्त गर्नेछन् ।
यस्तै विपद दुर्घटनाका कारण घरमा क्षतिपुगेमा प्रति घर ५ लाख रुपैयाँको विमा सुविधा पाउने छन् । विमा कार्यक्रमका लागि प्रदेश सरकारले चालु आवमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।


सामुहिक रुपमा गरिने विमाको प्रिमियम वापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विमा कम्पनीलाई भुक्तानी गर्ने सरकारको भनाई छ ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय विमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
यसैवीच प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विपदको उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ज्यान गुमाउनु पर्ने अवस्थालाई ध्यानमा राखेर राहात स्वरुप विमा कार्यक्रम शुरु गरेको बताए ।
विमा रकम हेर्दा सानो देखिएपनि कर्णालीका नागरिकमा दुखको वेला सरकार आफनो साथमा रहेको अनुभुति गराउने उनको भनाई छ ।
स्वास्थ्य विमाको प्रभावकारिताका वारेमा जनताको गुनासो आएको भन्दै मुख्यमन्त्री शाहीले गुनासो नआउने गरि काम गर्ने दृढता पनि व्यक्त गरे ।




फेसबुकबाट तपाईको प्रतिक्रिया