बद्री पन्त
जाजरकोट १८, मंसिर
उर्जा सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनले तीन बर्ष भित्रमा कर्णाली प्रदेशको सवै क्षेत्रमा विद्युती करण पुर्याउने गरी दुई बर्षमै काम अगाडि बढेको कुरा बताउनु भएको छ । केन्द्रिय प्रसारण लाइन पुग्ने ठाउँमा विजुली पुर्याउने र प्रसारण लाइन नपुग्ने ठाउँमा सोलार लगायत शौर्य बत्तीको व्यवस्था गरेर जनतालाई उज्यालो दिने गरी काम हुन्छ मन्त्री पुनले भन्नु भयो । चार सय १७ मेघावाटको नलगाड हाईड्रोपावर कम्पनी लिमिटेड आयोजना निरीक्षणका लागि जाजरकोट पुगेका मन्त्री पुनले यस्तो बताउनु भएको हो । मन्त्री पुनले जनताको लगानी र सहभागीतामा नलगाड आयोजना एक बर्ष भित्रै काम शुरु गरी निर्धारित समयमै निर्माण सम्पन्न गर्ने पनि मन्त्री पुनले बताउनु भयो ।
कर्णालीको विकासमा सरकारले कुनै कसर बाँकी नराख्ने पनि मन्त्री पुनको भनाइ छ । यसैगरी मन्त्री पुनले जाजरकोटमा बन्न लागेको ४ सय १७ मेघावाट क्षमताको नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडको काम अघि बढाउन जापानी सहयोग नियोग जाईकासँग छलफल भैरहेको पनि बताउनु भएको छ । आफु जापान भ्रमणमा गएको बेला पनि जापान सरकार र सम्बन्धित अधिकारीसँग नलगाड विद्युत निर्माण सम्बन्धमा कुरा राखेको भन्दै यो आयोजना अघि बढाउन चासो देखाएका छन् । डिपिआर बन्ने वित्तिकै हामी प्रक्रिया थाल्छौ मन्त्री पुनले बताउनु भयो । सरकार र जनाताले कसरी काम गर्ने भन्ने विषया अध्यन भइरहेको छ । स्थानियलाई उचित शेयर लगानी गर्ने वातावरण पनि दिन्छौ, मन्त्री पुनको भनाइ छ । यो आयोजनाले देशको उर्जा संकट समाधान गर्न सहयोग गर्छ र कर्णालीको विकासमा पनि कोशे ढुङ्गा सावित हुने मन्त्री पुनले बताउनु भएको छ ।
त्यसैगरी बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले लामो प्रयास पछि नलगाड हाईड्रोपावर कम्पनी लिमिटेड आयोजना निर्माण चरणमा पुगेको बताउनु भयो । आयोजनाको डुवान क्षेत्रका बासिन्दालाई सम्मान पुर्वक पुर्नवासको ब्यवस्था पनि सरकाले गर्छ मन्त्री बस्नेतले भन्नु भयो । मन्त्री बस्नेतले आयोजनालाई गौरबको आयोजना घोषणा गरेर मात्र हुदैन काम अगाडि बढाएर आयोजना निर्माण गर्नु पर्छ भन्नु भयो ।
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कुनै पनि विकास आयोजना वनाउदा जनतालाई दुखी बनाएर तथा सुकुमबासी वनाएर विकास नहुने बताउनु भयो । कर्णाली समृद्धीका लागि कर्णाली प्रदेश सरकार लागि परेको पनि बताउनु भयो ।
चार सय १७ मेघावाटको जलाशययुक्त नलगाड आयोजनाको निरीक्षणका लागी उच्च स्तरीय टोली मंगलबार जाजरकोट आएको थियो । आयोजनाको निरीक्षणका लागी आयोजनाको विस्तृत आयोजना प्रतिबेदन (डिपिआर ) निर्माणको काम अन्तिम चरणमा पुगेको बेला उर्जा मन्त्री पुन सहितको टोली आयोजनाको ड्याम स्थल सेपुखोला र आयोजनाको विद्युत उत्पादन स्थल दल्लीको स्थलगत अवलोकन गरेको हो । बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, जिल्लाका साँसदहरु, उर्जा सचिव, उर्जा विज्ञ सहित हेलिकोप्टरबाट आयोजना स्थल पुगेका मन्त्री पुनले स्थानियसँग अन्र्त्क्रिया गर्नु भएको थियो । स्थानियले सरकारले अधिग्रहण गर्ने घरजग्गाको मुल्यांकन कम भएकोले बढाउनु र आयोजनाको डुवान क्षेत्रका बासिन्दालाई पुर्नवासको ब्यवस्था गर्नु पर्ने डुवान क्षेत्रका बासिन्दा बसन्त शाहीले बताउनु भयो ।
कार्यक्रममा बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले प्रभावितलाई रोजगारीको ब्यवस्था गर्नु पर्ने, डुवान क्षेत्र नजिकका प्रभावित स्थानका बासिन्दालाई पनि मुआब्जा प्रदान गर्नु पर्ने लगायतका १९ बुदे माग पेश गर्नु भयो । वातावरणीय व्यवस्थापन गर्न अनुमानीत लागत रु ५६ अर्व लाग्ने आयोजनाले जनाएको छ । ७ वर्ष भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्य लिईएको छ ।
आयोजनाको वाँध भरिदा चार सय ७४ करोड घनमिटर पानी भण्डारण हुने छ । पाँच सय ४५ मिटर चौडाई र दुई सय १० मिटर अग्लो जलाशय बन्ने छ । आठ हजार तीन सय मिटर लामो भुमिगत सुरुङ निर्माण गरी चार सय १७ मेगावाट विद्युत उत्पादन हुने प्रारम्भिक विस्तृत आयोजना प्रतिवेदनमा (डिपिआर) उल्लेख छ । सरकारले आायोजना प्रभावित ६ सय ५७ घरपरिवारलाई रु दुई अर्ब ७२ करोड मुआब्जा बाँड्ने तयारी थालेको छ । आयोजनाले नलगाड नगरपालिका–५ र ७, बारेकोट गाँउपालिका–१, २,५, ६, ७ र ८ प्रभावित हुने आयोजनाले जनाएको छ ।
राराखबर । २०७६, १८ मंसिर बुधबार